८० दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन
सारांश
- सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक ८० दिनपछि पुनः सञ्चालनमा आएको छ।
- पहिरोका कारण अवरुद्ध सडक मर्मतपछि खुलेको हो, जसले स्थानीयको दैनिक जीवन सहज बनाउनेछ।
- सडक खुलेपछि भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुनेछ।
सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो ।
लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताए ।
‘कठिन भूगोल र लगातारको वर्षाका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो’, उनले भने, ‘करिब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ ।’
सडकमा ढुङ्गा ‘सोलिङ’ र ‘ग्राभेलिङ’ कार्य सम्पन्न भइसकेको भन्दै उनले हाल एकतर्फी सवारी सञ्चालन भइरहेका जानकारी दिए । सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएका छन् ।
सडक बन्द रहँदा भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दा दैनिक उपयोग्य वस्तुको आपूर्ति, औषधि र निर्माण सामग्रीको अभावमा परेका थिए । यसअघि दैनिक आवागमनका साथै स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामासमेत पहुँच गुमाइएको स्थानीयले बताएका छन् । सडक सञ्चालनमा आएपछि खाँदबारीबाट भोटखोला, हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो अवरोधपछि सडक सञ्चालनमा आउँदा स्थानीयवासीमा खुसी छाएको बताए । ‘करिब ८० दिनपछि सडक खुलेकामा हामी अत्यन्त खुसी छौंँ’, उनले भने- ‘अब पुनः अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौँ ।’
कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो । यसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ । सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण