बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

आइतबार, २६ असोज २०८२, २३ : ३३
आइतबार, २६ असोज २०८२

सारांश

  • जुम्लाबाट चालु आर्थिक वर्षमा करिब ४,७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ।
  • यस वर्ष जुम्लामा १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ, जुन विगत दुई वर्षको तुलनामा कम हो।
  • जुम्लामा ७०.५ प्रतिशत घरपरिवार स्याउ खेतीमा संलग्न छन्, र किसानहरूले प्रतिकिलो ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्।

जुम्ला । जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।

अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ । आगामी मङ्सिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बिक्रीका लागि बाहिर पठाइएको तथ्याङ्क यकिन हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । 

गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भने, “करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिक्रीका लागि पठाइएको छ । पछिल्लो समय स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।”

यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ घरधुरीमध्ये १९ हजार २५८ घरधुरी अर्थात् ७० दशमलव पाँच प्रतिशत घरपरिवार स्याउ खेतीमा संलग्न छन् । तिला गाउँपालिकाभित्रका स्याउ किसानले गत भदौ पहिलो साता स्याउ  बिक्री गरेको स्थानीय स्याउ व्यापारी पदम रावतले बताए । यहाँका अधिकांश किसानको स्याउ बगैँचा छ । प्रत्येक परिवारले एक सिजनमा कम्तीमा  ४५ हजारदेखि बढीमा एक लाख रुपैयाँसम्म स्याउ बिक्री गरी आम्दानी गर्ने गरेका छन् । किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँ बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए । 

१३ हजार मेट्रिकटन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १३ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । यो उत्पादन विगत दुई वर्षयताकै कम हो । 

जम्मा उत्पादित मध्ये ७० हजार मेट्रिकटन स्याउ बिक्री भइसकेको छ । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । त्यसमध्ये स्याउ खेती गरिएको क्षेत्रफल आव २०८१र८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेकामा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको जनाइएको छ ।

जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा रेडडेलिसियस, रोयलडेसियस, गोल्डेन डेलिसियस, रिचारेड र जनाधन छन् । हाल उत्पादित उन्नत जातहरूमध्ये फुजी गाला ९इटालियन जात० को स्याउ खेती भइरहेको छ ।

हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नयाँ सिफारिस गरेका जातहरूमध्ये स्टार किमसन डेलिसियस, बाइट एन अर्ली र स्टार्क स्पर गोल्डन जातको स्याउ खेतीको अध्ययन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप