शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी विद्रोहलाई सफल बनाउन बाबुरामका ४ सुझाव

‘जेनजीको वास्तविक प्रतिनिधि को हुन् भन्ने अन्योल रहनु विडम्बनापूर्ण’
शनिबार, २५ असोज २०८२, १५ : १७
शनिबार, २५ असोज २०८२

सारांश

  • बाबुराम भट्टराईले जेनजी विद्रोहलाई ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्‍याउन सुझाव दिएका छन्।
  • उनले सक्कली नेतृत्वको पहिचानमा स्पष्टता र अन्तरिम सरकारले निष्ठापूर्वक कार्यादेश पूरा गर्नुपर्ने बताए।
  • भट्टराईले राज्यका स्थायी अंगहरू र गैर-राज्य क्षेत्रलाई जेनजी विद्रोहमा सहयोग गर्न आग्रह गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहका विगतका कमजोरीहरूबाट पाठ सिक्दै यसलाई ऐतिहासिक परिवर्तनकारी ध्येय सम्म पुर्‍याउनुपर्ने भन्दै चार बुँदामा सुझाव दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अन्तरिम सरकार, राज्यका अंगहरू र नागरिकहरूलाई सजगता अपनाउन आग्रह गरेका हुन्।

१. सक्कली नेतृत्वको पहिचानमा स्पष्टता:

भट्टराईले ‘सफलताका सय पिता हुन्छन्; असफलता टुहुरो हुन्छ’ भन्ने भनाइ उल्लेख गर्दै जेनजीको वास्तविक प्रतिनिधि को हुन् भन्ने अन्योल रहनु विडम्बनापूर्ण भएको बताएका छन्। अन्तरिम सरकार यो विषयमा स्पष्ट हुनुपर्छ। भदौ २३ गते आन्दोलन सुरु गर्दा जसले औपचारिक पहल र सडकमा नेतृत्व गरेका थिए, तिनलाई नै मुख्य प्रतिनिधि मान्नुपर्ने उनको सुझाव छ।

उनले पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई उचित व्यवहार गर्नुपर्ने बताएका छन्। साथै, जसका गलत हर्कतले युवा विद्रोह सिर्जना गर्‍यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर सार्वजनिक सम्पत्ति नष्ट गराए, तिनैमध्ये कोही साखुल्ले बनेर गोहीको आँसु झार्दै अघि आएमा सतर्क रहनैपर्ने भट्टराईको भनाइ छ।

२. अन्तरिम सरकारले निष्ठापूर्वक कार्यादेश पूरा गर्नुपर्ने:

अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभई जेनजी विद्रोहको बलमा गठन भएको उनको धारणा छ। त्यसैले सरकारले भित्री-बाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा स्पष्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्ने उनले बताए।

३. राज्यका स्थायी अंगहरूले पूर्ण सहयोग गर्नुपर्ने:

मुख्य कार्यकारी अंग अन्तरिम सरकारबाहेक राज्यका अरू स्थायी अंगहरू (कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू, प्रदेश र स्थानीय सरकारहरू) ले पनि बदलिएको परिवेश र जेनजी विद्रोहको दूरगामी महत्त्व लाई आत्मसात् गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्ने भट्टराईले जोड दिएका छन्। चित्त नबुझेमा पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुने तर असहयोग र अन्तरध्वंश गर्नु नहुने उनको भनाइ छ।

४. गैर-राज्य क्षेत्रको सक्रिय जिम्मेवारी:

उनले लोकतन्त्रको ओझेलमा परेको महत्त्वपूर्ण विषय औँल्याउँदै विशाल गैर-राज्य क्षेत्रका उद्यमी-व्यवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्ने सुझाव दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप