सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एपेक शिखर सम्मेलनअघि उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

बुधबार, ०५ कात्तिक २०८२, १५ : ५६
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • उत्तर कोरियाले एपेक शिखर सम्मेलनको समयमा छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रहार गर्यो।
  • दक्षिण कोरियाको सेनाका अनुसार, मिसाइलहरू पूर्वी सागरमा प्रहार गरिएको थियो र करिब ३५० किलोमिटरको दूरीमा उडेको थियो।
  • दक्षिण कोरियाले थप प्रक्षेपणको सम्भावनालाई मध्यनजर गर्दै अमेरिका र जापानसँग समन्वय गरिरहेको छ।

सोल । दक्षिण कोरियामा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन हुन गइरहेको बेला उत्तर कोरियाले महिनौँपछि पहिलो पटक छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार बुधबार बिहानै यी मिसाइलहरू प्रहार गरिएका हुन् । 

विज्ञहरूले एपेक सम्मेलनलाई लक्षित गरी उत्तर कोरियाबाट थप मिसाइल परीक्षण हुन सक्ने चेतावनी दिएका छन् । मिसाइल प्रहार चिनियाँ राष्ट्रपति सी जिनपिङ, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरू दक्षिण कोरियाको ग्योङजु सहरमा एपेक शिखर सम्मेलनका लागि भेला हुनुभन्दा एक हप्ताअघि भएको हो ।

दक्षिण कोरियाको सेनाले 'छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू' मानिएका धेरै क्षेप्यास्त्रहरू पूर्वी सागरको दिशामा प्रहार भएको पत्ता लगाएको आधिकारिक दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ ।

दक्षिण कोरियाको सेनाले पछि मिसाइलहरू करिब ३५० किलोमिटरको दूरीमा उडेको र ती समुद्रमा नखसी जमिनभित्रै खसेको देखिएको बताएको छ ।

योन्हापका अनुसार दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले 'थप प्रक्षेपणको सम्भावनालाई ध्यानमा राखी हाम्रो सेनाले निगरानी बढाएको छ र अमेरिका तथा जापानसँग सम्बन्धित जानकारी आदानप्रदान गर्दै दृढ तयारीको अवस्था कायम राखेको छ' भनेको छ ।

उत्तर कोरियाले यसअघि पाँच महिनाअघि अर्थात् मे ८ र मे २२ मा पूर्वी सागरतर्फ छोटो दूरीका ब्यालेस्टिक र क्रुज मिसाइल प्रहार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप