‘मोन्था’ चक्रवातले नेपालका २६ जिल्लामा प्रभाव पार्ने : भारी वर्षा र हिमपातको चेतावनी
सारांश
- राष्ट्रिय विपद् प्राधिकरणले चक्रवात 'मोन्था'का कारण नेपालको मौसममा असर पर्ने जनाएको छ।
- चक्रवातको प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्ने र भारी वर्षाको सम्भावना रहेको छ।
- प्राधिकरणले सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यो प्रणालीको प्रभाव कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ।
चक्रवात 'मोन्था'को सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ। मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
प्रभावित हुने प्रदेश र जिल्लाहरू:

हिमपात र नदीको बहावमा वृद्धि
- हिमपात: कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
- भारी हिमपात: कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ।
- नदी बहाव: उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। कोशी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको छ।
जोखिम र पूर्वतयारीका लागि अनुरोध
सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसैले, प्राधिकरणले सबै सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ:
- यात्रा नगर्ने: अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्नु।
- सुरक्षित स्थानको जानकारी: डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो र सुरक्षित स्थानबारे जानकारी लिनु र अरूलाई पनि जानकारी दिनु। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जानु।
- सतर्कता: प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्नु। जोखिम देखिए सुरक्षित स्थानमा सर्नु।
- बाली भित्र्याउने: धान तथा अन्य बाली नकाट्नु, काटेको भए तत्काल भित्र्याउनु।
- सवारी आवागमन: प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमनबारे निर्णय गर्नु र सोको पालना गर्नु गराउनु।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्यसैगरी, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण