बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बजारको समस्या

बाजुरामा स्याउ बग्रेल्ती, बजार पुग्न अनेक चुनौती

शुक्रबार, २४ असोज २०८२, ०६ : ००
शुक्रबार, २४ असोज २०८२

सारांश

  • बाजुरामा स्याउ उत्पादन राम्रो भए पनि बजारीकरण र ढुवानीको समस्याले किसान मर्कामा परेका छन्।
  • मनसुनको समयमा सडक अवरुद्ध हुँदा र ग्रेडिङको अभावले किसानले उचित मूल्य पाउन सकेका छैनन्।
  • कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिएको छ भने किसानलाई तालिम र पूर्वाधारको आवश्यकता औंल्याइएको छ।

धनगढी । स्याउ उत्पादनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा प्रख्यात छ । यहाँ व्यावसायिक रूपमा स्याउ खेती हुने गरेको छ ।

बाजुराका उच्च पहाडी भेगहरू रसिलो र स्वादिलो स्याउका लागि प्रख्यात छन् तर उत्पादित स्याउलाई बजारसम्म लैजान सकस छ । ढुवानीमा भएको असुविधाका कारण यहाँका किसान स्याउ खेतीबाट राम्रो आम्दानी गर्नबाट चुक्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र, बाजुराका निमित्त कार्यालय प्रमुख जसिराम साहनीका अनुसार अपार सम्भावना बोकेको बाजुराको स्याउ खेतीले विभिन्न चुनौतीका कारण सोचेजस्तो आर्थिक लाभ दिन सकेको छैन । बाजुराको स्याउलाई बजार पुर्‍याउन अनेक कठिनाइ रहेको उनले बताए ।

जिल्लाको करिब ५०४ हेक्टर क्षेत्रफलमा स्याउका बगैँचा फैलिएको छ । जसमध्ये हाल २०८ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ । विशेषगरी स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा जस्ता उच्च पहाडी क्षेत्रमा स्याउ खेती फस्टाएको छ । पछिल्लो समय किसानहरूमा आएको जागरुकता र स्थानीय तहहरूको सहयोगमा ‘हाइडेन्सिटी’ (उच्च घनत्व) जातका स्याउका नयाँ बगैँचा पनि स्थापना भइरहेका छन् ।

हाल बाजुरामा करिब २०० देखि २५० किसान व्यावसायिक रूपमा स्याउ खेतीमा संलग्न छन् । यहाँ उत्पादन भएको स्याउ बजारीकरण र ढुवानीमा भने निकै समस्या छ ।

यो सिजनमा हालसम्म ४०० देखि ५०० क्विन्टल स्याउ नेपालगञ्ज, धनगढी र सुर्खेतका बजारमा पठाइएको छ । बाजुरामा उत्पादित स्याउको सबैभन्दा ठुलो समस्या बजारीकरणको अभाव हो । स्याउ पाक्ने याम (भदौ–असोज) मा मनसुनी वर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध हुँदा किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सक्दैनन् ।

स्याउ टिप्ने वेला र मनसुन एकै समयमा पर्दा किसानहरूले ठुलो क्षति बेहोर्नुपरेको छ । बाटो नहुँदा कतिपय स्याउ बारीमै कुहिएर जान्छ भने कतिपय गाईवस्तुलाई खुवाउनुपर्ने बाध्यता छ ।

दसैँ–तिहारजस्ता चाडपर्व र मौसम प्रतिकूलताले ढुवानीमा थप बाधा पुगेको स्थानीय कृषक बताउँछन् । कृषि ज्ञान केन्द्रले किसानहरूलाई राहत दिन प्याकेजिङ र ढुवानीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । यस कार्यक्रमअन्तर्गत प्रतिकिलो ढुवानी लागतको आधा रकम ज्ञान केन्द्रले र आधा किसानले बेहोर्छन् ।

WhatsApp Image 2025-10-08 at 11.13.51_f13c37cf

सडकको पहुँच नै नभएका ठाउँमा यो अनुदान पनि प्रभावकारी हुन सकेको छैन । ढुवानी बाहेक स्याउको गुणस्तर कायम राख्नु अर्काे ठुलो चुनौती हो । किसानहरूमा स्याउलाई ग्रेडिङ गर्ने (छुट्ट्याउने) ज्ञानको कमी छ । उनीहरूले राम्रो, नराम्रो, किरा लागेको र दाग भएको सबै स्याउ एकै ठाउँमा मिसाएर बेच्ने गर्छन्, जसले गर्दा राम्रो दानाको पनि उचित मूल्य पाइँदैन ।

‘एउटा नराम्रो स्याउले अरूलाई पनि बिगार्ने हुँदा भण्डारण र ढुवानीमा थप समस्या हुन्छ,’ साहनीले भने, ‘यदि किसानले स्याउलाई गुणस्तरअनुसार ए, बी, सी ग्रेडमा छुट्ट्याएर बेच्ने हो भने उनीहरूको आम्दानी दोब्बर हुन सक्छ ।’

उनका अनुसार, राम्रो गुणस्तरको स्याउ बजारमा बेच्ने र अलि कमजोर वा दाग लागेको स्याउलाई जुस, जाम, वाइन वा सुकुटीजस्ता प्रशोधित उत्पादन बनाउन प्रयोग गर्न सकिन्छ । तर, यसतर्फ किसानको ध्यान जान नसकेको साहनीले बताए ।

बाजुराको आर्थिक समृद्धिमा स्याउ खेतीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भए पनि अहिले धेरै चुनौतीका कारण काम हुन नसकेको अवस्था छ । स्याउ उत्पादन हुने क्षेत्रसम्म बाह्रैमास चल्ने सडकको पहुँच सुनिश्चित गर्न सके यसले किसानलाई आफ्नो उत्पादन समयमै बजारमा पुर्‍याउन र उचित मूल्य पाउन मद्दत पुग्ने किसान हरिबहादुर बुढाले बताए ।

उनका अनुसार स्याउ उत्पादन हुने पकेट क्षेत्रमा साना–साना कोल्ड स्टोर वा ‘रस्टिक स्टोर’ (ग्रामीण भण्डारण) स्थापना गर्न सके किसानले आफ्नो उत्पादनलाई बेमौसममा पनि बजारमा पुर्‍याएर राम्रो मूल्य लिन सक्छन् ।

किसान महावीर शाहीका अनुसार स्याउ टिप्ने सही तरिका, ग्रेडिङ, प्याकेजिङ र प्रशोधन सम्बन्धी तालिम कृषकलाई दिन आवश्यक छ । यसले स्याउको गुणस्तर बढाउनुका साथै प्रशोधित उत्पादनबाट थप आम्दानी लिन सकिने उनले बताए ।

‘एक गाउँ, एक उत्पादन’ जस्ता कार्यक्रमहरू ल्याएर स्याउ खेती हुने ठाउँमा स्याउलाई नै प्राथमिकतामा राखेर बजेट र कार्यक्रम बनाउनुपर्छ, जसले किसानहरूलाई थप प्रोत्साहन मिल्नेछ,’ शाहीले भने ।

पूर्वाधार निर्माण र किसानको क्षमता अभिवृद्धिमा ध्यान दिने हो भने बाजुराको स्याउले जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप