यमपञ्चकको दोस्रो दिन: कुकुर तिहार र नरक चतुर्दशी
सारांश
- आज यमपञ्चकको दोस्रो दिन, नेपालीहरूले कुकुरलाई पूजा गरी सम्मान व्यक्त गरे।
- कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपाल मानिन्छ, र यस दिन पूजा नगरे पाप लाग्छ भन्ने मान्यता छ।
- आज नरक चतुर्दशी पनि मनाइयो, जसमा पाप नाश र शुद्धीकरणका लागि स्नान, दीप दान, र आलसको बोट बाल्ने चलन छ।
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारको दिन सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग मार्ग प्रशस्त हुने विश्वास गरिएको छ । द्वापर युगमा पाण्डवहरू स्वर्गारोहणको क्रममा धर्मराज युधिष्ठिरलाई एक कुकुरले साथ दिई स्वर्गको ढोकासम्म पुर्याएको प्रसङ्ग पनि उल्लेख गरिएको छ, जसले कुकुरको निष्ठा र पवित्रताको प्रतीक दर्साउँछ ।
ऋग्वेदमा ‘समरा’ नामकी कुकुर आमाको कथा उल्लेख छ, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन् । त्यसैले वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजको सन्देशवाहकको रूपमा सम्मान गरिन्छ । मृत्युपर्यन्त मोक्षको द्वारमा पनि कुकुरले पहरा दिने उल्लेख ग्रन्थहरूमा पाइन्छ ।
कुकुर आज्ञाकारी, वफादार र घरको पहरेदार जनावर हो । अपराध पत्ता लगाउनेदेखि भूकम्प वा विपत्तिको पूर्व सूचना दिने क्षमतासम्मका कारण कुकुरलाई ‘भैरवको वाहन’ पनि भनिन्छ । सत्यवादी युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने सौभाग्य पाएको कुकुरप्रति कृतज्ञता र सम्मान स्वरूप वर्षमा एक पटक आजको दिन कुकुर तिहारका रूपमा मनाइन्छ ।
नरक चतुर्दशी: पाप नाश र शुद्धीकरणको प्रतीक दिवस
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन बिहानै तैलाभ्याङ्ग स्नान गर्ने विधि पुराणमा वर्णित छ । उज्यालो हुनुअघि तिलको तेल, सुगन्धित द्रव्य र चन्दन शरीरमा दलेर स्नान गर्दा नरकबाट मुक्ति प्राप्त हुने विश्वास गरिएको छ । तिलमा लक्ष्मी र जलमा गङ्गाको वास हुने भएकाले तिलयुक्त स्नानले पाप नाश हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
स्नान अघि अपमार्ग वनस्पति जलमा डुबाएर शिरमा घुमाउने चलन छ । यस क्रममा मन्त्र पढ्दै “मेरा सबै पाप हटून्” भन्ने भावनासहित निम्न मन्त्र उच्चारण गरिन्छ–
सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित ।
हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुन ॥
स्नान पछि दक्षिण दिशातर्फ फर्किएर यमराजका १४ नाम उच्चारण गर्दै तिलयुक्त जलले तर्पण गर्ने –
१. यमाय नमः २. धर्मराजाय नमः ३. मृत्यवे नमः ४. अन्तकाय नमः ५. वैवस्वताय नमः ६. कालाय नमः ७. सर्वभूताक्षाय नमः ८. औदुम्बराय नमः ९. दन्धाय नमः १०. नीलाय नमः ११. परेमेष्ठिने नमः १२. वृकोदराय नमः १३. चित्राय नमः १४. चित्रगुप्ताय नमः ।
यसरी तर्पण गरे वर्षौंदेखिका पाप नष्ट हुने विश्वास छ । आजको दिन मासको पातको साग खाने चलन छ, जसले पाप नाश गर्छ भन्ने जनश्रुति छ । साथै ‘नर्के नुहाउने’ अर्थात् शुद्धीकरण स्नान, दीप दान र आलसको बोट बालेर आगो ताप्ने प्रचलन पनि रहेको छ । यसो गर्दा आत्मा शुद्ध भई स्वर्ग प्राप्त हुने धार्मिक विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण