नहाय–खाय विधि सम्पन्नः मिथिलाञ्चलमा छठ पर्वको औपचारिक सुरुवात
जनकपुरधाम । आस्था, निष्ठा र आत्मसंयमको प्रतीक छठ पर्व आज मिथिलाञ्चलभर ‘नहाय–खाय’ विधिसँग सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीका दिन ब्रतालुहरूले बिहानै पवित्र स्नान गरी हात–गोडाका नङ काटी चोखो–नितो भएर अरवा चामलको भात तथा अरवाइन खाई ब्रतको संकल्प गरेका छन् ।
मिथिलाञ्चलका घर–घरमा आज विशेष सरसफाइ गरी शुद्धतासहित ब्रतालुहरूले नहाय–खाय सम्पन्न गरेपछि छठ पर्वको औपचारिक सुरुवात भएको हो ।
भोलि कार्तिक शुक्ल पञ्चमीका दिन ब्रतालुहरू दिनभर निराहार रही साँझमा सक्खर हालेर पकाइएको अरवा चामलको खिर इष्टदेवलाई अर्पण गरी परिवारसहित प्रसादस्वरूप ग्रहण गर्ने परम्परा छ, जसलाई ‘खरना’ भनिन्छ ।
तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने यो महान् पर्वको विधिवत् समापन हुनेछ । जनकपुरधाम, जलेश्वर, सिरहा, रौतहट, बर्दिवासलगायत क्षेत्रमा पोखरी र घाटहरूमा सरसफाइ तथा सजावटको काम तीव्र रूपमा भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण