‘कुलोको पानीले डेढ घण्टापछि बजारको आगो त निभ्यो, पसल बचाउन सकिएन’
सारांश
- अछामको साँफेबगर नगरपालिकामा विद्युत् सर्ट हुँदा सात वटा पसलमा आगलागी भएको थियो।
- आगो नियन्त्रणका लागि स्थानीयवासीले खोलाको पानी प्रयोग गरे, तर डेढ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो।
- दमकलको अभावले गर्दा बारम्बार हुने आगलागीबाट ठूलो क्षति भइरहेको छ, जसले दमकलको आवश्यकतालाई जोड दिएको छ।
धनगढी । अछामको साँफेबगर नगरपालिकामा शनिबार राति ९ बजेतिर आगलागी भयो । प्रहरीका अनुसार डोको, नाम्लो बेच्ने एउटा पसलमा विद्युत् सर्ट भएर लागेको आगोले सात वटा पसल खरानी बने ।
टिनको छाना भएका ती पसल दनदनी बल्न थालेपछि साँफेबगर बजारका स्थानीय त्रसित भए । बजारभरि हो–हल्ला फैलियो । आगो दन्किरहेको समयमा स्थानीयसँग आगलागी नियन्त्रणका कुनै साधन थिएनन् । थियो त केवल– आँट र नजिकैको खोलाको पानी ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी जम्मा भए । आगो नियन्त्रण गर्ने आधुनिक उपकरणको अभावकै बिच उनीहरूले खोलाबाट कुलो बनाएर पानी ल्याउने जुक्ति निकाले । त्यही कुलोबाट बाल्टी र अन्य भाँडामा पानी बोकेर आगोमा खन्याउँदै गए ।
डेढ घण्टाको प्रयासपछि मात्रै आगो नियन्त्रणमा आयो । त्यतिन्जेलसम्म सात परिवारको रोजीरोटी खरानी भइसकेको थियो । पसल जलेर खरानी बनिसकेका थिए ।
प्रहरीका अनुसार अछामका लागि यो पहिलो वा नौलो घटना भने होइन । जिल्लाको मुख्य बजारमा आगलागीका घटना बारम्बार हुने गरेका छन् । हरेक पटकको नियति एउटै हुन्छ– दमकलको अभाव ।
१० वटा स्थानीय तह रहेको अछाम जिल्लामा एकमात्र दमकल सदरमुकाम मंगलसेन नगरपालिकामा छ । मंगलसेनको दमकल साँफेबगरजस्ता क्षेत्रमा आइपुग्न घण्टौँ लाग्छ । दमकल आउँदासम्म निकै ठुलो क्षति भइसक्ने जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
‘यहाँ जिल्लाभरि एकमात्र दमकल छ । पहाडमा स्वाभाविक रूपमा दमकल पुग्न ढिलो हुन्छ । त्यही भएर हामीले दमकलको बाटो नहेरी कुलोको पानीले आगो नियन्त्रणको प्रयास ग¥यौँ । यहाँ दमकल धेरै आवश्यक छ ।’
घटनापछि प्रहरी आइतबार बिहानैदेखि घटनास्थलमा मुचुल्का तयार गर्न खटिएको छ । मुचुल्का तयार भएपछि आगलागीबाट भएको क्षतिको विवरणबारे थाहा हुने डीएसपी खनालले जानकारी दिए ।
‘कुलोको पानीले डेढ घण्टापछि बजारको आगो नियन्त्रण त गरियो, पसल खरानी हुनबाट बचाउन सकिएन,’ खनालले भने ।

साँफेबगरका स्थानीय दीपक खड्काका अनुसार यो दोस्रो पटकको आगलागी हो । यसपटक पनि दमकल नहुँदा ठुलो क्षति व्यहोर्नुपरेको छ ।
गत वैशाखमा मात्रै साँफेबगरकै हाटबजारमा भएको भीषण आगलागीले १० वटा पसल जलेर नष्ट हुँदा ३ करोड ८६ लाख ६५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।
शुभेच्छा मःमः सेन्टरबाट विद्युत सर्ट भएर सुरु भएको त्यो आगोले गंगा कुँवरको जनरल स्टोरदेखि दीपक सुनारको सुनचाँदी पसलसम्म खरानी बनाएको थियो । त्यतिबेला नेपाल बैंकमा जडान गरिएको साइरन बजेकाले स्थानीयवासी समयमै जम्मा भएर आगो नियन्त्रणमा जुटेका थिए । नत्र क्षति अझै भयावह हुन सक्थ्यो ।
त्यसअघि, गत चैतमा जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीको क्षति अझै दर्दनाक थियो । उक्त आगलागीमा १० कच्ची घर, १५ टिनका टहरा र दुई पक्की घरसहित एक सभाहल जलेर नष्ट हुँदा सात करोड ५४ लाख रुपैयाँ बराबरको धनमाल खरानी भएको थियो ।
यी सबै घटनामा स्थानीयले सुरक्षाकर्मीको सहयोगमा सामान्य स्रोत साधन प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए । दमकल नहुँदा क्षतिलाई कम गर्न सकिएन ।
स्थानीयका अनुसार अछाममा बारम्बार हुने यस्ता आगलागीका घटनाले दमकलको आवश्यकतालाई टड्कारो रुपमा देखाएको छ । स्थानीय धर्मादेवी विकका अनुसार स्थानीय सरकारले यस विषयमा खासै चासो देखाएको पाइँदैन । जिल्लाका १० स्थानीय तहमध्ये ९ वटा दमकलविहीन छन् । आगलागीका घटनापछि केही समय दमकल खरिद गर्ने चर्चा चले पनि पछि त्यो विषय त्यत्तिकै सेलाउने गरेको उनको गुनासो छ ।
‘अछाममा आगलागीका घटना धेरै हुने गरेका छन्, दमकल नहुँदा धेरै समस्या छ,’ स्थानीय पवित्रा खड्काले भनिन्, ‘दमकल नभएका कारण आगलागीबाट हुने क्षति पनि घटाउन सकिएको छैन ।’
बजार क्षेत्र भएका स्थानीय तहमा दमकल अनिवार्य हुनुपर्ने उनको भनाइ छ । उनका अनुसार विद्युत सर्ट, ग्यास लिक र अन्य मानवीय लापर्बाहीका कारण आगलागीका घटना बढ्दो छन् । यस्तो अवस्थामा पूर्वतयारी र प्रतिकार्यको लागि दमकल जस्तो अत्यावश्यक साधन नहुनु स्थानीय सरकारको गम्भीर कमजोरी देखिएको हो ।
खड्काका अनुसार कुलोको पानीले आगो निभाउनु अछामका नागरिकको बाध्यता हो । हरेक पटक आगलागी हुँदा करोडौँको क्षति व्यहोर्नु पर्ने अवस्था रहेको उनको गुनासो छ ।
‘नागरिकको सम्पत्ति खरानी भएको टुलुटुलु हेर्नुको सट्टा स्थानीय तहहरूले दमकल खरिदमा लगानी गरेर क्षतिलाई रोक्न सकिन्छ । यहाँका नगरपालिका र गाउँपालिकाहरूले अब गम्भीर भएर सोच्ने बेला आएको छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण