शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
इजरायली नागरिकका पीडा

इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए

शनिबार, ०६ असार २०८३, २२ : ०९
शनिबार, ०६ असार २०८३

सारांश

  • इजरायली नागरिकहरू इरान र अमेरिकाबीचको युद्धविराम सम्झौताबाट निराश छन्, यसलाई इजरायलका लागि खराब भन्दै राष्ट्रपति ट्रम्पले धोका दिएको महसुस गर्छन् ।
  • धेरै इजरायलीहरू इरानसँगको सम्झौतालाई विश्वासघात मान्छन् र यसले हिजबुल्लाह विरुद्ध कारबाही गर्ने इजरायलको क्षमतालाई सीमित पार्ने डर छ ।
  • आगामी चुनाव नजिकिँदै गर्दा, इजरायली समाज विभाजित छ, तर केही विश्लेषकहरू नेतान्याहुले अझै पनि आफ्ना प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सक्ने विश्वास गर्छन् ।

रेहोभोटको हर्जल स्ट्रिट नजिक रहेको ट्री ब्रासेरीमा प्रायः सबैजना केही कुरामा सहमत देखिन्थे । केही दिनअघि इरान र अमेरिकाबिच भएको युद्धविराम सम्झौता इजरायलका लागि अत्यन्त खराब रहेकोमा सबैको सहमत थियो । ५५ वर्षीय एभी पेरेजले भने, ‘हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए ।’ 

अर्को कुरामामा पनि उनीहरूसहमत थिए । त्यो हो, इजरायल पहिलेभन्दा अझ बढी खतराले घेरिएको छ र ती खतराहरूको सामना अब उसले एक्लै गर्नुपर्नेछ । ३५ वर्षीय शाहाम नोविक भन्छन्, ‘यो अचम्म छ । एक दिन अघि हामी आफ्ना बालबालिकासँग बमबाट बच्न बमकरमा आश्रित थियौँ । र, अर्को दिन सबै कुरा सामान्य भएको जस्तो मान्न लगाइएको छ । तर केही पनि समाधान भएको छैन ।’

तेल अभिभबाट १२ माइल टाढाको रेहोभोट मुख्य सडकहरूमा इजरायली र यसका गौरवका झण्डाहरू फहराइरहेका थिए, एउटा सडक कुनामा चर्को रेव सङ्गीत बजिरहेको थियो, अर्को कुनामा अर्थोडक्स यहूदी पुरुषहरू भेला भएका थिए, र नयाँ बस प्रणाली निर्माणस्थल वरिपरि सप्ताहान्तको ट्राफिक जाम बढिरहेको थियो । 

यदि यस्तो विविध र विभाजित देशमा त्यस्तो कुनै खास कुरा अस्तित्वमा छ भने त्यो रेहोभोट सहर नै हो जसलाई लामो समयदेखि सर्वेक्षणकर्ताहरूले ‘मध्य इजरायल’ को मुख्य सहरका रूपमा चित्रण गर्दै आएका छन् । 
शुक्रबार बिहान धेरै मानिसहरू समाचारबाट केही समय टाढा रहन ब्रासेरीमा आएका थिए । तर समाचारको मुख्य विषय लेबनानमा पुनः चर्किएको युद्ध थियो, जहाँ इजरायली सेनाले हवाई आक्रमणको शृङ्खला चलाएको थियो । इरानसँग निकट सम्बन्ध रहेको हिजबुल्लाहले एउटा ट्याङ्कमाथि आक्रमण गरी एक वरिष्ठ अधिकृतसहित चार इजरायली सैनिकको हत्या गरेपछि इजरायलले गरेको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । 

धेरै इजरायलीहरू अमेरिकी मध्यस्थतामा इरानसँग भएको सम्झौतालाई विश्वासघातका रूपमा हेर्छन् । टिप्पणीकारहरूले यसलाई आत्मसमर्पण र अपमानको सम्झौता भन्दै आलोचना गरेका छन्, जुन ‘इजरायलले सोचेभन्दा पनि खराब’ रहेको उनीहरूको भनाइ छ । 

israel-people

धेरैको चिन्ता केवल इरान युद्धअघिको भन्दा अझ बलियो भएर पुनर्निर्माण हुन सक्ने विषयमा मात्र होइन । उनीहरूलाई लेबनानमा लागू गरिएको सम्झौताले इजरायलको उत्तरतर्फको प्रमुख सुरक्षा चुनौती मानिने हिजबुल्लाहविरुद्ध कारबाही गर्ने इजरायलको क्षमता सीमित पार्ने पनि डर छ । 

इजरायलका राजनीतिक रणनीतिक सल्लाहकार तथा अन्तर्राष्ट्रिय अभियान व्यवस्थापक उदी टेन्नेले भने, ‘इजरायलीहरू लेबनान युद्धलाई न्यायोचित युद्ध मान्छन् । इजरायलमा बस्ने सबैले बुझ्छन् कि इरान र हिजबुल्लाह एकै सिक्काका दुई पाटा हुन् ।’ 

लेबनान सीमासँगै रहेको उत्तरी सहर मेटुल्लामा पनि आक्रोश थियो । रेस्टुरेन्ट व्यवसायी ड्यानियल डोर्फम्यानले भने, ‘इरानविरुद्धको युद्धबाट सबै अत्यधिक खुसी थिए, तर अमेरिकी सम्झौता इजरायलका लागि वास्तवमै राम्रो छैन । यो ठूलो गल्ती हो ।’ 

अरूले भने इजरायलले शासन परिवर्तन, इरानको आणविक कार्यक्रमको विनाश र उसका ब्यालिस्टिक क्षेप्यास्त्रहरूको उन्मूलन गर्ने युद्ध उद्देश्य पूरा गर्न नसकेको भन्दै यसलाई ‘पूर्ण असफलता’ भनेका छन् ।उनीहरूका अनुसार, अमेरिकासँग ‘काँधमा काँध मिलाएर’ युद्ध सुरु गरेको इजरायल अन्ततः वासिङ्टनद्वारा किनारामा पारियो र गत साता डोनाल्ड ट्रम्पले उसलाई ‘नगण्य शक्ति’ भन्दै खारेज गरिदिए । 

ट्रम्पलाई सल्लाह दिन ह्वाइट हाउसमा निमन्त्रणा पाउनुको सट्टा, बेन्जामिन नेतान्याहुले गालीगलौज र आलोचनाको सामना गर्नुपरेको छ, विशेषगरी लेबनानमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण भएका नागरिक हताहतीको विषयलाई लिएर । लेबनानमा हालसम्म ३,९०० भन्दा बढी मानिस मारिएका छन् । 

दैनिक पत्रिका येदियोथ अहरोनोथका स्तम्भकार नादाभ एयालले लेखेका छन्, ‘इजरायलको सत्ता संरचनाका केही हिस्साको भावनालाई ‘स्तब्धता’ र ‘शोक’ भन्ने शब्दले पर्याप्त वर्णन गर्न सक्दैन । अहिले उनीहरूको घाउमा थप नुन छर्किने काम भइरहेको छ ।’ 

७६ वर्षीय नेतान्याहु, जो भ्रष्टाचार मुद्दामा अदालतमा छन्, अहिले मतदातालाई आफू मात्र इजरायललाई सुरक्षित राख्न सक्ने नेता भएको विश्वास दिलाउने कठिन चुनौतीसँग जुधिरहेका छन् ।

इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ प्राध्यापक तामार हेर्मानले भनिन्, ‘नेतान्याहुले आफ्ना लक्ष्यहरू अत्यन्त स्पष्ट रूपमा परिभाषित गरेर एक प्रकारको अहंकार देखाए । जब ती लक्ष्य हासिल गर्न सकिँदैन, तब मानिसहरूले तपाईंलाई आफ्ना वाचा पूरा गर्न नसक्ने व्यक्तिका रूपमा हेर्न थाल्छन् ।’ 

israel-people2

रेहोभोट, जहाँ इजरायलका प्यालेस्टिनी नागरिकहरूको संख्या अत्यन्त कम छ, यहूदी मतदाताहरूको राजनीतिक रुझान बुझ्ने एउटा महत्त्वपूर्ण सहर पनि हो । इजरायलको कुल मतदातामध्ये करिब तीनचौथाइ यहूदी छन् । राष्ट्रिय चुनाव अक्टोबरमा हुने अपेक्षा गरिएको छ । 

गत साता एक विपक्षी दलका वरिष्ठ अधिकारीले भने, ‘आगामी चुनाव ठूलो मोड साबित हुनेछ । देशका लागि यसको महत्त्वलाई अतिरञ्जित गरेर वर्णन गर्न सकिँदैन ।’

अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणपछि नेतान्याहुप्रतिको विश्वास गम्भीर रूपमा क्षीण भएको थियो । उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित १,२०० जनाको मृत्यु भएको थियो र करिब २५० जनालाई अपहरण गरिएको थियो । 

गाजामा इजरायलले चलाएको लामो र रक्तपातपूर्ण युद्ध (जसमा अधिकांश सर्वसाधारणसहित ७३,००० भन्दा बढी मानिस मारिएका छन्) ले इजरायललाई अन्तर्राष्ट्रिय रूपमा अलग बनाएको छ । इजरायलले अहिले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा राखे पनि २३ लाख जनसंख्याको अधिकांश भागमाथि हमासकै नियन्त्रण रहेको बताइन्छ । लेबनानमा हिजबुल्लाहविरुद्ध भएका लगातारका सैन्य अभियानहरू पनि निर्णायक साबित भएका छैनन् । 

यद्यपि आलोचनाबिच पनि नेतान्याहुप्रति वफादार रहनेहरू छन् । गत साता अनिर्णीत मतदाताहरूसँग इरानविरुद्ध सबैभन्दा प्रभावकारी रूपमा कसले उभिन सक्छ भनेर सोध्दा ४३ प्रतिशतले नेतान्याहु नेतृत्वको गठबन्धनको नाम लिएका थिए । 

ब्रासेरीमा भेटिएका इन्जिनियर एभी पेरेजले भने, ‘नेतान्याहु पनि मानिस हुन्, त्यसैले केही गल्ती गर्छन् । तर उनी समस्याहरू कसरी समाधान गर्ने भन्ने जान्दछन् । उनलाई इजरायललाई के चाहिन्छ भन्ने थाहा छ । उनी आफ्नो देशका लागि बोल्छन्। ट्रम्प भने आफ्ना व्यवसायका लागि बोल्छन् ।’ 

यस्ता भावनाले आगामी चुनाव निकै प्रतिस्पर्धात्मक हुने सङ्केत गर्छ । विश्लेषकहरूका अनुसार यस्ता राजनीतिक संघर्षका अनुभवी नेतान्याहुले अझै पनि आफ्ना सबै प्रतिद्वन्द्वीलाई पछि पार्न सक्छन् । हेर्मानले भनिन्, ‘मलाई लाग्छ उनी समस्यामा छन्, तर उनीसँग अझै के चाल बाँकी छ भन्नेमा म निश्चित छैन । उनी चलाख राजनीतिक खेलाडी हुन् ।’ 

रेहोभोटकी ३४ वर्षीया चिकित्सक ली नोविकले भनिन्, ‘धेरै विषयमा इजरायलीहरू पहिलेभन्दा बढी विभाजित छन् । नेतान्याहुले हामीलाई विभाजित गर्ने प्रयास गरेका छन् र त्यो सफल पनि भएको छ । यो वर्षौँदेखि चलिरहेको छ । यसबिचमा घरको मूल्य वा मुद्रास्फीति जस्ता आधारभूत समस्याप्रति कसैको ध्यान छैन ।’

उनले थपिन्, ‘इरानले इजरायललाई नष्ट गर्न चाहन्छ भन्ने कुरा म विश्वास गर्छु । किन नगर्ने ? तर यो सरकारले युद्धलाई विभाजनकारी कानुन पारित गर्न र केवल सत्तामा टिकिरहन प्रयोग गरिरहेको छ ।’

विपक्षी दलका अधिकारीहरूले पनि यहूदी इजरायलीहरू पहिलेभन्दा बढी विभाजित भएको बताएका छन् । एक अधिकारीले भने, ‘इजरायलीहरू एकअर्कासँग कुरा गरिरहेका छैनन्, तिनको मत बाझिएको छ । साझा आधार हराउँदै गएको छ ।’

तर हेर्मान भने यसमा सहमत छैनन् । उनले सन् १९९० को दशकजस्ता अत्यधिक ध्रुवीकरणका अन्य कालखण्डहरू पनि रहेको स्मरण गराइन् । उनका अनुसार अधिकांश यहूदी मतदाताहरूलाई विभाजन गर्नेभन्दा जोड्ने विषयहरू बढी छन् । आर्थिक उदारवादप्रतिको विश्वास, प्रगतिशील कर प्रणालीमार्फत वित्तपोषित बलियो कल्याणकारी राज्य, सुरक्षामा कडा नीति, यहूदी राज्यका रूपमा इजरायलको अस्तित्व र प्यालेस्टिनीहरूसँगको द्विपक्षिय समाधान अवास्तविक भएको धारणा जस्ता विषयले तिनलाई एक शुत्रमा बाँध्ने गरेको छ । 

निकट भविष्यमा हेर्दा, अधिकांशले लेबनान युद्धलाई समर्थन गर्छन् र अर्थोडक्स समुदायलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने कानुनको कडा विरोध गर्छन् । हेर्मानले भनिन्, ‘ध्रुवीकरणबारे हुने धेरै चर्चा सम्भवतः आफैँले आफैँलाई सत्य साबित गराउने भविष्यवाणी हो ।’

रेहोभोटकी ५५ वर्षीया डालिया पेरेजले भने गत साताका घटनाले उनलाई एउटा कुरा सिकाएको छ । त्यो हो, ‘शान्ति कहिल्यै आउने छैन ।’ उनले भनिन्, ‘म युद्धको अन्त्य हुने आशा गर्थें, तर अब मलाई लाग्छ हामी सधैँ तरबारको भरमा बाँच्नुपर्नेछ । अहिले हामीले बुझेका छौँ कि हाम्रो कुनै साथी छैन र हामी कसैमाथि विश्वास गर्न सक्दैनौँ ।’ 

द गार्जियनबाट 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप