बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सगरमाथा आरोहीको च्छो रोल्पा पदयात्रा
नियात्रा

सगरमाथा आरोहीको च्छो रोल्पा पदयात्रा

शनिबार, १५ कात्तिक २०८२

सगरमाथाको चुचुरो छुँदा शरीर जितिन्छ, तर आत्मा अझ नयाँ उचाइ खोजिरहन्छ । संसारको सबैभन्दा अग्लो स्थानमा पुगिसकेपछि पनि, भित्र कतै एउटा बेचैनी बाँकी रहन्छ— प्रकृतिको अर्को रूप हेर्ने, अर्को उचाइमा आत्माको आवाज सुन्ने। यही बेचैनीले मलाई दोलखाको उत्तरपूर्वी काखमा अवस्थित च्छो रोल्पा हिमतालतर्फ हुत्त्यायो । यो यात्रामा कुनै प्रतिस्पर्धा थिएन, केवल आत्माको अनुशासन र प्रकृतिसँग पुनः साक्षात्कारको इच्छा थियो ।

दसैँको टिका लगाइसकेपछि हामी यात्रा तयारीमा थियौँ । मसँग थिएँ १४ वर्षे बिमस लोहनी— जिज्ञासु, उत्साही र पर्वतीय जीवनप्रेमी केटो । बिमसका बुबाले मलाई चिन्नुहुन्थ्यो र उनले आफ्नो छोरो मसँगै पठाउँदा उसको अनुहारमा बालसुलभ उत्साह झल्किएको थियो । मैले हर्षका साथ सोचेँ— यस्ता युवा देशको भविष्यमै पर्वतारोहण र पर्यटनको आधार हुन् ।

1000010138

हामीले कोटेश्वरबाट यात्रा सुरु गर्‍यौँ । धुलीखेल, दोलालघाट, खाडीचौर, मुडे हुँदै चरिकोटतर्फ बस दौडिँदा खाल्डा-खुल्डीमा हल्लिँदो गाडी र खचाखच भीडबीच पनि मन आनन्दित थियो । भोटेकोसी, सुनकोसी र तामाकोसीका किनारै किनार यात्राले नेपालका भूगोल र सुन्दरताको असल चित्र कोरिरहेको थियो । बसमा मैले बिमससँग सगरमाथा आरोहणका अनुभव बाँड्दै गएँ— हावासँग, हिउँसँग र जोखिमसँगको सह–जीवनका कथा । ऊ मनोयोगले सुन्थ्यो, कहिलेकाहीँ प्रश्न गर्थ्यो, अनि हामी दुवै गम्भीर भएर हाँस्थ्यौँ ।

करिब नौ घण्टाको बसयात्रा पछि हामी छेदछेद पुग्यौँ— माथिल्लो तामाकोसी परियोजनाको दृश्य हेर्दै । त्यहाँबाट उकालो लाग्दै सिमीगाउँतर्फ हिँड्यौँ । ठाडो बाटो, कञ्चन खोला र बगिरहेको तामाकोसीको स्वर— सबैले यात्रा चुनौतीपूर्ण तर आत्मीय बनाइरहेका थिए ।

बिमसले हरेक दृश्यमा 'वा! कति सुन्दर!' भन्ने शब्दले म पनि फेरि पहिलो यात्राजस्तो ताजगी महसुस गर्थेँ ।

उकालो चढ्दै, फोटा खिँच्दै, हामी सिमीगाउँ पुगेका थियौँ । पहाडको शिरमा बसेको त्यो गाउँ मनमोहक थियो । होटेल मितिनीको साइनबोर्ड देख्दा पुराना सम्झनाहरू ताजा भए— त्यो दाबुटी शेर्पाको परिवारको होटल रहेछ, जससँग मैले सन् २०१८ मा सगरमाथा आरोहण गरेको थिएँ । भेटमा परिवारसँग आत्मीयता बाँड्दै म भावुक भएँ । यात्राको पहिलो बास त्यहीँ भयो— गौरीशंकर हिमालको काखमा ।

भोलिपल्ट बिहान साढे ६ बजे हामी रोल्वालिङ खोलाको किनारै किनार हिँड्यौँ । सिमसिम पानी परिरहेको थियो । सुर्मुचेमा पुगेर थुक्पा र उसिनेको आलुले भोक मेट्यौँ । साउनी दिदीले मुस्कुराउँदै प्लास्टिकको रेनकोट दिइन् । त्यस न्यानोपनमा नेपालीपनको सुगन्ध थियो— अनजान भेट पनि आफ्नै जस्तो माया ।

बाटोमा झरनाहरू झर्दै थिए, खोलाहरू गर्जिँदै बग्दै थिए । जुकाहरूको माया पनि साथमा थियो— पर्वतीय यात्राको स्थायी सहयात्री । बिमसले हरेक दृश्यमा 'वा! कति सुन्दर!' भन्ने शब्दले म पनि फेरि पहिलो यात्राजस्तो ताजगी महसुस गर्थेँ ।

753123d4-bd41-4058-8935-a5e80f7bdc18

हाम्रो अर्को बास दोवाङमा भयो । रोल्वालिङ पाहुना घरका सञ्चालक फुर्बा र पासाङ छिरी शेर्पा–१९ र २१ वर्षका युवाले अतिथि सत्कारमा नेपालकै आत्मा देखाए । उनीहरूको विनम्र बोली, सफा व्यवस्था र आत्मीयता 'अतिथि देवो भवः' को ज्वलन्त उदाहरण थियो । त्यहीँ मैले महसुस गरेँ— नेपालको स्वर्गीय पहिचान यिनै सेवाभावी हातहरूले जोगाइरहेका छन् ।

तेस्रो दिन बिहानै हामी बेदिङतर्फ लाग्यौँ । मुसलधारे वर्षाले खोलाहरू गडगडाउँदै गर्जँदै थियो । केही घण्टा हिँडेपछि हामी पुल बगाएको ठाउँमा पुग्यौँ । हामीले ढुंगा हाल्दै फट्के पुल बनाउन खोज्यौँ तर सकेनौँ । अन्ततः खोला तर्दा निथ्रुक्क भिज्यौँ । हामी जस्तै अरू समूह पनि फर्किने तयारीमा थिए, तर हामी अघि बढ्यौँ । अघिल्लो दिनको मुसलधारे पानीले बाटोमा अर्को खोला पनि पुलविहीन भेट्यौँ । हामी जति अघि बढ्थ्यौ अवरोध उत्तिकै आउँथ्यो । अन्ततः हामी फर्केर दोवाङ फर्कियौँ ।

620ac464-5d8d-4d4d-a5a8-1b2be24095ba

अवरोध आए पनि हामी हाम्रो गन्तव्यमा अघि बढ्यौ । भोलिपल्ट फेरि साहस जुटाएर त्यही बाटो समायौँ । पुल पुनः बनाउने योजनामा स्थानीय, विदेशी र हामी सबै जुट्यौँ । ढुंगा बोकेर, काठ जोडेर—दुई घण्टामा नयाँ पुल बनायौँ । त्यो क्षणमा हामीले केवल खोला पार गरेका थिएनौं, हामीले मानवताको पुल बाँधेका थियौँ । त्यो सहयोग र सामूहिकता सगरमाथाको शिखरजस्तै उँचो थियो । 'जहाँ पुल हराउँछ, त्यहाँ नेपालीहरू मिलेर नयाँ पुल बनाउँछन् ।'

त्यो क्षणले मलाई सिकायो— नेपाल केवल हिमालको देश होइन, काँधमा काँध राख्ने साथ दिने असल मन भएको देश हो ।

अविरल वर्षाले थकित बनाएको शरीर तर हिम्मत अझै अडिग थियो । बेदिङ पुग्दा साढे दुई बजिसकेको थियो । नेटवर्क टिपेसँगै घर परिवारसँग सम्पर्क भयो— बिमसको बुबाको चिन्ता लामो समय कुराकानी गर्न नपाएको न्यास्रो मेटियो । हामी आठ घण्टाको कठिन बाटो पार गरेर गन्तव्य नजिकिएका थियौँ । भोलिपल्टको लक्ष्य- ना गाउँ ।

रोल्वालिङ हिमश्रृंखलामा गौरीशंकर हिमालको काखैमा बसेजसरी छ च्छोरोल्पा हिमताल । त्यो उचाइमा पुगेपछि सधैँ एकखालको शून्यता दिमागमा खेल्छ ।

बेदिङबाट ना गाउँ पुग्ने बाटो कठिन छ— २७०० मिटरबाट ४२०० मिटरको उचाइ, करिब २२ किलोमिटर दुरी । उकालोमा हिउँ र पातको गन्ध मिसिएको थियो । बिमस थाकेको थियो, तर उसले कहिल्यै 'थाकेँ' भनेन । हामी रोल्वालिङ हिमशृङ्खलाको अद्भुत दृश्यसँगै अघि बढ्यौँ । ना गाउँ पुगेपछि आकाश खुलिसकेको थियो । गौरीशंकरको टाकुराले स्वागत गरेजस्तो लाग्यो । त्यहीँ बास भयो—भोलिपल्ट च्छो रोल्पा र दूधकुन्डको अन्तिम यात्राको तयारी गर्दै ।

पूर्णिमाको बिहान, असोज २१ गते । बिहान ५:३० बजे हामी हिउँको सेतो संसारतर्फ लाग्यौँ । बर्फले ढाकिएको बाटोमा गाइड अघि, हामी पछाडि । हिउँमा टेक्दा आवाज हुन्थ्यो— मानौँ समय नै रोकिएको हो । केही बेरमा च्छो रोल्पा हिमताल देखापर्‍यो— गौरीशंकर हिमालको काखमा निदाइरहेको जस्तो । त्यो हिमतालको नीरव सतहमा मेरो प्रतिबिम्ब मात्र थिएन, मेरो सम्पूर्ण यात्रा, मेरो आत्माको प्रतिबिम्ब थियो ।

रोल्वालिङ हिमश्रृंखलामा गौरीशंकर हिमालको काखैमा बसेजसरी छ च्छोरोल्पा हिमताल । त्यो उचाइमा पुगेपछि सधैँ एकखालको शून्यता दिमागमा खेल्छ ।

bf6fa049-20c7-4909-97ba-0e9b2ffd5167

च्छो रोल्पा हिमतालको धमिलो सतहमा म जब आफ्नो आकृतिको प्रतिबिम्ब देख्थेँ, त्यो केवल मेरो अनुहार त पक्कै थिएन, त्यो मेरो यात्रा, सङ्घर्ष र शान्तिका वक्र रेखाहरू थिए । हिउँका पहाडहरूले घेरिएको ठाउँमा त्यही हिमशैलमुनि निहारिएको त्यो पानी मानौँ मौन आत्मा हो, जसले हरेक यात्रु र आरोहीलाई प्रश्न गर्छ 'तिमी यहाँ किन आयौ?'

त्यसको जवाफ सरल छैन । पर्वतारोहण केवल शिखरमा पुग्ने साधना होइन, त्यो आत्माको आरोहण हो, जहाँ हिउँका आँखाले तिम्रो साहस नाप्छन् र पानीको आत्माले तिम्रो अन्तर्मन शुद्ध गर्छ ।

हरेक हिमालका टाकुरामा उभिँदा झैँ गौरीशंकरको काखमा च्छो रोल्पाको सन्निकट उभिँदा पनि मैले महसुस गरेँ — हरेक चुली, हरेक ढुङ्गो, हरेक सासमा जीवनको पाठ लुकेको रहेछ । शिखरहरू जित्ने क्रममा मैले बुझेँ, जीवन पनि आरोहण जस्तै हो, कहिले कठिन उकालो, कहिले चिप्लिने बाटो, तर अन्ततः लक्ष्य आत्मा–शान्ति नै हो । कसले पाउलान्, कसले नपाउलान्, अनि कसले बुझ्लान् कसले नबुझ्लान् । उसले त हामीलाई सधैँ भनिरहेको हुन्छ ।

च्छो रोल्पामा म मौन थिएँ— तर त्यो मौनता नै गहिरो संवाद थियो ।

मेरो पर्वतारोहणको प्रत्येक अध्याय यही बोधतिर डोरिएको छ— शिखरहरू केवल भौगोलिक बिन्दु होइनन्, ती आत्मिक सिँढीहरू हुन्। हरेक आरोहणसँग म आफूभित्रको डर, हताश भाव र सन्देहलाई उक्लिरहेको हुन्छु । हिउँका चुलीहरू मेरो स्थिरता हो भने, बग्ने पानी मेरो आत्माको निरन्तरता हो । आत्माको निरन्तरतालाई मौसम परिवर्तनको सङ्कटले घेर्दैछ ।

हामी सबैले अन्तर्मनलाई साक्षी राखेर हातेमालो गर्नुपर्ने छ । अहिले संसारका हिमखण्डहरू पग्लिँदै छन्, बेमौसमी बर्सात र बढ्दो तापक्रमले नदीहरूको बहाव अस्वाभाविक हुँदैछ । समस्त मानव समुदाय नै अनिश्चितताको गहिरो खाडलमा पर्न गइरहेको भान हुँदैछ । हामीले सचेत भएर तत्कालै उचित कदम चाल्नुपर्ने छ ।

59c90492-2425-49e0-a8a7-fe3d755fdd9c

च्छो रोल्पामा म मौन थिएँ— तर त्यो मौनता नै गहिरो संवाद थियो । हावाले हिउँको गन्ध बोकेको थियो, र त्यो गन्धले मलाई सम्झाइरहेको थियो— जीवन पनि हिउँ जस्तै हो, क्षणिक रूपमा पग्लिएर अन्ततः आत्मामा मिसिन्छ । शिखरमा पुग्नु मात्रै मेरो लक्ष्य होइन, त्यस शिखरले सिकाएको नम्रता मेरो उपलब्धि हो । र आज, च्छो रोल्पाको किनारमा उभिँदा म महसुस गर्छु, पर्वत केवल बाहिर होइन, भित्र पनि चढ्न सकिन्छ र त्यो जो कोहीले गर्न सक्छन्, बस इमानदार प्रयास हुनुपर्छ ।

असोज २२ गते बिहानको ५:३० बज्दा बेदिङबाट छेदछेद तर्फ लाग्यौ । हामी मुखै नधोई तल झर्नतर्फ लाग्यौँ । बाटोमा शीतको पानी पन्छाउँदै हामी थाङदिङ तर्फ झर्‍यौ । हामी थाङ्दिङ पुग्दा ७:१५ भएको थियो । खिमलाल दाइकोमा चिया खाएर माथि जाने साथीहरूलाई शुभकामना दिँदै हामी दोङ्गाङ तर्फ लाग्यौँ तर मेरो मनमा चैँ अस्तिको पुलकै चिन्ता थियो, छ कि बग्यो भनेर ।

हाम्रो पनि बेपत्ता भएजस्तै अवस्था थियो । दुई दिन दोङ्वाङ बस्दा घरपरिवार साथीभाइ कोहीसँग पनि सम्पर्क हुन सकेको थिएन । तर हामी सम्पर्कविहीन भए पनि सुरक्षित थियौँ ।

हामी एक दिन बढी बसेर बाढीले बगाएको पुल बनाएर च्छोरोल्पा गएका थियौँ । आफूसहितले बनाएको प्यारो पुल धन्य सद्दे रहेछ तर हल्लिने भइसकेको हुँदा दसैँको लिङ्गे पिङ खेलेजसरी डोरी समाएर जसोतसो तरियो । हामी बिस्तारै दोवाङ पुग्यौँ र छोडेको केही सामान ब्याकप्याकमा कसेर सुर्मुचेमा खाना खाने गरी दोवाङबाट ओरालो लाग्यौँ । मध्यान्ह अघि नै सुर्मुचे पुगेका हामीले साउनी दिदीले पकाएको तातो भात खायौँ । अनि रेनकोट दिएर यात्रा अझ सहज बनाइदिएकोमा मुरी मुरी धन्यवाद दिएँ ।

1000010000

च्छोरोल्पा हुँदै तासिलाप्चा पास गरेर जाने र फर्कने अर्को महत्त्वपूर्ण गन्तव्य पनि त्यहीँ थाहा भयो । त्यहीँ तासीलाप्चा पास गर्ने विदेशी भेटियो जसको सुखद अनुभव नेपाल र नेपाली पर्यटनको लागि महत्त्वपूर्ण हुनसक्छ । केही बेरको बसाइपछि हामी सिमीगाउँतर्फ लाग्यौँ । जति तल झर्दै गयो उतिउति हाम्रो खोजी भएको कुरा सुनिन थाल्यो । १९ गतेको बाढीपहिरोले रसुवामा केही नेपाली हराएको र अहिलेसम्म पनि नभेटिएको रहेछ ।

हाम्रो पनि बेपत्ता भएजस्तै अवस्था थियो । दुई दिन दोङ्वाङ बस्दा घरपरिवार साथीभाइ कोहीसँग पनि सम्पर्क हुन सकेको थिएन । तर हामी सम्पर्कविहीन भए पनि सुरक्षित थियौँ । खासगरी बिमसको बुवा आमा बढी चिन्तित हुनुभएछ । सम्पर्क हुने ठाउँ बेदिङ, सिमीगाउँ सबैतिर सम्पर्क गर्नु भएछ । हामी दोवाङबाट माथी बेदिङतर्फ जाँदै गर्दा त्यहाँ होटेलको दिदीहरूले भन्दा थाहा पायौँ ।

त्यहाँ फोनको नेट्वर्क टिप्दो रहेछ अनि मेरो बुबा आमा र बिमसको बुबा आमालाई हामी सकुशल रहेको जानकारी गरायौँ । यसरी तल झर्दै गर्दा सिमीगाउँ पुगेर उक्लिँदै गर्दाको वाचा पूरा गर्न मसँगै सगरमाथा आरोहण गर्ने दाबुटी शेर्पाको परिवारले चलाएको मितिनी होटेलमा पुग्यौँ । हामी फर्कियौँ तर फर्किँदा छिटै पुगेकोले हामीसँग तल पुग्न प्रशस्तै समय थियो । बस्न नसकेकोमा दुःख मनाउ गर्दै ममीले ल्याउनुभएको लोकल काँक्रो र बहिनिले ल्याएको चिया खाइयो ।

a709d241-12bb-4f05-a7cb-ffdb426526a3

यही बेला हामी हराएको र अलि धेरै खोजीनिती भएको कुरा बहिनीले बताइन । एक छिन त रमाइलो पनि भयो । त्यहीँबाट बिमसले आफ्नो ममीलाई फोन गरेर हामी ट्रेक सकाएर फर्केको कुरा जानकारी गराएको थियो । हुन पनि देशभर ठुलै विपत्ति आएको रहेछ । हिमाली क्षेत्रमा पनि पदयात्रीहरू हराइरहेको समाचारले परिवारमा चिन्ता बढ्नु स्वाभाविक थियो ।

यस्ता पर्यटकीय स्थानलाई अझ राम्रोसँग व्यवस्थित गर्न सक्ने हो भने बाह्रै महिना पर्यटक खाँचो नहुने देखिन्छ, जसले राष्ट्रको ढुकुटीलाई समेत टेवा पुर्‍याउन सक्छ । यो ट्रेकको यात्रा भरी आफ्नै परिवार जसरी माया गर्ने व्यवसायीहरूले जो कसैलाई पनि आफ्नो आतिथ्य सत्कारले यात्रालाई बिर्सन नसक्ने बनाउनु स्वाभाविक देखिन्छ । फेरि यो रोल्वालिङ क्षेत्र सगरमाथा आरोहीहरूको गाउँ पनि भएकाले यस ठाउँको रौनकता र पहिचान विशेष हुने नै भयो ।

च्छोरोल्पाको हिउँले अघिल्ला दिनका हरेक कदम सम्झाइरहेको थियो— जहाँ जीवनका आरोह–अवरोहहरू सँगै बगिरहेका छन् ।

यात्राभर रोल्वालिङ हिमशृङ्खलाको मनोरम दृश्य अनि रोल्वालिङ खोलाको छङछङ बगिरहेको धुनले पनि मन शान्त र आनन्दित बनाउँछ । आज झन्डै १२ घण्टाको हिँडाइ पछि हाम्रो बसाइ फेरि छेदछेदमा हुनेछ । यात्राको अनिश्चितता, विपद्ले पारेको अवरोध र अन्योल एवं सम्पर्कविहीनतालाई छाडेर ८ दिन पछि फेरि जिन्दगीको कोलाहल तर्फ फर्किँदै छौँ । सामान्यतया ५ देखि ६ दिनमा सकिने यो ट्रेक हामीलाई प्रतिकूल मौसमले गर्दा ८ दिन लाग्यो तर यो प्रतिकूलताले धेरै सिकाएको छ ।

1000010180

म अहिले ‘सेभेन समिट मिसन’ अन्तर्गत विश्वका सातै महादेशका शिखरहरू आरोहण गर्दैछु । सगरमाथा, एल्ब्रुस, किलिमन्जारो, अकोन्कागुवा र कार्स्ट्रेन्ज पिरामिड चढिसकेँ । अब मेरो लक्ष्य अमेरिकाको डेनाली हो—जहाँ हड्डी पनि कठ्याङ्ग्रिन्छ । तर त्यस आरोहणभन्दा ठुलो तयारी भनेको मनको बल हो, जुन मैले च्छोरोल्पाको यात्रामा पुनः भेटेँ। यो यात्रामा मेरो ठिटौले सहयात्री बिमसले पनि दरो साथ दियो ।

कठिन परिस्थितिमा पनि उसले देखाएको साहसको प्रशंसा नगरी रहन सक्दिन । किलर माउन्टेन मनास्लु र टेक्निकल मानिने आमादब्लम समेत चढिसकेको पर्वतारोहीसँग कदममा कदम मिलाउँदै कठिन खालको यो पदयात्रा गर्नु उसका लागि असहज देखिए पनि उसले त्यो सहजै पार गरिसकेको थियो ।

च्छोरोल्पाको हिउँले अघिल्ला दिनका हरेक कदम सम्झाइरहेको थियो— जहाँ जीवनका आरोह–अवरोहहरू सँगै बगिरहेका छन् । च्छो रोल्पा पुग्दा म केवल एक पर्वतारोही थिइनँ, म एक यात्रु थिएँ— आफ्नै अन्तरमनको बाटो खोज्दै । यस्ता यात्रामा निस्कन म सबै नेपालीलाई अनुरोध पनि गर्न चाहन्छु । देशदर्शन गरौँ अनि विदेशको सयर गरौंला । पहिला देश बनाउन मदत गरौँ, अनि विदेशको हेरौँला ।

e49f5a62-7b38-46df-9773-cc463c5d6490

सगरमाथा र उस्तै खालका चुचुराबाट फर्किएर पनि, मैले फेरि बाटो समाएँ, किनभने आरोहण कहिल्यै केवल हिमालमै सीमित हुँदैन । कहिलेकाहीँ साना पाइलाहरूले पनि ठुला शिखरहरू देखाउँछन् । च्छो रोल्पाको त्यो कठिन यात्रामा मैले बुझें, उचाइ हिउँको मात्र हुँदैन, मानवताको पनि उचाइ हुन्छ । खोला पार गर्दा हातेमालोमा जो शक्ति थियो, त्यो कुनै अक्सिजन बोतलभन्दा गहिरो थियो ।

अब म सेभेन समिटको अर्को तयारीतिर लाग्दैछु, तर त्यो पुल बनाउने क्षणले सिकायो– प्रत्येक आरोहणको अर्थ शिखरमा पुग्नु होइन, सँगै पुग्नु हो । किनभने प्रत्येकको जीवनमा पनि एउटा सगरमाथा हुन्छ—

चिसो हावाले सुसेली खेलिरहँदा पनि त्यो हिमतालको नीरवता अझै कानमा गुन्जिन्छ, 'हिउँ पग्लिन्छ, तर आत्मा अमर रहन्छ ।'

हर कोहीले आफ्नो डर जित्नुपर्छ, बाटो पहिल्याउनुपर्छ, र कोही अरूको लागि पुल पनि बन्न तयार रहनुपर्छ । अन्ततः, उचाइ वा कठिनाइ जेजस्तो भए पनि, जसले साहस, सहकार्य र आशा बोकेर अघि बढ्छ, ऊ नै आफ्नो सगरमाथा चढ्न सफल हुन्छ ।

र, फेरि मैले मेरो आफ्नै सगरमाथा निरन्तर उक्लिरहनु छ र मसँग सदैव रहनेछ हिउँको आँखा, पानीको आत्मा ।

चिसो हावाले सुसेली खेलिरहँदा पनि त्यो हिमतालको नीरवता अझै कानमा गुन्जिन्छ, 'हिउँ पग्लिन्छ, तर आत्मा अमर रहन्छ ।'

शान्त पानीको त्यो अथाह गहिराइमा जब मैले नजर दौडाउँदा मैले देखेँ— त्यो मात्र हिउँले माढिएको आकाश होइन, मेरो आफ्नै जीवनको प्रतिबिम्ब पनि हो । त्यहाँ उभिँदा लाग्थ्यो, यो हिमताल केवल प्राकृतिक सौन्दर्यको प्रतीक होइन, यो आत्माको दर्पण हो— जहाँ हिउँका आँखाले जीवनको निश्चलता हेर्छन् र पानीको आत्माले हरेक अस्थिरता पगाल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया