भदौ २४ को विश्वंसमा संलग्नविरुद्ध धमाधम हुँदैछ मुद्दा दर्ता
काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भयो । यसरी विध्वंस मच्चाउनेहरुमाथि प्रहरीले धमाधम मुद्दा दर्ता गराउन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुरले भदौ २४ मा विभिन्न स्थानको घटनामा संलग्नमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस भएसँगै मुद्दा दर्ता हुन थालेको हो ।
भदौ २४ मा ललितपुरको भैंसेपाटीमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा आगजनी र तोडफोडमा संलग्नमाथि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार दुई जनामाथि आपराधिक उपद्रव, डाँकाचोरी र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको छ ।
आपराधिक उपद्रव र तोडफोडमा संलग्न उदयपुरको कटारी नगरपालिका-७ का सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका-६ का सञ्जय परियारलाई प्रहरीले असोज ७ गते पक्राउ गरेको थियो । प्रहरीले सञ्जय परियारको साथबाट अमेरिकन टाउरिस्टर लेखिएको निलो झोला, चाँदीको देवताको मूर्ति दुई थान, चाँदीको ग्लास १ थान, १२ हजार ४३० रुपैयाँ नगद, तामाको जग, तामाको गिलास, अमेरिकी डलर एक थान, भारतीय १०० को नोट ४१ वटा लुकाएर राखेको अवस्थामा फेला पारेको थियो ।
उनीहरुविरुद्ध ७६ लाख ७८ हजार बिगो रकम दाबी गर्दै मुद्दा दायर भएको छ । साथै उनीहरुमाथि अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गर्न मागदाबी गरिएको छ । दुवैलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को (१) विपरित र २ (क) बमोजिमको कसुर गरेकाले सोही संहिताको दफा २८५ को उपदफा ३ (घ) बमोजिम सजाय, सोही संहिताको दफा २४४ को उपदफा (१) ले निषेधित, उपदफा २(क) ले परिभाषित डाँका चोरीको कसूरमा सोही संहिताको दफा २४४ को उपदफा ३ (क) बमोजिम सजाय हुनुपर्ने मागदाबी गर्दै मुद्दा दायर भएको छ । उनीहरुमाथि ५ देखि १० वर्षसम्मको कैद सजाय हुनुपर्ने माग गरिएको छ ।
यस्तै जिल्ला प्रहरी परिसर ललितपुरले गत बुधबार मात्रै नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा भएको लुटपाट तथा ललितपुरकै हरिसिद्धि प्रहरी प्रभागमा भएको आगजनी र लुटपाटको कसुरमा मुद्दा दायर गरेको छ ।
प्रहरी प्रभाग हरिसिद्धि ललितपुरमा गत भदौ २४ गते प्रदर्शनका क्रममा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ उदयपुर घर भएका २६ वर्षीय दीपक राईले आगजनी, तोडफोडपछि प्रहरीको हातहतियार, गोली गठ्ठा लुटेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रहरी प्रभाग हरिसिद्धि ललितपुरमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक अमोदकान्त झाको प्रहरी प्रतिवेदनको आधारमा राईमाथि आपराधिक उपद्रव, डाँका चोरी र एकीकृत कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । राईलाई प्रहरीले असोज ४ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो । पक्राउ गर्ने क्रममा राईको कोठाबाट पेस्तोल २ थान, सोमा लाग्ने म्यागेजिन २ थान र गोली १३ राउन्ड प्रहरीले बरामद गरेको थियो । सो प्रहरी प्रभागबाट राइफल एक थान, त्यसमा लाग्ने २७१ राउन्ड गोली, म्याग्जिन ३ थान, चाइनिज पेस्तोलको गोली ९ राउन्ड, टाइप ७७ चाइनिज पेस्तोलको गोली ६ राउण्ड, ग्यास सेल ६० सेल, सर्टगनको जंगी राउण्ड ६० र रबरको बुलेट २० थानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रतिवेदनका आधारमा राईविरुद्ध ८८ लाख ४३ हजार २२० रुपैयाँ बराबरको बिगो कायम गरिएको छ । प्रहरी भवनलगायत पूर्णरूपमा क्षतिग्रस्त भएको भवनको ७५ लाख, एक थान पल्सर बाइकको २ लाख १० हजार, ह्यान्ड सेट (वाकीटकी) को २ लाख ८० हजार र सुरक्षाकर्मीको थप पोशाक सहितका अन्य जिन्सी सामानहरूको ८ लाख ५२ हजार ४ सय रुपैयाँ बिगो कायम गरिएको छ । राईलाई यसअघि पनि अभद्र व्यवहार मुद्दामा २०७९ माघ २६ गते ललितपुर जिल्ला अदालतले दोषी ठहर गरी २० दिन कैद र २ सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको थियो । त्यसलाई समेत आधार मानेर पटकेअन्तर्गत थप सजाय मागदाबी गरिएको छ ।
घटनासँग सम्बन्धित भिडियो, फोटो, सीसीटिभी फुटेज लगायतलाई प्रमाणको रूपमा पेस गरिएको छ । त्यसैगरी प्रतिवादीबाट बरामद भएका हतियारलाई पनि प्रमाणको रूपमा पेस गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घर लुटपाट र आगजनीमा संलग्न रहेको अभियोगमा चार जनाविरुद्ध बुधबार ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । शाक्यकी श्रीमती करुणा शाक्यले दिएको जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनाविरुद्ध डाँकाचोरी अभियोगमा मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालयले भारतको बिहार राज्यको पश्चिमी चम्पारण घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरस्थित अटो एक्स नामक गाडी ग्यारेजमा काम गर्ने १८ वर्षीय सेराज आलम, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१ खहरे घर भई बुद्धनगर बस्ने २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ का २२ वर्षीय सहजाद मिया मन्सुरी र रौतहटको चन्द्रपुर नगरपालिका-१ का २८ वर्षीय मनिष सुनारविरुद्ध मुद्दा दायर गरेको छ ।
शाक्यको घरको भुईंतलामा रेस्टलस नामको एनजीओ रहेको र दोस्रो तलामा शाक्य परिवार बस्दै आएका थिए । शाक्यले दिएको जाहेरी अनुसार भदौ २४ गते काम विशेषले बाहिर जाने क्रममा एनजीओ रहेको फ्ल्याट र आफ्नो फ्ल्याटमा प्रवेश गरी धनमाल लुटिएको उनले दाबी गरेकी छिन् ।
करुणा शाक्यको जाहेरीमा प्रहरीले गत असोज ३ गते सुरुमा चारैजना प्रतिवादीलाई पक्राउ गरेको थियो । प्रक्राउ परेकामध्ये प्रतिवादीहरू फुर्साङ लामा, मनिष सुनार र सहजाद मियाँ मन्सुरीलाई हाजिरी जमानीमा छाडिएको थियो । तर प्रतिवादी सेराज आलमलाई भने प्रहरी हिरासतमै राखेर अनुसन्धान थालेको थियो । सरकारी वकिल कार्यालय ललितपुरले प्रतिवादीसँग ५० लाख ९२ हजार रुपैयाँ बिगोसहित क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता गरेको छ ।

यस्तै प्रहरी वृत्त, महाराजगञ्जमा असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर घर भई चन्द्रागिरि बस्दै आएका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा दुवै जनाविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा सजाय मागदाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दायर गरेको हो ।
सादा पोसाकमा रहेका प्रहरी जवान थापालाई प्रदर्शनकारीहरूले ढुंगा र रडले हानेपछि घिसार्दै सडकको बिचमा ल्याएर छाडेका थिए । घटनामा संलग्न दुवैले बयानका क्रममा घटनामा संलग्न रहेको स्वीकार गरेका छन् । उनीहरूले जेनजी आन्दोलनको पहिलो दिन प्रदर्शनमा सहभागी युवामाथि गोली चलाएर मारिएको सुनेपछि आक्रोश बढेको र सोही दिन महाराजगञ्जमा पुग्दा प्रहरी कार्यालयमा तोडफोड भइरहेको देखेर आफूहरू पनि त्यसमै मिसिई प्रहरीमाथि आक्रमण गरेको बयान दिएको अभियोगपत्रमा उल्लेख छ ।
आन्दोलनको दिन प्रदर्शनमा सहभागी केही व्यक्तिले उनलाई कार्यालयबाट लखेटेर बाहिर निकाली टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । उनको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरिनु उल्लेख छ ।
प्रहरीका अनुसार महाराजगन्जमा खटिएका प्रहरी जवान थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो । त्यसपछि भाटभटेनी सुपरमार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुंगा लगायतका धारिलो हतियार अन्धाधुन्ध प्रहार गरिएको उल्लेख छ ।
गम्भीर घाइते बनाएपछि समेत अपमानजनक व्यवहार गरिएको थियो । प्रहरीले संकलन गरेको कल डिटेल रेकर्डमा युवराज बिहान ६;४७ बजे विशालनगर क्षेत्रमा देखिन्छन् भने ८:५४ देखि १०:१५ बजेसम्म कुमारी मार्ग, बिहान ११:३७ मा उत्तर ढोका, दिउँसो १२:१५ देखि साँझ ५:२६ बजेसम्म चक्रपथ नजिकै कुमारी मार्ग, ६ देखि ७ बजेसम्म नारायणगोल चोक वरिपरि देखिन्छन् । सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा अर्का आरोपित तामाङले पनि कसुर स्विकारेका छन् । उनीहरूमाथि लागेको अभियोग पुष्टि भएमा जन्मकैदसम्मको सजाय हुनसक्छ ।
यस्तै प्रहरीले टेकुमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रवेश गरेर तोडफोड, आगजनी गर्ने भारतीय नागरिक २२ वर्षीय निरज पोद्दार, दोलखा घर भएका लक्ष्मण थामी र काठमाडौंका २७ वर्षीय सजन तामाङविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । उनीहरुले प्रहरीको हतियार लिएर प्रदर्शन गरेका थिए ।
बयानमा भारतीय नागरिक निरज पोद्दारले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको भवनमा प्रवेश गरी भवन तोडफोड तथा ढुंगामुढा प्रहार गरेको, ढोकाको सिसा र झ्याल फुटाएको बयानमा स्वीकार गरेका छन् । प्रहरीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने क्रममा लक्ष्मण थामीसँग परिचय भएको पनि स्वीकार गरेका छन् । पोद्दार १२ वर्षअघि भारतबाट नेपालमा आई काठमाडौँ कुलेश्वरमा ज्याला मजदुरीको काम गर्दै आइरहेको बताएका छन् ।
प्रतिवादी बनाइएका लक्ष्मण थामीले भने हतियार लिएर फोटो मात्रै खिचाएको बयान दिएका छन् । उनले प्रहरी कार्यालयको भवन तोडफोड र सरकारी भवनमा आगजनीमा संलग्न भएको भने स्वीकार गरेका छन् । त्यस्तै सजन तामाङले पनि प्रहरी भवन तोडफोडमा संलग्न भएको स्वीकारेका छन् ।
यस्तै भदौ २४ को प्रदर्शनका क्रममा विशाल बजारस्थित प्रहरीवृत्त जनसेवामा प्रवेश गरी पेट्रोल बम प्रहार गरी आगजनीमा संलग्न रहेको अभियोगमा सुनसरीको इनरुवा नगरपालिका-१ का सुजल साह सोनार र भारतीय नागरिक रोहित सारवागीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । उनीहरुलाई घटनास्थलको सिसिटिभी फुटेज, घटनाको तथ्य स्थापित गर्ने घटनास्थल प्रकृति मुचुल्का र उनीहरुको बयानको आधारमा मुद्दा दर्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण