हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन : नेतन्याहु
सारांश
- इजरायली प्रधानमन्त्री नेतन्याहुले गाजामा हमासको निशस्त्रीकरण र असैन्यीकरण नभएसम्म द्वन्द्व अन्त्य नहुने बताए।
- युद्धविराम सम्झौता अन्तर्गत हमासले दुई इजरायली बन्धकको शव फिर्ता गर्यो, तर बाँकी शव फिर्ती प्रक्रिया ढिलो भएको छ।
- गाजामा इजरायली ट्यांक आक्रमणबाट एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने मानवीय सहायताको लागि संयुक्त राष्ट्रसंघले काम गरिरहेको छ।
गाजा सिटी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताएका छन् ।
उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले दुईजना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ ।
प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती शवहरू रेडक्रसको टोलीले ग्रहण गरी इजरायली सेनालाई हस्तान्तरण गरिएको हो । त्यसपछि ती अवशेषहरूको पहिचानका लागि इजरायल लैजाने तयारी गरिएको छ ।
युद्धविराम कार्यान्वयनमा चुनौती
युद्धविरामको पहिलो चरण कार्यान्वयन भइरहे पनि बाँकी शवहरूको फिर्ती प्रक्रिया ढिलो हुँदै गएको छ । इजरायलले राफा नाका खोल्ने निर्णय शव फिर्तीमा भएको प्रगतिसँग जोडेको छ ।
नेतन्याहुले भने- ‘युद्ध अन्त्यका लागि दोस्रो चरण पूर्णरूपमा कार्यान्वयन हुनु आवश्यक छ । यसमा हमासले हतियार छोड्नु र गाजालाई असैन्य बनाउनु अनिवार्य छ । यो प्रक्रिया सहज या जटिल जुनसुकै भए पनि, सम्पन्न गरिनेछ ।’
राफा नाका बन्द
इजरायली प्रधानमन्त्रीको कार्यालयले राफा नाका अर्को सूचना नभएसम्म बन्द नै राखिने जनाएको छ । ‘हमासले बाँकी बन्धकहरूको शव फिर्ता गर्ने र सम्झौताका अन्य बुँदाहरू कार्यान्वयन गर्ने कुराको आधारमा मात्र नाका खोल्ने निर्णय गरिनेछ,’ वक्तव्यमा उल्लेख गरिएको छ ।
हमासले भने नाका बन्द रहनुले शवको खोजी र हस्तान्तरणमा ढिलाइ गराउने भन्दै चिन्ता व्यक्त गरेको छ ।
मानवीय अवस्थाको गम्भीरता
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक टम फ्लेचर शनिबार गाजाको उत्तर क्षेत्रमा पुगेका थिए । उनले भने, ‘यस क्षेत्रमा पुगेपछि देखिएको विनाश हृदयविदारक छ । यो क्षेत्र लगभग पूर्ण रूपमा उजाड भइसकेको छ ।’
उनले बताएअनुसार, युएन र अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी ६० दिनमा दैनिक एक लाखभन्दा बढी भोजन वितरण गर्ने, स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने, बालबालिकालाई विद्यालय फर्काउने,हिउँदको लागि अस्थायी टेन्टहरू उपलब्ध गराउने योजनामा काम गरिरहेका छन् ।
हिंसा अझै जारी
गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार इजरायली ट्यांक आक्रमणबाट शाबान परिवारका ९ जना सदस्य (२ पुरुष, ३ महिला, ४ बालबालिका) को मृत्यु भएको छ । अस्पतालमा आफ्ना परिवारजनको शोकमा डुबेकी उम मोहम्मद शाबानले भनिन्, ‘मेरो छोरी, श्रीमान् र बच्चाहरू सबै मरे । तिनीहरूले के गल्ती गरेका थिए ?’
इजरायली सेनाले भने उक्त सवारी ‘सुरक्षा रेखा नजिक आएको’ भन्दै कारबाही गरिएको जनाएको छ, तर क्षतिको विस्तृत विवरण भने दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण