बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

कांग्रेस जीवनको ‘जीवात्मा’

मङ्सिरभित्रै पार्टीको १५औँ महाधिवेशन गर्नैपर्छ, दाँयाबाँया गर्ने छुट छैन
बुधबार, १२ कात्तिक २०८२, १० : ०८
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • पर्वहरूमा खुसी नआएको र देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ।
  • नेपाली कांग्रेसले देशलाई सही निकास दिन नेतृत्व लिनुपर्ने र महाधिवेशन गर्नुपर्ने कुरालाई जोड दिइएको छ।
  • कांग्रेसले इतिहासको जिम्मेवारी पूरा गर्न पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने कुरा उल्लेख छ।

इतिहासकै सबैभन्दा नमिठो नियतिले हामीलाई पछ्याइरहेको समय हो यो । यो कठिन, भयानक अनि अन्योल र अनिश्चितताबिच नेपालीले ठुला पर्वहरूलाई बिदाइ गरेका छन् । दसैँ, तिहार अनि छठजस्ता पर्वहरू हाम्रा घर आँगनमा एक प्रकारले छुट्टै प्रकारका भाव बोकेर आउँछन् । तर यसपालि भने धेरै नेपालीको घर आँगन पर्वको उज्यालोले उज्यालिन पाएन । 

सबैजसो नेपालीका आँखा राम्रोसँग ओभाउन पाएकै छैनन् । तथापि उमङ्ग, उत्साह अनि सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा यी पर्वहरूले नेपालीलाई एक आपसमा निकै गहिरोसँग बाँध्दै आएको छ । यही एउटा सामाजिक बन्धन हो, जसले हाम्रो राष्ट्रिय एकतालाई वर्षौँदेखि बलियो बनाउँदै आएको छ । 

जे नहुनु थियो, त्यो भदौ २३ र २४ मा भइसकेको छ । नवपुस्ताले साँच्चिकै सच्चा भावले थालेको विद्रोहको आगो अरू कसैले ‘आगजनी’मा प्रयोग गर्‍यो । 

खरानी टक्टक्याएर अघि बढ्नु नै बुद्धिमत्ता हुनेछ । नहुनुपर्ने धेरै कुरा भएको छ । त्यसको व्याख्या विश्लेषण गर्दै फगत तर्क–वितर्क गर्नुभन्दा पनि अब समयको मागअनुसार अघि बढ्नु नै अहिलेको सही बाटो हुनसक्छ ।

२३ र २४ गते जेजस्ता गतिविधि भए, ती भित्रका रहस्यका पर्दाहरू समयले उघार्दै जानेछ । तथापि यी दुई दिनका घटनाहरू फरक–फरक छन् । २३ गते नवपुस्ता (जेनजी) ले सुरु गरेको विद्रोहपछि २४ गते जे भयो ती सबलाई हामीले एउटै नजरले हेर्‍यौँ भने साँच्चिकै नवविद्रोहको भावना अवमूल्यन हुनेछ । त्यसैले ती घटनाहरूलाई फरक फरक दृष्टिकोणबाट हेरिनुपर्छ । 

जे भयो त्यो नराम्रो भयो । तर जे भयो भइसक्यो, अब फेरि त्यही खरानी खोतलेर कसैलाई सत्तोसराप गर्नुको कुनै अर्थ छैन । बरु त्यही खरानीलाई टक्टक्याएर अघि बढ्नु नै बुद्धिमत्ता हुनेछ । नहुनुपर्ने धेरै कुरा भएको छ । त्यसको व्याख्या विश्लेषण गर्दै फगत तर्क–वितर्क गर्नुभन्दा पनि अब समयको मागअनुसार अघि बढ्नु नै अहिलेको सही बाटो हुनसक्छ । 

त्यो समयको माग वा अहिलेको भावना भनेको राष्ट्रलाई सही निकास दिने सही नेतृत्वको आवश्यकता हो । र, त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्छ । किनकि नेपाली राजनीतिको आधुनिक इतिहास नै नेपाली कांग्रेसको जगबाटै बसिआएको हो । वा भनौँ आधुनिक नेपाली राजनीतिक इतिहासका पानाहरू नेपाली कांग्रेसबाटै सुरु भएका छन् । 

इतिहासले दिएको यो जिम्मेवारीबाट नेपाली कांग्रेस कहिल्यै वा कुनै पनि बहानामा भाग्न पाउँदैन । भाग्ने वा टाढिने छुट पनि छैन । त्यसका लागि नेपाली कांग्रेसले तत्कालै परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिएर नेतृत्व, मध्यस्थता र निकासको अभिभावकीय भूमिकामा जानुपर्छ । 

जेनजी पुस्ताको विद्रोहपछि बिथोलिएको परिस्थितिमा सम्हालिँदै नेपाली कांग्रेस अहिले पार्टीको आन्तरिक मन्थनमा जुटेको छ । अर्थात् नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । ठुला पर्वहरू सकिएका छन् । सङ्क्रमणकालीन नै सही देश लय समाउने प्रयत्नमा छ । 

नेपाली कांग्रेसका नाममा इतिहासका पानाहरू मात्रै भरिएका छैनन्, ती अक्षर अनि शब्दहरूमा मात्रै भरिएका छैनन् । बरु युगीन र समयानुकूल जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा छन् । काँधको यो गहन जिम्मेवारी पार गरेमात्रै नेपाली कांग्रेसले देशको त्यो इतिहासलाई न्याय गर्न सक्छ । राष्ट्र, जनता र पार्टीबारे एउटा निष्कर्षमा पुग्नका लागि यतिबेला नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ । नेपाली कांग्रेसमा आफैमा एउटा ‘मास बेस्ड’ पार्टी हो । 

इतिहासले सुम्पिएको जिम्मेवारी पुरा गर्नका लागि पहिले नेतृत्व सक्षम हुनुपर्‍यो । इच्छाशक्ति देखाउनुपर्‍यो । त्यो भनेको आफैभित्रको विनिर्माण हो । अर्थात् नवीकरणीय बिम्ब अनि त्यसको इच्छाशक्तिले मात्रै अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन सकिन्छ ।

लोकतन्त्र, राष्ट्र, राष्ट्रियता अनि समाजवादको मान्यताबाट आदर्शित यो पार्टीको अहिलेको जिम्मेवारी भनेको त्यही लोकतन्त्रको भाव रक्षानिम्ति आफू नेतृत्वमा होमिनु हो । त्यसका लागि पहिला पार्टी नेतृत्व सक्षम हुनुपर्‍यो । इच्छाशक्ति देखाउनुपर्‍यो । त्यो भनेको पहिला विनिर्माण हो । अर्थात् पार्टी नेतृत्वको नवीकरणीय बिम्ब अनि त्यसको इच्छाशक्तिले मात्रै अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन सकिन्छ । त्यो भनेको पहिला पार्टी नेतृत्वको नवीन बिम्ब आम जनताले देख्न पाउनुपर्छ ।

त्यसका निम्ति पार्टीको महाधिवेशन जरुरी छ । यो भनेको पार्टी जीवनको एक नवीन अक्सिजन पनि हो । अर्थात् पार्टीको आन्तरिक लोकतन्त्रको प्राण भनेकै महाधिवेशन हो । हामी आफैले मन्थन गरेरै हाम्रो पार्टीको विधानमा लेखेका हौँ, ‘पार्टीको केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुनेछ ।’ यो भनेको यही आउँदो मङ्सिरभित्रै पार्टीको १५औँ महाधिवेशन गर्नैपर्छ । त्यसमा दाँयाबाँया गर्ने छुट छँदै छैन । 

नेतृत्वको नियतमा तलमाथि नभएको भए वा साधारण अवस्थामा यो मङ्सिरमा महाधिवेशन त हुनुपर्ने हो । त्यसमा पनि अहिले त समयले नै हामीलाई यसरी धकेलिदिएको छ कि या हामीले हाम्फाल्नैपर्छ, या त खस्नैपर्छ । अर्थात् पछारिनै पर्छ । हामीले इतिहासमाथि दाबी गरिरहेका छौँ । नेपालको आधुनिक राजनीतिक इतिहास या त नेपाली कांग्रेसका कारण लेखिएको छ या त्यो इतिहासबाटै नेपाली कांग्रेस जन्मिएको छ । 

कांग्रेसलाई समयले जबर्जस्ती बोकाइदिएको जिम्मेवारीको एउटा त्यस्तो भारी छ, जसलाई हामीले पार गराएनौँ भने त्यही भारीले हामी थिचिनेछौँ । फेरि कहिल्यै नउठ्ने गरी । अनि इतिहासको त्यो भारीले सिङ्गो देशलाई नै थिच्नेछ, फेरि कहिल्यै अस्तित्वमा नभेटिने गरी । 

त्यसैले इतिहासको निर्माण, विनिर्माण र त्यसको फट्के किनारामा कतै न कतै नेपाली कांग्रेसको हस्ताक्षर कुँदिएकै हुन्छ । नत्र त्यो इतिहास आफैमा अपुरो हुन्छ । यो समय पनि एउटा त्यस्तै नियतिबाट गुज्रिएको एउटा समय हो । यो समयले हामीलाई देशको नेतृत्व गर्न भनिरहेको छ । इतिहासका यी अवयवहरूले पनि नेपाली कांग्रेसलाई जिम्मेवारीबाट भाग्ने छुट दिँदैन । 

त्यो जिम्मेवारी भनेको पहिलो त यो सङ्क्रमण र संशयबाट देशलाई निकास दिनु हो । र त्यसका लागि सबैभन्दा पहिला पार्टीको नवनिर्माण हो । अर्थात् अहिलेको अवस्थालाई अभिभावकीय भूमिकाद्वारा निकासको द्वार पार गराउनु नै हो । त्यसको एउटा अनिवार्य सर्त हो– कुनै पनि हालतमा मङ्सिरमा पार्टीको महाधिवेशन र आगामी फागुन २१मा प्रतिनिधिसभाको निर्वाचन । परिस्थितिले हामीलाई अर्को विकल्पका बारेमा सोच्ने वा मन्थन गर्ने छुट दिएको छैन ।

जबरजस्ती हामी फेरि अर्को बाटोमा लाग्यौँ भने नेपाली कांग्रेसको क्षयीकरण कसैले रोकेर रोकिनेवाला छैन । वा त्यो रोक्ने क्षमता कसैमा छैन । यो भनेको कांग्रेसलाई समयले जर्बजस्ती बोकाइदिएको जिम्मेवारीको एउटा त्यस्तो भारी छ, जसलाई हामीले पार गराएनौँ भने त्यही भारीले हामी थिचिनेछौँ । फेरि कहिल्यै नउठ्ने गरी । अनि इतिहासको त्यो भारीले सिङ्गो देशलाई नै थिच्नेछ, फेरि कहिल्यै अस्तित्वमा नभेटिने गरी ।

अहिले अवस्था, व्यवस्था र परिस्थितिको आधाउधि जिम्मेवार हामी हौँ । हामी पानीमाथिको ओभानु बन्न सुहाउँदैन । बरु परिआएमा हामीले आम नेपाली नागरिकसँग क्षमा याचना गर्नैपर्छ । त्यही नै हाम्रा लागि प्रायश्चित हुनेछ ।

त्यसैले यो बेला हामीले यो वा त्यो बहाना खोज्न थाल्यौँ भने हाम्रा केही लाख सदस्य वा पार्टी कार्यकर्ताहरू माथि मात्रै होइन सिङ्गो राष्ट्रप्रति नै धोखाधडी हुनेछ । नेपाली कांग्रेसको रगतका हरेक कणहरूमै राष्ट्र अनि राष्ट्रियता गढेको छ । नागरिकको लोकतान्त्रिक अधिकारका विपरीत नेपाली कांग्रेसले कहिल्यै कुनै सम्झौता गर्दैन । यो उसको ऐतिहासिक ‘वसुल’ पनि हो ।

जहाँसम्म अहिलेको परिस्थितिको कुरा छ, यसले त झन् नेपाली कांग्रेसलाई अधिवेशनको बाध्यात्मक अवस्था सिर्जना गरेकै हो । ‘देश, काल र परिस्थिति’ भन्ने त हाम्रो सामाजिक उक्ति नै छ । यो एउटा नियति बनेर खडा छ हाम्रा अघिल्तिर । यसलाई न त नाघेर अघि बढ्ने स्थिति छ । न अरू अस्त्र चालु गर्ने परिस्थिति छ । देशकै हालतले हामीलाई त्यसो गर्ने छुट पनि दिएको छैन । 

एक प्रकारले हामीले आत्मस्वीकारोक्ति गर्नैपर्छ कि यसको जिम्मेवार हामी नै हौँ । हामीले हाम्रा जिम्मेवारी, हाम्रो मूल्य अनि मान्यताहरूलाई आत्मसात् गर्दै आएका थियौँ भने यो परिस्थिति आउने नै थिएन । 

त्यसैले अहिले जुन अवस्था, व्यवस्था र परिस्थितिलाई सिङ्गो राष्ट्रले भोगिरहेको छ, त्यसको आधाउधि जिम्मेवार हामी हौँ । यसमा हामी पानीमाथिको ओभानु बन्न सुहाउँदैन । त्यसका लागि नेपाली कांग्रेस नतमस्तक हुनैपर्छ अनि परिआएको परिस्थितिमा हामीले आम नेपाली नागरिकसँग क्षमायाचना गर्नैपर्छ । त्यही नै हाम्रा लागि सच्चा प्रायश्चित पनि हुनेछ । 

यो सब कुरालाई स्वीकार गर्दै, आत्मसात् अनि आत्मालोचना गर्दै अब नेपाली कांग्रेस १५औँ महाधिवेशनमा होमिँदैछ । नाइँ–नास्तिको कुरै छैन । जब नियमित १५औँ महाधिवेशन हुँदैन अनि ‘विशेष महाधिवेशन’ को विकल्प हाम्रै अघि छ । सब कुरालाई नकार्न सकिँदैन । त्यो साध्य पनि हुँदैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यतिबेला कार्यवाहक जिम्मेवारी दिएर आफू अभिभावकीय जिम्मेवारीमा रहेको सङ्केत गरिसक्नु भएको छ । 

नेपाली कांग्रेसको पार्टी जीवनमा ‘कार्यवाहक’ भनेको आफैमा सङ्क्रमणकालीन वा नेतृत्व हस्तान्तरणको सङ्केतका रूपमा ऐतिहासिक अनुबन्धन छ । त्यस हिसाबले पनि उहाँको आत्मसम्मान वा उहाँको यो उदारताका लागि अहिले जसको काँधमा त्यो (कार्यवाहक) को जिम्मेवारी आएको छ । उसैगरी निकासको मार्ग प्रशस्त गर्नु भन्ने पनि हो । 

किनकि, सुवर्णशमशेरदेखि, बीपी र किशुनजी हुँदै जीपी (गिरिजाप्रसाद), हालका राष्ट्रपति रामचन्द्र पौडेल र सुशील कोइरालासम्म आइपुग्दा नेपाली कांग्रेसले जुन ‘लिखत’ कायम गरेको छ, त्यसको भावना, स्वभाविकता र पार्टीको ‘उदार’ सिद्धान्तलाई आत्मसात् गर्दै अब नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा घनिभूत रूपले लाग्नुपर्छ । 

‘भैपरि’ आएको यो राष्ट्रिय जिम्मेवारीबाट भाग्ने वा राष्ट्रिय प्राथमिकतालाई दोस्रो सूचीमा साँच्ने कमजोरी नेपाली कांग्रेसले नगरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शोभाकर पराजुली
डा. शोभाकर पराजुली
लेखकबाट थप