बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

सोमबार, १० कात्तिक २०८२, १४ : ५५
सोमबार, १० कात्तिक २०८२

सारांश

  • ऊर्जा मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सभामा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन्।
  • सभामा सौर्य ऊर्जा प्रवद्र्धन, जलवायु परिवर्तन न्यूनीकरण लगायतका विषयमा छलफल हुनेछ।
  • नेपालले स्वच्छ ऊर्जाको पहुँच बढाउन अन्तर्राष्ट्रिय सहकार्य गर्ने उद्देश्यले भाग लिएको हो।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा १०—१३ कात्तिकमा  हुनेछ ।

आइएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालकोतर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा  विश्व अन्तरआवद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य÷विशेष सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । 

सन् २०१५को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जाको अभिबृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्य राखी आइएसए सम्बन्धी पेरिस घोषणा जारी भएको थियो ।

सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न र भविश्यमा प्रयोग हुने प्रविधि अनुकूल मार्ग निर्देश गर्नेलगायतका काम गर्न आइएसए स्थापना भएको थियो ।

आइएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आवद्ध भएको थियो । महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप