शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

'अबको राजनीतिक निकास' विषयक विचार–विमर्श

बुधबार, १२ कात्तिक २०८२, २० : २९
बुधबार, १२ कात्तिक २०८२

काठमाडौं । नयाँ पुस्ताका तीन राजनीतिक अगुवा डा. तोसिमा कार्की, मानुषि यमि भट्टराई र रन्जु दर्शनाको संयुक्त आयोजनामा'अबको राजनीतिक निकास' शीर्षकमा मंगलबार विचार–विमर्श कार्यक्रम बालुवाटारमा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाजका प्रतिनिधि तथा बुद्धिजीवीहरूले सहभागी भएर हालको राजनीतिक अवस्थाबारे गहिरो छलफल गरेका थिए।

जेनजी क्रान्तिपछिको नेपालको राजनीतिक परिवेशमा यथास्थितिवादले स्थान नपाउने स्पष्ट सन्देश कार्यक्रमले दिएको छ।

डा. कार्कीले नयाँ पुस्ताले अब विकल्पकाे नभई मूलधारको राजनीति गर्ने दायित्वका साथ अघि बढ्न जरुरी रहेकाे बताइन् । 

वक्ता र सहभागीहरूले पछिल्ला वर्षमा नागरिकहरूमा बढ्दै गएको निराशा, वितृष्णा र असन्तोषको कारण खोज्दै चमत्कारिक नेतृत्वको प्रतीक्षा गर्नु समाधान होइन भन्ने मत राखे।

उनीहरूले सशक्त नागरिक चेतना, सुशासन, र पारदर्शी राजनीतिबाट मात्र देशमा स्थायित्व र समृद्धि सम्भव हुने धारणा व्यक्त गरे।

भदाै २३ र २४ काे घटनाबारे पनि छलफलमा भएको थियो। सहभागीहरूले भदाै २३ गतेको शान्तिपूर्ण आन्दोलनलाई सुसंस्कृत राजनीति र सुशासनको आवाजका रूपमा लिए भने भोलिपल्ट भएका तोडफोड, आगजनीजस्ता घटनाको दोष सम्पूर्ण रूपमा जेनजी आन्दोलनका सहभागीहरूलाई मात्र नदिन आग्रह गरे।

साथै भदाै २३ गते सरकारको दमनकारी र अपराधिक व्यवहारबारे अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत गरिएको थियो।

कार्यक्रममा आसन्न निर्वाचनको तयारी, जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई सफल बनाउन सबै पक्षले भूमिका निर्वाह गर्नुपर्ने, र २०७२ सालको संविधानको मर्मलाई सम्मान गर्दै आवश्यक संशोधनबारे संवाद गर्नुपर्ने विषयमा पनि सुझावहरू प्रस्तुत गरिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप