आँबुखैरेनीका महिलाले बेचे ७ लाखको सयपत्री
सारांश
- आँबुखैरेनी गाउँपालिकाका महिला लघु उद्यमी समूहले यस वर्ष ७ लाखको सयपत्री फूल बिक्री गरेका छन्।
- समूहले दुई हप्तामा २ हजार किलो फूल बिक्री गर्यो, प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा।
- बाँकी फूल छिम्केश्वरी बूढीदेवी महायज्ञ र एकादशी पर्वका लागि प्रयोग गरिनेछ।
तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यस वर्ष रु ७ लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रूपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु ७ लाख बराबरको सयपत्री बिक्री गरेका हुन् ।
गत असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल बिक्री भएको समूहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । यस अवधिमा करिब दुई हजार किलो सयपत्री फूल बिक्री भएको छ । प्रतिकिलो रु ३५० देखि रु चार सयसम्म फूल बिक्री भएको उनले बताइन् ।
फूल बिक्रीका लागि बजारको समस्या नभएको बताउँदै गुरुङले यहाँ उत्पादित फूल आँबुखैरेनी, दमौली, डुम्रे, पोखरा, मुग्लिन, नारायणगढसम्म पुगेको उल्लेख गरिन् । उनले भनिन्, ‘पहिलो र दोस्रो चरणको टिपाइबाट दुई हप्ताको अवधिमा रु सात लाख बराबरको फूल बिक्री गर्न सफल भयौँ । फूलले बजार पाउँदा झनै उत्साहित छौँ ।’
बारीमा अझै पनि सयपत्री फूल बाँकी रहेको र उक्त फूलहरू आँबुखैरेनीमा शनिवारदेखि एक सातासम्म हुने महायज्ञमा प्रयोग गरिने उनको भनाइ छ । उनले भनिन्, ‘तेस्रो र चौथो चरणको टिपाइ छिम्केश्वरी बूढीदेवी महायज्ञ र एकादशी पर्वका लागि बिक्री गरिनेछ ।’
पहिलो चरणको टिपाइबाट एक हजार फूलको माला बनाएर दश दिनसम्म चिस्यान केन्द्रमा राखी माग उच्च भएका बेला बिक्री गरिएको थियो । उनले भनिन्, ‘यस वर्ष चाँडै फूल फलेकाले चिस्यान केन्द्रमा राखेर जुनबेला माग उच्च हुन्छ त्यही बेला बिक्री गर्ने व्यवस्था मिलाएका थियौँ ।’
यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूल खेती गरेका थिए । यो वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्याएको अध्यक्ष गुरुङले बताइन् । समूहमा ४५ जना महिला आबद्ध छन् ।
बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रूपमा फूल खेती लागिरहेको उनको भनाइ छ । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले उल्लेख गरिन् ।
गत वर्ष कतारसमेत फूल निर्यात भए पनि यस वर्ष स्थानीय स्तरमै माग बढी भएकाले विदेश पठाउन नसकिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूल खेतीका लागि आवश्यक सीपसमेत सिकाएको उनको भनाइ छ । उनले भने, ‘फूल खेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलालाई प्रदान गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण