पहिले प्रहरीको मनोबल उच्च बनाऊ सरकार
‘सत्य सेवा सुरक्षणम्’ को मूल मन्त्रलाई शिरोधार्य गरी देशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न हरदम प्रयत्नशील नेपाल प्रहरी स्थापनाकालको सात दशकको अवधिमा आज इतिहासकै कठिन मोडमा उभिएको छ ।
देशमा शान्ति सुरक्षा कायम राख्ने अहम् भूमिका प्रहरीको हो । तर भदौ २४ गते जेनजी पुस्ताको नाममा भएको नेतृत्वविहीन विद्रोहका क्रममा भएको अकल्पनीय र त्रासदीपूर्ण परिघटनाले प्रहरीको मनोबल अत्यन्तै गिरेको छ ।
शान्ति सुरक्षा कायम राख्ने कार्य आफैंमा चुनौतीपूर्ण कार्य हो । तर खस्केको मनोबल र गिरेको नुर लिएर हिँडेको जवानले कसरी कर्तव्य पूरा गर्न सक्ला ?
यदि जनतालाई कानुनको राज र विधिको शासनको प्रत्याभूति दिलाउने हो भने पहिले प्रहरीको मनोबल उच्च बनाउनुपर्छ ।
सधैं सत्य र न्यायका लागि वकालत गर्दै पीडितको पक्षमा उभिएर शान्ति सुरक्षामा तल्लीन यो संस्थाको आवश्यकतालाई मध्यनजर राखी व्यवस्थित ढंगले सञ्चालन गर्ने हेतुले २०१२ सालमा प्रहरी ऐन बनाएर नेपाल प्रहरीलाई वैधानिक स्वरुप प्रदान गरिएको थियो ।
यस अवधिमा नेपाल प्रहरीले विभिन्न आरोह-अवरोह पार गरेको छ । जनताको जीउधन तथा शान्ति सुरक्षाको गहन जिम्मेवारी बोकेको यस प्रहरी संगठनले देशमा हुने अनेकौं जनप्रदर्शन तथा राजनीतिक परिवर्तनका आन्दोलन (२०३६ को जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ सालदेखि माओवादीले सुरु गरेको हिंसात्मक क्रान्ति, २०६२/६३ को संयुक्त जनआन्दोलन तथा समय समयमा हुने अनेकौं आन्दोलन लगायत) हरुमा सधैं अग्रभागमा रहेर भिड नियन्त्रण तथा शान्ति सुरक्षाको कार्यमा हरदम खटिरहेको छ । त्यसक्रममा प्रहरीले अनेकौं हिंसात्मक गतिविधिको सामना गर्नुपरेको छ र आफ्ना कैयौं होनहार सदस्य गुमाउनु परेको छ ।
आफ्नो पसिनासँग साटिएको पोसाक जसमा जिम्मेवारी, कर्तव्यबोध र भावनात्मक सम्बन्ध अन्तर्निहित हुन्छ, त्यो पोसाक लुटेराहरुले लुटेर सडकमा तमासा देखाउँदै त्यसको मजाक गरिँदा आज सिङ्गो प्रहरी सङ्गठनको नुर गिरेको छ । आफ्नो ज्यानको बाजी लगाएर जनताको जीउधनको सुरक्षा गर्ने कसम खाएको प्रहरीको मनोबल खस्केको छ ।
२०५२ सालदेखि माओवादीले सञ्चालन गरेको हतियारसहितको दोहोरो युद्धमा पनि यस संस्थाले ठुलो क्षति व्यहोरेको थियो, त्यो एक दशक लामो कालखण्ड थियो । त्यसको नैतिक जिम्मेवारी लिने नेतृत्वकर्ता पनि थिए । तर गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको नाममा भएको नेतृत्वविहीन हिंसात्मक विद्रोहको कारण जम्मा दुई दिनमा सिङ्गो देशसँगै नेपाल प्रहरीले इतिहासमै सबैभन्दा भयानक क्षति व्यहोर्नुपर्यो ।
हरेक आन्दोलनपछिका उपलब्धिलाई आत्मासात गरेर त्यसपछि बन्ने सरकार र पद्धतिको परिपालनामा कटिबद्ध नेपाल प्रहरी सधैं किन यसरी आन्दोलनकारीहरुको निशानामा पर्ने गर्छ भन्ने सोचनीय विषय बनेको छ । राज्यको कानुन कार्यान्वयन तथा सरकारको निर्देशन पालना गर्नु उसको पेसागत निष्ठा र व्यावसायिक धर्म हो । तर नेपालमा प्रहरीको पेसागत जीवनको सुरक्षा खोइ ? भिड नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न फिल्डमा खटिएकै कारण उसले जीवन गुमाउनु पर्ने किन ?
आन्दोलनपछि जुन सरकार बने पनि उसलाई फेरि त्यही प्रहरी चाहिन्छ । प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन र उद्धारमा त्यही प्रहरी चाहिन्छ । जुन खोलामा आक्रोशित भिडले प्रहरीलाई कुटी-कुटी नाङ्गै हेलिन बाध्य बनाएको थियो, त्यही खोलाबाट डुबेका जनतालाई प्रहरीले उद्धार गर्नुपर्यो ।
त्यही प्रहरीलाई किन यसरी हुर्मत लिने काम भयो ? चेन अफ कमान्डमा चल्ने यो अनुशासित फोर्स आदेश बेगर डेग पनि चल्दैन । अनि आदेश पालना गर्दा उसले बागमती खोलामा हेलिनुपर्ने ? कुटाइ खानुपर्ने ? जलेर मर्नुपर्ने ? यी प्रश्नको जवाफ कसले दिने ?
गल्ती गर्ने प्रहरी होस् वा कुनै घुसपैठिया, गोली प्रहार गर्ने होस् वा सिंहदरबार जलाउने सबैले कानुन अनुसार कारवाही भोग्नैपर्छ । नत्र राज्यमा दण्डहीनताले प्रश्रय पाउँछ । गल्ती को-कोबाट भयो, पछि सत्यतथ्य बाहिर आउला तर बहाना जेसुकै होस् जनताको जीउधन र राज्यको शान्ति व्यवस्थाको जिम्मेवारी बोकेको सुरक्षा निकाय जस्तो संवेदनशील अङ्ग नेपाल प्रहरीमाथि भएको त्यो कारुणिक दृश्य र आततायी हर्कतहरु इतिहासले कदापि भुल्ने छैन ।
आफ्नै आँखा अगाडि आफू र आफ्ना सहकर्मी उपर अपराधीहरुले गरेको बर्बरतापूर्ण आक्रमणले आज प्रहरी जुन हालतमा छ, त्यसको नकारात्मक असर समाजलाई पर्ने निश्चित छ । आज उसका हजारौं नाल हतियार तथा लाखौं राउन्ड गोली लुटिएका छन् । आत्मसमर्पण गरेको प्रहरीलाई बर्दी खोल्न लगाई बागमती खोलामा हेलियो, त्यतिले नपुगेर न्यूनतम मानवीय मूल्य बिर्सेर माथिबाट ढुङ्गामुढा प्रहार भयो । कायरतापूर्ण तवरले कुटीकुटी हत्या गरियो । ब्यारेक-अफिस भवन, पोसाक तथा सवारीसाधन जलाइयो ।
सबैभन्दा भद्दा मजाक त प्रहरीको पोसाकमाथि गरियो । प्रहरीको पोसाकको छुट्टै गरिमा र महत्त्व छ, एक वर्षसम्म कठिन तालिम गरेपछि एक जवान बल्ल पोसाकको हकदार बन्छ । प्रहरीको बर्दी जिम्मेवारीको प्रतीक हो । बर्दी धारण गरेपछि त्यो जवानले गर्न हुने र नहुने कामबारेमा उसलाई सचेत गराइएको हुन्छ । त्यसको शान, मान र इज्जत हुन्छ । आफ्नो पसिनासँग साटिएको पोसाक जसमा जिम्मेवारी, कर्तव्यबोध र भावनात्मक सम्बन्ध अन्तर्निहित हुन्छ, त्यो पोसाक लुटेराहरुले लुटेर सडकमा तमासा देखाउँदै त्यसको मजाक गरिँदा आज सिङ्गो प्रहरी सङ्गठनको नुर गिरेको छ । आफ्नो ज्यानको बाजी लगाएर जनताको जीउधनको सुरक्षा गर्ने कसम खाएको प्रहरीको मनोबल खस्केको छ ।
जुन देश र समाजमा यो ढङ्गबाट प्रहरीको हुर्मत लिने काम हुन्छ, त्यो समाज बस्न लायक हुँदैन । प्रहरीविनाको समाज एकछिन पनि कल्पना गर्न सकिँदैन । त्यस्तो समाज र त्यहाँ बस्ने मानिस भनेको घनघोर जङ्गलमा अनेकौं हिंस्रक जनावरले घेरिएको निरीह मृगको पाठो जस्तै हो । त्यहाँ जसले जसलाई जे गरेपनि भयो । फेरि जेनजीकै आन्दोलनमा कारागारबाट फरार अपराधीहरु समाजमा यत्रतत्र छन्, प्रहरीबाट लुटिएको हातहतियार बाहिरै छ । ती हतियार लुट्नुको उद्देश्य के हो ? यो विद्रोहको नेतृत्वकर्ता को हो ? जो मरे पनि नेपाली मरेका छन्, जुन भौतिक संरचना जले पनि नेपाल र नेपालीकै क्षति भएको छ । यसको जवाफदेहिता कसले बहन गर्ने हो ? नैतिक जिम्मेवारी लिने कसले ?
अर्को गम्भीर सवाल, जब राज्यको आन्तरिक शान्ति सुरक्षाबाट प्रहरीलाई बेदखल गरिन्छ । राज्यका अन्य संस्थाहरुलाई पङ्गु बनाइन्छ । त्यो देशको हालत अफ्रिकी देशहरू जस्तै, सुडान, हाइटी, कङ्गो रुवान्डा जस्तो हुन्छ । प्रतिशोधको भावना व्याप्त हुँदा मानिसहरू एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई सिध्याउन उद्दत हुन्छन्, बिचमा बसेर मध्यस्थतकर्ता बनिदिने प्रहरी हुँदैन ।
कुनै झैझगडा या अप्रिय घटना घट्दा त्यहाँ खटिने प्रहरीमाथि नै साङ्घातिक हमला भइरहेका छन् । यस्तो परिस्थितिमा सुरक्षा दिने सुरक्षाकर्मीकै जीवनको सुरक्षा नभएपछि त्यो समाज देश र निर्वाचनमा कसरी प्रहरीले शान्ति सुरक्षा कायम राख्ला, यसतर्फ सबैले गम्भीर भएर सोच्न आवश्यक छ ।
मुख्य कुरा यो सार्वभौम देश, स्वाभिमानले सगरमाथा चुमेको देश, विश्वशान्तिका प्रतीक बुद्धको देश हो । यो देशमा विदेशी सेनाका बुट नबजारिउन् । आशा गरौं नेपाल हाइटी जस्तो नबनोस् ।
भदौ २४ गते जम्मा एकदिन शान्ति सुरक्षाको कार्यबाट नेपाल प्रहरीले हात खडा गरिदिँदा देशले कति भयावह स्थिति भोग्नुपर्यो, सिङ्गो देशले महसुस गर्यो । त्यसैको फलस्वरूप आज हाम्रासामु हाम्रा ऐतिहासिक धरोहर तथा सम्पदाहरु कुनै बाँकी छैनन् । राज्यका तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका भौतिक संरचना ध्वस्त भए । कारागारहरु तहसनहस पारिए । त्यहाँ रहेका ऐतिहासिक दस्तावेज तथा महत्त्वपूर्ण कागजपत्र नष्ट पारिए । व्यक्तिका निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल लगायत जलेर खरानी भए । नेपालमा यस्तो प्रवृत्तिका आन्दोलनले यहाँ न उद्योग, कलकारखाना खुल्छन् न पर्यटक आउँछन् । स्वदेशी तथा विदेशी लगानीकर्ताले आफ्नो लगानीमा सुरक्षित महसुस नगरेसम्म र प्रतिफल प्राप्त नहुने लागेमा यहाँ कसैले लगानी गर्दैनन् ।
नेता र शासन व्यवस्थाको रिसले राष्ट्रको सम्पदा, इतिहास, गौरव हाम्रा शान, मान, चिनारी र पहिचान जलाएर खारानिको थुप्रोमा रमाउने हामी नेपालीलाई धिक्कार छ। यसले पनि देखाउछ कि देशको आन्तरिक शान्ति सुरक्षामा प्रहरीको भुमिका कति महत्त्वपूर्ण रहेछ। प्रहरी सुतेर त बसेको रहेनछ नि। यी सबै महत्त्वपूर्ण प्रतिस्ठानको सुरक्षा जिम्मा उसैको थियो। तर कायरहरुले प्रहरीलाई यस्तो हालत बनाइदिए कि... आज आम्रो देशको इतिहास र पहिचान जल्दा भोलि हाम्रो अस्तित्व कता पुग्ने हो ? सोच्यो कसैले? पछिल्लो पुस्तालाई हामिले कस्तो देश जिम्मा लगाउने? अब आउने अल्फा पुस्ताले देशको इतिहास, नक्सा चिनारी खोज्यो भने के भन्ने हो ? नालायक हरुले के जवाफ देलान आउने पुस्तालाई ?
अहिले देशमा जेनजीको मागअनुसार बनेको अन्तरिम सरकारले घोषणा गरेको आसन्न निर्वाचन सन्निकट छ । चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीकै भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अर्कोतिर संक्रमणकालीन अवस्थामा विभिन्न नयाँ तथा पुराना शक्तिबिच प्रतिसोध बढ्ने संकेत देखिन्छ । यसले देशमा फेरि मुठभेडको स्थिति उत्पन्न हुनसक्ने खतरा छ । तर जेनजी विद्रोहपछि डिउटीमा तैनाथ बर्दीको प्रहरीलाई जसले पनि र जहाँ पनि हात हाल्ने कुट्ने पिट्ने, होच्याउने, अपशब्द बोल्ने गरेका छन् ।
कुनै झैझगडा या अप्रिय घटना घट्दा त्यहाँ खटिने प्रहरीमाथि नै साङ्घातिक हमला भइरहेका छन् । यस्तो परिस्थितिमा सुरक्षा दिने सुरक्षाकर्मीकै जीवनको सुरक्षा नभएपछि त्यो समाज देश र निर्वाचनमा कसरी प्रहरीले शान्ति सुरक्षा कायम राख्ला, यसतर्फ सबैले गम्भीर भएर सोच्न आवश्यक छ ।
यस्तो विषम परिस्थितिमा समाजको शान्ति सुरक्षामा जटिलता, रिक्तता र असुरक्षा महसुस गरेर आज समुदायका शान्तिप्रिय सचेत वर्गले प्रहरीको उपस्थिति बोध गर्दै जलेका भवन सरसफाइ गर्दै अन्य आवश्यक सरसामानसहित प्रहरीलाई पुनर्स्थापित गर्न सहयोग गरेका छन् । जनस्तरबाट यो सहयोग सराहनीय छ । आज प्रहरी बस्ने ब्यारेक, सवारी साधन, काम गर्ने अफिस र लगाउने पोसाक छैनन् । यसतर्फ ध्यान दिनुपर्छ । भिड नियन्त्रण तथा आन्दोलनमा खटिँदा त्यससम्बन्धी तालिम, सीप र ज्ञान प्रदान गर्ने, आवश्यक साधन स्रोत उपलब्ध गराउने कार्य गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण