शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भदौ २४ गते आगजनी र लुटपाटमा संलग्नलाई कुनै हालतमा छाड्दैनौँ – कास्की प्रहरी

आगजनी र तोडफोड गर्ने आपराधिक पृष्ठभूमिकै
मङ्गलबार, ११ कात्तिक २०८२, १९ : २०
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • पोखरामा प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुग्यो र प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भयो।
  • कास्कीका कारागारबाट भागेका कैदीबन्दी र थुनुवामध्ये केही अझै फरार छन्, जसले शान्ति सुरक्षामा चुनौती थपेका छन्।
  • प्रहरीले आगजनी, तोडफोड र लुटपाटमा संलग्न १८ जनालाई पक्राउ गरेको छ र 'अपराधिक उपद्रव' मुद्दा चलाएको छ।

पोखरा । जेनजी प्रदर्शनका क्रममा पोखरामा पनि व्यापका क्षति भयो । पोखराका सरकारीदेखि निजी सम्पत्तिहरू तोडफोड र आगजनी गरिए । कास्कीका २७ वटा प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड भएका छन् । कास्कीभरिको शान्ति सुरक्षामा चुनौती अझै कायम छ । 

चार दर्जनभन्दा बढी सानाठुला हतियार प्रहरी कार्यालयबाट चोरी भएका छन् । यद्यपि दुई दर्जनजति बरामद भइसकेका प्रहरीले जनाएको छ । तथापि, बाहिर रहेका हातहतियारले कास्कीको शान्ति सुरक्षामा सबैभन्दा बढी ‘थ्रेट’ हुन सक्ने भन्दै विशेष अभियान नै चलाइएको छ ।

कास्कीबाट कारागारमा रहेका ७ सय ७३ कैदीबन्दी र डेढसय भन्दा बढी थुनुवा भागेका थिए । अझै २ सय जना कैदीबन्दी र ३० भन्दा बढी थुनुवा फरार छन् । 

जटिल परिस्थितिका बीचबाट पनि प्रहरी पुरानै अवस्थामा फर्किएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए । ‘हाम्रा प्रहरी कार्यालयहरू नागरिकको सहभागितामा पुनः निर्माण र मर्मत भइसकेका छन् । हामी लगभग पुरानै अवस्थामा आइपुगेका छौं,’ उनले भने । 

प्रहरी २३ र २४ गतेको आन्दोलनकारी र घुसपैठ गरी तोडफोड र आगजनी गर्नेहरूको खोजीमा सक्रिय छ । विशेष फोर्स बनाएर उनीहरूलाई पक्राउ गर्ने काम भइरहेको कार्कीले सुनाए ।

आगजनी र तोडफोड गर्ने आपराधिक पृष्ठभूमिकै

भदौ २४ गते लुटपाट, चोरी, आगजनी र तोडफोडमा संलग्नहरूको खोजी तीव्र पारिएको कार्कीले बताए । उनका अनुसार आन्दोलनको नाममा तोडफोड र आगजनी गर्नेहरू अधिकांश आपराधिक पृष्ठभूमिकै भएको पाइएको छ । ‘२४ गतेको लेट आवर पछाडि सुरु भएको तोडफोड र लुटपाटमा आन्दोलनकारीको संलग्नता थिएन । विभिन्न ठाउँको फोटो भिडियो हेर्दा विगतमा आपराधिक पृष्ठभूमि भएका, लागुऔषध प्रयोग गरेका र प्रहरीको रेकर्डमा परेका व्यक्तिहरू नै संलग्न भएको देखिन्छ,’ उनले भने । 

प्रहरी कार्यालय आगजनी र तोडफोड गर्नेहरू सबैजसो पटके अपराधमा पक्राउ परेका र कारागारसँगै हिरासतबाट भागेकाहरू छन् । अन्य सरकारी र निजी सम्पत्तिको लुटपाट गर्ने र तोडफोडसँगै आगजनी गर्नेहरूको पनि प्रारम्भिक अनुसन्धानबाट अधिकांश पहिले नै अपराधमा संलग्न भएकाहरू भएको देखिएको छ ।

कैदीबन्दी नै बढी ‘थ्रेट’

फरार भएका कैदीबन्दीमध्ये धेरैजसो स्वःस्फूर्त कारागार र हिरासतमा फर्किएका छन् । ८५ जनालाई प्रहरीले पक्राउ गरेर कारागारमा बुझाएको छ । ३० जनाभन्दा बढी थुनुवा पनि प्रहरीले पक्राउ गरिसकेको छ । 
यद्यपि, अझै पनि दुई सयभन्दा बढी कैदीबन्दी नियन्त्रणबाहिर रहेका कास्की प्रहरीले जनाएको छ । शान्ति सुरक्षामा उनीहरू नै बढी ‘थ्रेट’ हुन सक्ने भन्दै प्रहरीले जतिसक्दो छिटो पक्राउ गर्ने अभियान चलाएको एसपी कार्कीले जानकारी दिए । 

लुटिएका हातहतियारमध्ये दुई दर्जनभन्दा बढी हतियार फिर्ता भइसकेका छन् । तर, अझै पनि दुई दर्जनको हाराहारीमा ठुला तथा साना हतियार हराइरहेका छन् । हराएका केही हतियार आगजनीमा जलेको हुनसक्ने अनुमान छ । कैदीबन्दी र थुनुवासँगै लुटिएका हतियार सबैभन्दा बढी टाउको दुखाइ बनेको छ । प्रहरीले आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न भएको आरोपमा हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ । 

उनीहरूलाई मुलुकी अपराध संहिताअनुसार ‘आपराधिक उपद्रव’ मुद्दा चलाइएको छ । सरकारी कार्यालय जलाउने र तोडफोड तथा लुटपाट गर्नेहरू विरुद्ध अहिले जाहेरी पर्ने क्रम जारी छ, निजी सम्पत्तिका धनीहरूले पनि जाहेरी दिइरहेका छन् । 

प्रहरीले सबैतिरको फोटो र भिडियोलाई प्रमाणका रूपमा संकलन गरेर अनुसन्धान अघि बढाएको कार्कीको भनाइ छ । ‘फोटो भिडियो संकलन गरिरहेका छौँ । त्यसलाई विश्लेषण गरेर दोषी देखिए मात्रै पक्राउ गरिएको छ,’ उनले भने, ‘विल्कुल आन्दोलन मात्रै गरेकाहरूलाई हामीले पक्राउ गरेका छैनौं । तर नियतवश तोडफोड र आगजनी गर्नेहरूलाई क्रमैसँग पक्राउ गर्दै जानेछौं ।’ 

अपराध गर्नेहरूले कुनै पनि हालतमा उन्मुक्ति नपाउने उनको दाबी छ ।

अपरेसन ‘३६५’

आन्दोलनपछि मोडिफाइड गरेर ठुलो आवाजमा पड्काउँदै कुदाउने मोटरसाइकल नियन्त्रणका लागि विशेष अभियान चलाइएको छ । असोज २७ गतेदेखि ‘अपरेसन ३६५’ सुरु गरिएकोमा हालसम्म १ सय ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइसकिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

पक्राउ परेकामध्ये २८ जनालाई मुद्दा चलाइएको छ भने १६ जनालाई आफन्तको जिम्मा लगाएर पठाएको छ । प्रहरीले यस्ता मोटरसाइकल चालकबाट १५ हजारसम्म जरिवाना लिएको छ भने साइलेन्सर पुरानै अवस्थामा फर्काएर छोडेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप