शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दलहरूसँग छलफलपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ’

मङ्गलबार, ०४ कात्तिक २०८२, २१ : १२
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
  • बालुवाटारमा राजनीतिक दलहरूसँगको संवादपछि प्रधानमन्त्रीले निर्वाचनमा जुट्न आह्वान गरिन्।
  • बैठकमा दलका नेताहरूले निर्वाचनको तयारी, सुरक्षा र निष्पक्षताको बारेमा सुझाव दिए।

काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएकी छन्।

मङ्गलबार बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त संवादपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आ–आफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न आह्वान समेत गरिन्।

उनले भनिन्, “आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ। निर्वाचनको आवश्यकतामा कसैको विमति छैन। सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ। आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ।”

प्रधानमन्त्रीले राजनीतिक दलहरूबिच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न संवादलाई पहिलो महत्त्वपूर्ण कदमका रूपमा लिएको बताइन्।

उनले भनिन्, “हाम्रो आमन्त्रणलाई स्वीकार गरी संवादमा उपस्थित सबै नेतागण तथा पर्यवेक्षकप्रति आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमलाई महत्त्वका साथ जनतासम्म पुर्‍याउन भूमिका खेल्ने सञ्चारकर्मी मित्रहरूलाई पनि धन्यवाद।”

संवादमा एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्तलगायत दलका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा दलका नेताहरूले आगामी निर्वाचनका तयारी, सुरक्षा व्यवस्था र निष्पक्षताबारे सरकारसँग सुझाव र चासो राखेका थिए।

प्रधानमन्त्री कार्कीले सबै दलका सुझावहरूलाई सरकारका नीति तथा कार्य योजनामा समावेश गर्दै निर्वाचनलाई राष्ट्रिय साझा जिम्मेवारीका रूपमा अगाडि बढाइने बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप