सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बंगलादेशमा कपडा कारखाना आगलागी : कम्तीमा १६ जनाको मृत्यु, सङ्ख्या बढ्न सक्ने

बुधबार, २९ असोज २०८२, ०९ : २९
बुधबार, २९ असोज २०८२

सारांश

  • ढाकाको कपडा कारखानामा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
  • आगलागीमा जलेका १६ शव फेला परेका छन्, र मृतकको संख्या बढ्न सक्ने अनुमान छ।
  • बंगलादेशमा सुरक्षा मापदण्डको कमीका कारण आगलागीका घटनाहरू सामान्य बन्दै गएका छन्।

ढाका । बंगलादेशको राजधानी ढाकास्थित मीरपुर क्षेत्रमा रहेको एउटा कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

फायर सर्भिसका अनुसार जलेर पहिचान गर्न नसकिने अवस्थामा १६ वटा शव भेटिएका छन्। मंगलबार चार तले कारखानामा आगलागी भएपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू शोकाकुल हुँदै भेला भएका थिए।

मध्याह्नतिर लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आए पनि छेउको एक रसायन गोदाम भने जलिरहेको थियो। बंगलादेशमा सुरक्षा मापदण्डमा लापरबाही र कमजोर पूर्वाधारका कारण ठुला आगलागीका घटनाहरू सामान्यजस्तै छन्, जसमा पछिल्ला वर्षहरूमा सयौँले ज्यान गुमाएका छन्।

अधिकारीहरूका अनुसार रसायन गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड जस्ता प्रज्वलनशील वस्तुहरू भण्डारण गरिएको थियो। फायर सर्भिसका निर्देशक मोहम्मद ताजुल इस्लाम चौधरीले पीडितहरूले ‘अत्यन्तै विषालु ग्यास’ का कारण तुरुन्तै मरेको हुनसक्ने बताएका छन्।

प्रहरी र सेनाले कारखाना र गोदामका मालिकहरू पत्ता लगाउने प्रयास गरिरहेका छन्। सन् २०१३ मा ढाकामा भवन भत्किँदा १,१०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जुन देशको सबैभन्दा ठुलो औद्योगिक दुर्घटना हो।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप