बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको महाधिवेशन कहिले ?

सोमबार, २७ असोज २०८२, २० : ००
सोमबार, २७ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसले महाधिवेशन कहिले र कुन गर्ने भन्ने टुंगो लगाउन सकेको छैन, मंसिरमा कार्यसमितिको म्याद सकिँदैछ।
  • महामन्त्रीहरू विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गरिरहेका छन् भने संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा छ।
  • युवा नेताहरूले मंसिरमा महाधिवेशन गर्नुपर्ने र नसके कार्यसमिति भंग गरी नयाँ आयोजक समिति बनाउनुपर्ने माग गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको बिहीबार र शुक्रबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक तथा शनिबार र आइतबार कार्यसम्पादनसहित पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसे पनि कुन महाधिवेशन गर्ने र कहिले गर्ने भन्ने टुङ्ग्याउन सकेको छैन । शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिने भएकाले त्यसवेलासम्म महाधिवेशन गर्नुपर्ने भए पनि विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर संकलन गरिरहेका छन् । पार्टी विधान अनुसार १४ औँ महाधिवेशनका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी कारण देखाएर विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ, तर विशेष महाधिवेशनबाट चुनिनेको पदावधि कति हुने ? सभापतिमात्रै चुन्ने कि सिङ्गो कार्यसमिति नै चुन्ने भन्ने प्रस्ट व्यवस्था छैन । कांग्रेसको निर्वाचन समितिका संयोजक रहेका पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले महाधिवेशन गर्ने भन्ने व्यवस्था भए पनि कसरी गर्ने, कार्यकाल कति हुनेलगायत विषयमा विधान र नियमावलीमा स्पष्ट व्यवस्था नभएको जानकारी दिए । 

‘विधानमा विशेष महाधिवेशन आह्वान गर्ने दुई व्यवस्थाबारे लेखिएको छ तर, कसरी गर्ने, महाधिवेशनमार्फत चुनिनेको पदावधि कति हुने ? नेतृत्वमात्रै चुन्ने कि कार्यसमिति पूरै चुन्ने भन्ने विषयमा केही बोलेको छैन,’ खातीले रातोपाटीसँग भने, ‘विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरसहित निवेदन आयो भने पनि भेरिफिकेसन हुन पर्‍यो । कार्यविधि बनाउन पर्‍यो । त्यति सहज छैन ।’

अर्कोतर्फ पार्टीको संस्थापन पक्ष र डा. शेखर कोइराला नेतृत्वको इतर समूह भने नियमित महाधिवेशन भनिरहेको छ । मंसिरभित्र नियमित महाधिवेशन हुने भएमा सहमति जनाउन सकिने महामन्त्रीद्वय थापा र शर्माले पनि बताउँदै आएका छन् । 

तथापि दुवै पक्षका बिचमा कुरा मिल्न नसक्दा मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनसम्बन्धी एजेण्डा लैजाने सहमति भए पनि कहिलेबाट कुन महाधिवेशन गर्ने भन्ने एजेण्डा तय हुन सकेको छैन । कुन महाधिवेशन गर्नेभन्दा पनि महाधिवेशन कहिले गर्ने भन्नेमा कुरा मिल्न नसकेको नेताहरू बताउँछन् । 

संस्थापन पक्षका नेताहरू विधि, प्रक्रिया र प्रतिनिधित्व सुनिश्चितता गरेर महाधिवेशन सम्पन्न गर्न समय नपुग्ने बताइरहेका छन् । मंसिरमै महाधिवेशन गर्न नसकिने बताउनेमा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेताहरू छन् । पूर्वउपसभापति निधिले त निर्वाचन अगाडि महाधिवेशन सम्भव नभएको भन्दै कार्यवाहक तोकेर निर्वाचनमा होमिनुपर्ने बताउँदै आएका छन् । 

मंसिरमै महाधिवेशन गर्न व्यावहारिक रूपमा कठिनाइ रहेको तर्क संस्थापन पक्षका नेताहरूले गरिरहेका छन् । संस्थापन पक्षकै केही नेताले देउवालाई केन्द्रीय कार्यसमिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउन सुझाइरहेका छन् । यस्तो सुझाव दिनेमा पूर्वमहामन्त्री डा. शशांक कोइरालासहितका नेता छन् । 

महाधिवेशनको मितिमा कुरा नमिल्दा मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय भएका छैनन् । इतर समूह कुनै पनि हालतमा मंसिरमा महाधिवेशन गर्नुपर्ने बताइरहेको छ भने संस्थापन पक्ष विधि र प्रक्रिया पुर्‍याएर महाधिवेशन गर्न समय अपुग हुने बताइरहेको छ । यसले बिहीबारदेखि दिनदिनै बसिरहेको पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति अनिर्णयको बन्दी बनिरहेको छ । 

कांग्रेस केन्द्रीय समितिमा विधानअनुसार महामन्त्रीले एजेण्डा प्रस्तुत गर्नुपर्छ । महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा कार्यकाल थप गर्ने प्रस्ताव नलैजाने बताएपछि संस्थापन दबाबमा परेको छ । बिहीबारको पदाधिकारी बैठकमा महामन्त्री थापाले कार्यकाल थप गर्ने एजेण्डा नलैजाने बताएका थिए । 

डा. शेखर कोइराला नेतृत्वको इतर समूहले प्रक्रिया छोट्ट्याएर मंसिरमा महाधिवेशन गर्न सकिने धारणा राखिरहेको छ । छोटो समय तालिकाबाट महाधिवेशन गर्न सकिने प्रस्ताव शेखर पक्षीय केन्द्रीय सदस्य प्रा.डा.गोविन्दराज पोखरेलले सार्वजनिक गरेका छन् । पोखरेलले अनलाइन प्रणालीमार्फत क्रियाशील सदस्यताको नवीकरण र नयाँ वितरणको काम १५ कात्तिकसम्म गर्ने, क्रियाशील सदस्यतामा देखिने विवादलाई एक साताभित्र अन्त्य गरेर मंसिरको पहिलो सातादेखि वडा अधिवेशन सुरु गरेर २० मंसिरसम्म जिल्ला अधिवेशन सम्पन्न गर्न सकिने सार्वजनिक गरेका छन् । त्यसपछि प्रदेश र केन्द्रको एकै दिन निर्वाचन गर्ने र केन्द्रको मतदानसमेत प्रदेश तहमै गर्दा हुने प्रस्ताव उनले अगाडि ल्याएका छन् । 

संस्थापन पक्ष विशेष महाधिवेशनले पार्टी विभाजन हुन सक्ने भन्दै नियमित महाधिवेशन गर्ने बताइरहेको छ । मंसिरमै नियमित महाधिवेशन समयावधिका कारण सम्भव नहुने संस्थापन पक्षीय केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए । नियमित महाधिवेशन गर्ने तर मंसिरमा हुने कि नहुने भन्नेमा मंगलबारदेखि सुरु हुने केन्द्रीय समितिबाट निर्णय गरिने उनको भनाइ छ ।

‘पार्टीमा विभाजन ल्याउने विशेष महाधिवेशन हुँदैन । नियमित महाधिवेशन गर्ने हो । विधि र प्रक्रिया पुर्‍याएर कहिले महाधिवेशन गर्ने भन्ने मंगलबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले तय गर्छ,’ खतिवडाले रातोपाटीसँग भने, ‘मंसिरमै हुन सक्छ कि सक्दैन भन्ने छलफलपछि मात्रै निर्क्यौल हुन्छ ।’ 

जेनजीका माग सम्बोधनका लागि पार्टी विधानमा संशोधन, सदस्यता नवीकरण र वितरण तथा संगठनात्मक तयारी गरेर नियमित महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षले बताइरहेको छ । ‘हामीले पार्टीमा जेनजी र युवाको उपस्थिति सुनिश्चित गरेर महाधिवेशन गर्ने हो,’ खतिवडाले भने, ‘त्यसका लागि विधानमा व्यवस्था गर्नुपर्ने छ । आन्दोलनका क्रममा केन्द्रीय कार्यालयसहित ४८ पार्टीका कार्यालय जलेका छन् । कसरी काम अगाडि बढाउने भन्नेबारे छलफल गरेर अगाडि बढ्छौँ ।’

शेखर समूहका केन्द्रीय सदस्य सञ्जय गौतमले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने आफूहरूको अडान रहेको बताए । ‘मंसिरमा नियमित अधिवेशन गर्नुपर्छ । विशेष महाधिवेशन गर्न हुँदैन । वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्न हुँदैन । मंसिरमा विधि र प्रक्रिया पुर्‍याएर महाधिवेशन गर्नुपर्छ,’ गौतमले रातोपाटीसँग भने । 

अर्कोतर्फ संस्थापन र इतर समूहका युवाहरू भने मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने, त्यो गर्न नसकिएमा वर्तमान कार्यसमिति भंग गरी सानो चुस्तदुरुस्त महाधिवेशन आयोजक समिति बनाउनुपर्ने बताउँदै आएका छन् । त्यसमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, तरुण दलका पूर्वमहासचिव भुपेन्द्रजंग शाही, तथा युवा नेताहरू सरोज थापा, दीपक भट्टराई मनहरि श्रेष्ठ, युपी लामिछाने, रिता शाही, शिव रिमाल तीर्थ गौतमलगायत छन् । 

उनीहरूले सोमबार पनि पार्टी कार्यालय सानेपामा कार्यक्रम गरी मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने, त्यो गर्न नसकिएमा देउवा नेतृत्वको वर्तमान कार्यसमिति भंग गरी नयाँ महाधिवेशन आयोजक समिति बनाउन माग गरेको युवा नेता भट्टराईले रातोपाटीलाई जानकारी दिए । 

उपसभापति पूर्णबहादुर खड्का भने पार्टी एकताबद्ध हुनेगरी केन्द्रीय समितिमा प्रस्ताव प्रस्तुत हुने बताउँछन् । ‘हामीले पार्टीलाई एकताबद्ध बनाउने गरी केन्द्रीय समितिमा प्रस्ताव लैजान्छौँ,’ खड्काले आइतबार रातोपाटीसँग भनेका थिए, ‘त्यसका लागि अहिले हामी सबै पक्षका नेताहरूसँग बहस र छलफलमा छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप