पुनर्निर्माणमा मुख्यमन्त्री कार्कीले अघि सारे ७ सूत्र
सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाढीपहिरो प्रभावितका लागि राहत र पुनर्निर्माण योजना कार्यान्वयन गर्न निर्देशन दिए।
- मुख्यमन्त्री कार्कीले ६ महिनाभित्र पहिरो पीडितका लागि घर बनाउने र तिहार अगाडि सडक सञ्जाल सुरु गर्न निर्देशन दिए।
- उनले राहत वितरणलाई व्यवस्थित गर्न एकद्वार प्रणाली लागु गर्न र स्वास्थ्य मन्त्रालयलाई पानीजन्य रोगको जोखिमप्रति सचेत रहन निर्देशन दिए।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत असोज १८ र १९ गतेको अविरल वर्षापछिको बाढी र पहिरोबाट प्रभावित नागरिकका लागि तत्काल राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना तत्काल कार्यान्वयन गर्न ७ बुँदे निर्देशन दिएका छन् ।
बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री कार्कीले कोशी सरकारको अग्रसरतामा ६ महिनाभित्र पहिरोपीडितका लागि घर बनाउनेदेखि तिहार अगाडि सबै सडक सञ्जाल सुरु गर्नुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले पहिरो र बाढीले इलाममा एक सयभन्दा बढी घर पूर्ण रूपमा क्षति भएको बताउँदै ६ महिनाभित्र उनीहरूका लागि नयाँ घर निर्माण सम्पन्न गर्ने गरी काम थाल्न निर्देशन दिएका छन् ।
‘पीडित नागरिकलाई अबको जाडो र वर्षा पालमुनि बिताउनु पर्दैन । हामी उनीहरूका लागि बस्न मिल्ने गरी कम्तीमा दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाइदिन्छौँ,’ उनले भने ।
यसका लागि संघीय सरकारको विपद् प्राधिकरणबाट प्राप्त हुने रकम र प्रदेश सरकार तथा अन्य दाताहरूको सहयोगमा स्रोत जुटाइने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे । घर बनाउन जग्गा नहुने पीडितका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सार्वजनिक जग्गा खोज्न पनि उनले निर्देशन दिए ।
राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत एकद्वार प्रणाली लागु गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए । सामग्री पठाउन कठिन हुने ठाउँहरूमा सोझै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा रकम पठाइदिने र स्थानीय आवश्यकताअनुसार खरिद गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे । ‘पीडितले तत्काल राहत पाउनुपर्छ, प्रक्रियागत झन्झटले ढिलाइ हुनुहुँदैन,’ उनले भने ।
मुख्यमन्त्री कार्कीले विपदले क्षति पु¥याएका सडक, पुल र अन्य भौतिक संरचनाहरूको मर्मत तथा पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले भने, ‘अस्थायी डाइभर्सन बनाएरै भए पनि तत्काल यातायात सञ्चालन गर्नुहोस् । जुन आयोजना हाम्रो बजेटमा छ, त्यसको टेन्डर प्रक्रिया तुरुन्त सुरु गर्नुहोस्, दोहोरो खर्च नगरौँ ।’
संघीय सरकार मातहतका सडकहरू खुलाउन पनि प्रदेशले आवश्यक जनशक्ति र समन्वयमा सहयोग गर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतका लागि आवश्यक स्रोत जुटाउन प्रदेश सरकारले ५ लाखभन्दा कमका नयाँ योजनाहरूको बजेट रोक्का गरेको जानकारी दिए । चालु खर्चमा समेत केही प्रतिशत कटौती गरी उक्त रकम विपद् व्यवस्थापनमा खर्च गर्ने तयारी भइरहेको उनले बताए ।
विपद्पछि देखिन सक्ने पानीजन्य रोग र महामारीको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयलाई उच्च सतर्कता अपनाउन पनि उनले निर्देशन दिएका छन् । अस्थायी शिविरमा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण, स्वच्छ खानेपानीको व्यवस्था र आवश्यक औषधिको प्रबन्ध मिलाउन उनले आग्रह गरेका छन् ।
मुख्यमन्त्री कार्कीले हरेक वर्ष मनसुनअघि (फागुन–चैतमा) प्रदेशभित्रका सबै खोलानालाको अवस्था निरीक्षण गरी ‘च्यानलाइज’ (निश्चित धारमा बगाउने) गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो विकासको मोडल नै त्रुटिपूर्ण भयो । अब पुल र सडक बनाउँदा पानीको बहावको पूर्वानुमान १० गुणा बढी राखेर डिजाइन गर्नुपर्ने देखियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण