तिहार नजिकिँदै, भाइमसलाको मूल्य बढ्दै
सारांश
- तिहारमा प्रयोग हुने भाइमसलाको मूल्यमा वृद्धि भएको छ, उपभोक्ता मारमा परेका छन्।
- वाणिज्य विभागले भाइमसलाको जथाभाबी मूल्य लिएको फेला पारेर कारबाही गरेको छ, जसमा जरिवाना पनि समावेश छ।
- विभागले तिहार लक्षित अनुगमनलाई कडाइ गर्दै मूल्यसूची नराख्ने र जथाभाबी मूल्य लिनेलाई कारबाही गर्ने जनाएको छ।
काठमाडौँ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइमसला दिने चलन छ । भाइमसलामा ओखर, नरिवल, काजु, बदाम, पिस्ता, किसमिसलगायत वस्तु प्रयोग हुन्छ । यो सेलरोटी, मिठाई र फलफूलसँगै दिइन्छ ।
भाइमसलामा आयातित ड्राइफ्रुट्सको हिस्सा धेरै हुँदा जथाभाबी मूल्य तिर्नुपर्नेमा मारमा उपभोक्ता छन् । काजु, बदाम, पिस्ता, किसमिस, दन्ते ओखर आयातमै निर्भर हुनु परेको छ भने ओखर र नरिवल नेपालमा पनि उत्पादन हुन्छ ।
ड्राइफ्रुट्स नियमित समयभन्दा तिहारमा खपत बढ्ने गरेको छ । खपत बढ्ने भएकाले व्यवसायीहरूले पनि जथाभाबी रूपमा मूल्य बढाएर बिक्री गर्ने गरेको गुनासो आउने गरेका छन् । यो वर्ष भाइमसलाको रूपमा प्रयोग हुने ड्राइफ्रुट्स केहीको मूल्य सामान्य बढेको छ भने केहीको घटेको छ ।
थोक किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ पिस्ता र नरिवलमा मूल्य वृद्धि भएको बताउँछन् ।
कुन ड्राइफ्रुट्सको मूल्य कति ?
श्रेष्ठका अनुसार नरिवलमा १० देखि १५ प्रतिशत वृद्धि भएको छ । पिस्तामा प्रतिकिलो ५ सय रुपैयाँसम्म वृद्धि भएको छ । ‘सात–आठ महिनाअघि १४ सय रुपैयाँ पर्ने पिस्ता अहिले १९ सय रुपैयाँ पुगेको छ । अन्य ड्राइफ्रुट्समा केहीको मूल्य घटेको छ भने केहीको यथावत् छ,’ उनी भन्छन् ।
अघिल्लो वर्ष १७ सय रुपैयाँ प्रतिकिलो पर्ने बदाम अहिले बजारमा ११ सयदेखि १२ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
यस्तो छ बजार मूल्य

यस्तै, काजुको मूल्य १५ सयदेखि १६ सय रुपैयाँ प्रतिकिलो रहेको छ । किसमिसको मूल्य ५५० रुपैयाँसम्म प्रतिकिलो रहेको उनले बताए ।
बदामको मूल्य ११ सयदेखि १२ सय रुपैयाँ प्रतिकिलोको हाराहारीमा रहेको छ, तर यस वर्ष दुई प्रकारका बदाम उपलब्ध भएकाले एउटा प्रजातिको मूल्य १४ सय रुपैयाँसम्म छ । यद्यपि, बदामको मूल्य गत वर्षको तुलनामा घटेको श्रेष्ठ बताउँछन् ।
जथाभाबी मूल्य राखेर बिक्री गरेको फेला
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाइमसलाको रूपमा प्रयोग हुने ड्राइफ्रुट्स जथाभाबी मूल्यमा बिक्री गरिरहेको फेला पारेको छ । विभागका एक अनुगमन अधिकृतका अनुसार अनुगमनका क्रममा एउटै वस्तुमा पसलैपिच्छे ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्मको मूल्य फरक परेको पाइएको छ ।
यस्तै ड्राइफ्रुट्स बिक्री गर्ने न्युरोडका पसलहरुमा कतै एमआरपी मूल्य नराखेको कतै मूल्य सूची नराखी जथाभाबी रूपमा मूल्य असुल गरेको पाइएको छ । यसैगरी बजारमा पसलपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेको पाइएको छ ।
_gsJ0irC4DK.jpg)
यति मात्र होइन बजारमा जथाभाबी भाइमसलाका प्याकेट बनाएर महँगो मूल्य असुल गर्ने गरेको समेत फेला परेको ती अधिकृतले बताएका छन् । ती अधिकृतका अनुसार भाइमसलाको मूल्य बजारमा ३५ रुपैयाँदेखि ३ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने प्याकेट पाइएको छ । सामान्य बजारमा ३५, ६५, २७०, ४५०, ६०० देखि ३ हजार र सोभन्दा बढी मूल्यका प्याकेटहरू पनि छन् । प्याकेटको साइजअनुसार चकलेट र ड्राइफ्रुट्सको मूल्य फरक तोकिएका छन् ।
ती अधिकारी भन्छन्, ‘व्यापारीहरुले आफूखुसी जथाभाबी रूपमा भाइमसलाका प्याकेट बनाएर बिक्री भइरहेका छन् । जसमा म्याद गुज्रेका वस्तु पनि मिसावट हुनसक्छ । अनलाइनमा पनि यस्ता वस्तुहरूको बिक्री भइरहेको छ । यो सिजनल व्यापार भएकाले र अधिकांश व्यापारीहरू दर्ता नभएका अनौपचारिक बजारका भएकाले उनीहरूलाई पत्ता लगाउन गाह्रो भइरहेको छ । यस्ता व्यापारीहरूले पार्ट टाइम मानिसहरू राखेर बिक्री गरिरहेको पाइएको छ ।’
जथाभाबी मूल्य लिनेलाई कारबाही
विभागले दैनिक करिब ३० वटा पसलको अनुगमन गरिरहेको जनाएको छ । यो अनुगमन तिहारलाई लक्षित गरी कडाइ गरिएको छ । विभागका महानिर्देशक रोशन ज्ञवाली तिहारलक्षित सामग्री भाइमसला, भाँडाकुँडा र मिठाई पसलको अनुगमन भइरहेको बताउँछन् ।
मूल्य बढी लिने र मूल्यसूची नराख्ने पसलेहरूलाई तत्काल जरिवाना गरेको उनी बताउँछन् । आइतबार २८ जनामध्ये २० वटालाई जरिवाना गरिएको थियो । पसलमा मूल्यसूची नराखेकोमा ५० हजार जरिवाना गरिएको छ । बजारमा कालोबजारी गर्ने जथाभाबी मूल्य असुल गर्ने तथा रिलेबलिङ गर्ने जस्ता कानुन विपरी व्यापार गरेको फेला परे ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ ।

तिहारको मौका छोपी वस्तु अभाव सिर्जना गर्ने तथा जथाभाबी मूल्यमा वस्तु बिक्री गरेको फेला पारेमा विभागले कानुनी कारबाही गरिरहेको ज्ञवाली बताउँछन् ।
‘हाम्रो अनुगमनमा मूल्यसूची नराख्ने जथाभाबी रूपमा मूल्य असुल गर्ने लगायतका कैफियत भेटिएकाले सबै व्यवसायीलाई एमआरपी तथा मूल्य सूची राखेर बिक्री गर्न निर्देशनसहितको सूचना जारी गरेका छौँ,’ महानिर्देशक ज्ञवाली भन्छन्, ‘अटेर गरेको पाइए कारबाही गर्छौँ ।’
यस्तै तिहारमा खपत हुने वस्तु भाइमसला, झिलिमिली बत्ती लगायतको मूल्य खासै नबढेको उनी बताउँछन् । उनले कतै कैफियत भेटिए विभागको हटलाइन ११३७ मा कल गरी उजुरी गर्नसमेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण