बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माल्टामा घुम्ती राहदानी सेवा ठप्प, समस्यामा नेपाली

शनिबार, १५ कात्तिक २०८२, २० : ४१
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • माल्टामा मोबाइल राहदानी सेवा बन्द हुँदा नेपालीहरू समस्यामा परेका छन्।
  • राहदानी नवीकरणको प्रतीक्षामा ५०० जना र म्याद सकिएका ५० जना छन्।
  • सेवा सुचारु गर्न एनआरएनए माल्टाले पहल गरिरहेको छ।

माल्टा । करिब एक वर्षदेखि घुम्ती (मोबाइल) राहदानी सेवा रोकिएपछि माल्टामा बसोबास गर्ने नेपालीहरू समस्यामा परेका छन्। नियमित रूपमा हुने क्याम्प स्थगित हुँदा करिब ५०० जना आवेदनकर्ता राहदानी नवीकरणको प्रतीक्षामा रहेका छन् भने करिब ५० जनाको राहदानी म्याद पहिले नै सकिएको एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए । 

उनका अनुसार अक्टोबर महिनामा सेवा सञ्चालन गर्ने तयारी गरिएको भए पनि नेपाल सरकारले माल्टाका लागि राजदूत फिर्ता बोलाएको र जेनजी आन्दोलनका कारण प्रक्रिया अनिश्चित बनेको उनको भनाइ छ। अहिले डिसेम्बरमा क्याम्प सञ्चालन गर्ने तयारी भइरहेको भए पनि समय निश्चित हुन सकेको छैन।

अध्यक्ष खनालले राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्याललाई भेट गरी टोली पठाउन आग्रह गरेका छन्। उनले स्पेनस्थित नेपाल दूतावासमा कर्मचारी अभावका कारण दूतावासले एक्लै माल्टामा घुम्ती सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताए। राहदानी विभागबाट कर्मचारी पठिएपछि मात्र सेवा सुरु गर्न सकिने अवस्था रहेकाले सोहीअनुसार विभागले पहल लिनुपर्ने उनको भनाइ छ । 

सेवा अवरुद्ध हुँदा माल्टामा रहेका नेपालीहरूलाई रोजगारी, सामाजिक सुरक्षा, आवासीय अनुमति र अन्य प्रशासनिक काममा समस्या उत्पन्न भएको छ। राहदानीको म्याद सकिएका व्यक्तिहरूको आईडी कार्ड नवीकरण हुन नसक्दा उनीहरू अवैध बसोबासको जोखिममा समेत पर्ने अवस्था छ । 

माल्टामा कार्यरत एक नेपालीले राहदानी विभाग र दूतावासले यो विषयलाई प्राथमिकतामा राखी तत्काल टोली पठाएर समस्या समाधान गर्न आग्रह गरे ।

एनआरएनए माल्टा र अन्य संघ–संस्थाहरूले पनि राहदानी विभाग र स्पेनस्थित दूतावासबीच शीघ्र समन्वय गरी सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्। उनीहरूका अनुसार समस्या थप जटिल हुन नदिन प्रभावित नागरिकलाई स्पष्ट सूचना र सहयोग उपलब्ध गराउन आवश्यक छ। माल्टामा हाल १० हजार भन्दा धेरै नेपाली कार्यरत रहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप