अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी
सारांश
- भोजपुरको एक युवाले खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी गर्छन्।
- उनले ४२ रोपनी जग्गामा ३२ हजार बोट खुर्सानी लगाएका छन् र चार जनालाई रोजगारी दिएका छन्।
- पौवादुङमा गाउँपालिकामा अकबरे खुर्सानी मुख्य आम्दानीको स्रोत बनेको छ र पालिकाले किसानलाई सहयोग गर्छ।
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानी खेतीबाट वार्षिक रु ५५ लाख आम्दानी गर्दै आएका छन् । आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानी खेती गरेका हुन् ।
आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए । करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानी खेती गर्दै आएका उनी जिल्लाका परिचित खुर्सानी किसान हुन् ।
‘खुर्सानी खेतीबाट वार्षिक रु ५५ देखि रु ६० लाखसम्म आम्दानी गर्छु’, किसान राईले भने, ‘४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि रु ५० लाख बढी आम्दानी भएको थियो ।’
खुर्सानी खेतीका लागि उनले वार्षिक रु दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिए । यस वर्ष खेतीका लागि करिब रु १२ लाख लगानी गरेको जनाउँदै उनले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको बताए ।
विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आएका राईले हाल चार जनालाई रोजगारीसमेत दिएका छन् । सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उनको भनाइ छ ।
पौवादुङमामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौँसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए । उनका अनुसार खुर्सानी खेती अहिले पालिकाको मुख्य आम्दानीको स्रोत बनेको छ ।
किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । ‘अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ ।’
गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुर्याउँदै आएको छ । खुर्सानी खेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब रु ७० लाख बराबरको ‘मल्चिङ प्लास्टिक’सहित आवश्यक कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार भएको उनको भनाइ छ । उनका अनुसार अहिले पौवादुङमामा करिब ५०० हेक्टर क्षेत्रमा करिब ९०० किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण