बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

मंसिरमा नियमित महाधिवेशनको बाटोमा कांग्रेस

बिहीबार, ३० असोज २०८२, १८ : ०६
बिहीबार, ३० असोज २०८२

काठमाडौँ । नेपाली कांग्रेस आगामी मंसिरमै १५ औँ महाधिवेशन गर्ने बाटोमा अघि बढेको छ । बुधबार विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइयो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र गर्नुपर्ने व्यवस्था छ । 

विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएको हस्ताक्षरबारे कार्यवाहक सभापति खड्काले बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन् । युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा बुधबार खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको थियो । १४ औँ महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । त्यो हस्ताक्षरको संख्या ५० प्रतिशतभन्दा माथि हो । 

त्यसपछि कार्यसम्पादन समिति कार्यवाहक सभापति खड्का र महामन्त्री गगन थापाबिच पटक–पटक भएका वार्ताले मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्ने बाटोमा पार्टी अघि बढेको हो ।

बिहीबारको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन माग गर्ने, मंसिरमा नियमित महाधिवेशन हुनैपर्ने र मंसिरमा महाधिवेशन गर्न सकिँदैन कि भन्नेहरू नियमित महाधिवेशन मंसिरमै गर्ने बाटोमा अघि बढेको देखिएको छ । 

बिहीबारको बैठक सुरु गर्दै कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको माग राख्नेहरूका माग पनि मंसिरमै नियमित महाधिवेशन होस् भन्ने चाहना रहेकोमा आफू विश्वस्त रहेको बताए । 

हस्ताक्षरसहितको पत्रबारे जानकारी गराउँदै कार्यवाहक सभापति खड्काले बैठकमा भनेका थिए, ‘मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नु भएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं ।’

कांग्रेसको संस्थापन नियमित महाधिवेशन गर्न तयार थियो तर मंसिरमा विधि र प्रक्रिया पुर्‍याई सबैलाई समेटेर महाधिवेशन गर्न समय नपुग्ने बताइरहेको थियो । 

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको निर्देशनमा हस्ताक्षर संकलन भएको थियो । हस्ताक्षर गर्न लगाउने दुई महामन्त्रीमध्येका महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नेहरू पनि मंसिर मसान्तभित्र नियमित महाधिवेशन होस् भन्ने चाहना राख्ने बताए । तर पार्टीको १५ औँ महाधिवेशन मंसिरभित्र हुनेगरी कार्यतालिका केन्द्रीय कार्यसमितिमा नआए विशेष महाधिवेशन बाध्यता हुने उनको भनाइ थियो । केन्द्रीय कार्यसमिति बैठकमा बैठकका एजेण्डा प्रस्तुत गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्दै दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइने बताए । 

‘विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएबमोजिम पार्टीमा महाधिवेशनको माग राख्दै हस्ताक्षर बुझाउनुभएको छ । यो दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइनेछ,’ थापाले बैठकमा भने, ‘तर मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्नेछौँ ।’

थापाले नियमित महाधिवेशनको कार्यतालिका आएमा विशेष महाधिवेशनको बहस सकिने समेत बताए । केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशनको कार्यतालिका पास गर्ने उनको भनाइ थियो । 

‘नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक नरहेको निर्णयमा हामी पुग्नेछौँ,’ थापाले भने । 

मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका पार्टीको इतर समूहका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनका लागि कार्यवाहक सभापति खड्कालाई बुझाइएका महाधिवेशन प्रतिनिधिका हस्ताक्षरको सम्बोधन नियमित महाधिवेशन गरेर गर्नुपर्ने बताए । केन्द्रीय समिति बैठकमा लिखित धारणा राख्दै नेता डा. कोइरालाले भने, ‘विशेष महाधिवेशनको सन्दर्भमा उठेका र कांग्रेसभित्रबाट साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै ऊर्जा भर्न हो भनी म बुझ्‌छु । यी सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव छ भन्नेमा म विश्वस्त छु ।’

डा. कोइरालाले अरु राजनीतिक दलहरूले मंसिरमा नियमित महाधिवेशन गर्ने प्रक्रियामा जुटेको भन्दै कांग्रेसले किन मंसिरमा महाधिवेशन गर्न सक्दैन भन्दै प्रश्न गरे । 

‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ ?’ डा. कोइरालाले भने ।

कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५ औं महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । कोइरालाले महामन्त्रीले मंसिरमै महाधिवेशन गर्ने कार्यतालिका ल्याउनेमा आफू विश्वस्त रहेको बताए । ‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु,’ डा. कोइरालाले भने ।

२०७८ साल मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको  चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदैछ । कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कार्यसमितिको म्याद एक वर्ष थप्न सक्ने व्यवस्था छ । अहिले केन्द्रीय कार्यसमितिको म्याद नथपेर मंसिरमै नियमित महाधिवेशन गर्नका लागि कांग्रेसभित्र ठुलो दबाब छ । मंसिरमै नियमित महाधिवेशन गर्न दबाब दिन विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिएको थियो । हस्ताक्षर बुझाएपछि पार्टीलाई नियमित महाधिवेशन मंसिरमै गर्नेतर्फ नेताहरूले अग्रसरता देखाएका छन् । यद्यपि औपचारिक निर्णय भने भएको छैन । 

कार्यवाहक सभापति खड्काले जारी केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशनको कार्यतालिका पास गर्ने बताए । खड्काले बैठकमा भने, ‘यो बैठक टुङ्गिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप