बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

‘नेतृत्वको पुनर्गठन एकता महाधिवेशनले गर्छ’

तिता–मिठा अनुभव र कमजोरी छन्, तर व्यवस्थापन गर्न सक्छौँ : जगन्नाथ खतिवडा
सोमबार, १७ कात्तिक २०८२, १४ : ०६
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसहित आठ दलबीच पार्टी एकताको प्रस्तावमा हस्ताक्षर भएको छ।
  • एकता प्रक्रियामा केही नेता असहमत देखिए पनि, नयाँ पार्टीले लिने नीति र सिद्धान्तबारे छलफल भइरहेको छ।
  • नेता जगन्नाथ खतिवडाका अनुसार, एकताले वाम आन्दोलनमा सकारात्मक प्रभाव पार्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नेछ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र लगायत आठ दलबिच पार्टी एकता गर्ने प्रस्तावमा आइतबार हस्ताक्षर भएको छ । उनीहरूबिच बुधबार पार्टी एकता घोषणा गर्ने तयारी छ ।

यो एकता प्रक्रियामा एकीकृत समाजवादीकै कतिपय नेता भने सहमत हुन सकेका छैनन् । माओवादी र एकीकृत समाजवादीमा पुनर्गठन र रुपान्तरणको बहस भइरहेका वेला नेताहरूले पार्टी एकता गरेर मूल मुद्दा छाडेका त होइनन् ? नयाँ पार्टीले लिने नीति, सिद्धान्त र विचार पुरानाभन्दा कति फरक होलान् ? यी कम्युनिस्ट पार्टीबिचको एकताले नेपालको वाम आन्दोलनमा कस्तो प्रभाव पर्छ ? प्रस्तुत छ, यिनै विविध विषयमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडासँग गरिएको कुराकानी-

  • नेकपा एकीकृत समाजवादी, माओवादी लगायत ८ राजनीतिक घटकहरूबिच एकता घोषणा हुँदैछ, यो कस्तो खालको एकता हो ?

यो एकताको धेरै कोणबाट सकारात्मक व्याख्या गर्न सकिन्छ । पहिलो कुरा, नेकपा माओवादी केन्द्रले समाजवादी कार्यक्रमलाई आत्मसात् गरेको छ । उसले माओवादलाई बिदा गर्दै मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्विकारेको छ । माओवादका उपलब्धिहरूको योगदानको चर्चा गर्ने तर मार्गदर्शक सिद्धान्तबाट हटाउने निर्णय गरेको छ । हामीले त्यही गरिआएका थियौँ, उसले पनि त्यही गर्‍यो । यसमा हाम्रो साझा स्वर मिल्यो । एकता सैद्धान्तिक र राजनीतिक विषयहरूमा एकमत भएपछि गरिने हो । हामी त्यसमा एकमत भयौँ ।

दोस्रो कुरा, नेपालका धेरै साना कम्युनिस्ट पार्टीहरूलाई जोडेर एउटा ठुलो कम्युनिस्ट पार्टी बनाउने कुराको हिसाबले हेर्ने हो भने लामो समयपश्चात् भएको यो राम्रो र महत्त्वपूर्ण काम पनि हो । अब देशमा यो घटनापश्चात् नेकपा एमाले र हाम्रो पार्टी दुई वटा ठुला कम्युनिस्ट शक्तिको रूपमा देशमा रहनेछन् । यिनीहरूको बिचमा सहकार्य पनि हुन सक्छ, प्रतिस्पर्धा पनि हुन सक्छ । सहकार्य भयो भने त्यसले कम्युनिस्ट आन्दोलनमा गुणात्मक फड्को मार्ला । प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा पछाडि कुनै न कुनै सहकार्यको सम्भावना भइनै रहन्छ । प्रतिस्पर्धा भनेको शत्रुता होइन । मित्रतापूर्ण ढंगले कम्युनिस्टहरू एकजुट भए भने मुलुकमा देशभक्ति, राष्ट्रियता, स्वाभिमान र जनताका एजेन्डाहरू पछाडि पर्दैनन् । अहिलेसम्म भएका अनेकौँ गलत अभ्यास र नकारात्मक शिक्षाले पनि उनीहरूलाई सही बाटोमा हिँड्न अभिप्रेरित गर्नेछ ।

  • यो एकताले नेपालको समग्र राजनीति र आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा के–कस्तो प्रभाव पार्न सक्छ ?

कम्युनिस्ट पार्टीमा आबद्ध सबैले कम्युनिस्टका आफ्ना विचारधारा अथवा मार्क्सवादी राजनीतिक अर्थशास्त्रका आधारमा देशको विकासको मोडालिटी हिजो तयार गरेको भए आज मुलुकमा ठुलो रूपान्तरण भइसक्थ्यो । तर उनीहरू हरेक पटक सत्ताको लागि अनेकौँ गलत कुरासँग सम्झौता गर्दै गए । अर्थतन्त्रको नयाँ ढाँचा निर्माण गर्न उनीहरूको रुचि देखिएन, सत्तामा जानमात्रै बढी रुचि देखियो । यसकारण समाजमा अनेकौँ प्रकारका समस्या आउँदै गए । कुशासन, भ्रष्टाचार, राष्ट्रियतामाथि दिनहुँको क्षति, जनताको राष्ट्रिय मनोविज्ञानमाथि कमजोरी, जातीय, क्षेत्रीय, साम्प्रदायिक अनेक विभेद वृद्धि भयो । त्यसकारण उनीहरूले जे कमजोरी गरेका थिए, त्यसलाई सच्याउने एउटा सङ्कल्पसहित प्रस्तुत भए भने मुलुकले धेरै विषयमा, सामाजिक–आर्थिक क्षेत्रमा, जनताको जनजीवनको सुख–सुविधाको क्षेत्रमा ठुलो प्रगति गर्छ । हामी त्यो प्रतिबद्धता बोकेरै हिँडौँ भनेर लागेका छौँ ।

  • नेपाली जनताले चाहेको आर्थिक–सामाजिक रूपान्तरण र सामाजिक न्याय र सुशासन हो, तर तपाईंहरू कहिले पार्टी फुटाउने, कहिले एकता गर्नेजस्ता गतिविधिमा मात्रै अल्मलिरहनुभएको छ । जनताले खोजेको सेवा, सुविधा वा ‘डेलिभरी’ मा पार्टीहरूको ध्यान कमैमात्र पुगेको देखिन्छ । त्यसकारण यो एकताले जनताको आकाङ्क्षा पूरा गर्न सक्छ भनेर कसरी विश्वास गर्ने ?

तपाईंले भनेकै कुरा सही हो । आज देशका त्याग, समर्पणबाट जन्मिएका नेताहरू अलोकप्रिय छन् । उनीहरूमाथि जनताले अनगिन्ती प्रश्न उठाएका छन् । यसका मुख्य कारण छन् । पहिलो, आफ्नो सिद्धान्तलाई बिर्सेर व्यवहारमा मात्रै लाग्नु । दोस्रो, सत्ताको लागिमात्रै लुछाचुँडी गर्नु । तेस्रो, आर्थिक–सामाजिक रूपान्तरणका लागि सम्पूर्ण सङ्कल्पका साथ आफूलाई परिचालित नगर्नु । यस्ता अनेकौँ चीज हाम्रा कमजोर पक्ष हुन्, जसले गर्दा आज देशका राजनीतिज्ञहरू, कम्युनिस्ट वा गैरकम्युनिस्ट पार्टीहरू दिनदिनै आलोचना र बदनामीको सिकार बन्दै गएका छन् । यो परिस्थितिलाई हामी आफैँले ‘करेक्सन’ गर्ने हो । यो ‘करेक्सन’ सङ्कल्पहरू परिवर्तन गरेर, नेतृत्व परिवर्तन गरेर र सन्तुलित विदेश नीति अपनाएर आउँछ ।

  • हालैको ‘जेनजी’ आन्दोलनपछि तपाईंहरू एकताका लागि बढी हतारिएको जस्तो देखियो । एकताको सहमतिपत्र हेर्दा शीर्ष नेताहरूको पद सुरक्षित गरिएकोमात्रै हो कि भन्ने प्रश्न पनि उठेका छन् । आन्दोलनले खोजेको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा त ओझेलमा परेको देखियो नि ?

यो कोणबाट चर्चा गर्न नसकिने होइन । ‘जेनजी’ विद्रोहले योग्य मानिसहरूले शासन गर्नुपर्छ र पुराना नेताहरूले छोड्नुपर्छ भन्ने सन्देश दिएकै हो । हामी एकतापश्चात् बनाउने नीतिहरूमा बिल्कुल नयाँ ढंगले आउन चाहन्छौँ । तर एकता गर्नका लागि उहाँहरूको (वर्तमान शीर्ष नेताहरूको) महत्त्व र आवश्यकता बढी भएको हुनाले उहाँहरूलाई नेतृत्वमा हामीले स्थापित गरेका छौँ । यो परिस्थितिलाई हामीले यसरी बुझ्यौँ । हाम्रो बुझाइ कमजोर छ र जनताले हामीलाई परित्याग गर्न थाले भने हामी चाँडोभन्दा चाँडो अर्को निर्णयमा पनि पुग्न सक्छौँ । अहिलेलाई हामी एक कदम अगाडि बढेका छौँ । माओवादीले आफ्नो विचारलाई पुनर्गठन गर्‍यो, हामीले साना पार्टीलाई जोडेर पुनर्गठन गर्‍यौँ । अब पुनर्गठन नेतृत्वमा जरुरी होला, जुन आगामी महाधिवेशनले गर्नेछ ।

  • त्यसो भए अब हुने एकता महाधिवेशनले प्रचण्ड र माधव नेपालजस्ता शीर्ष नेताहरूको विकल्प खोज्छ ?

प्रस्ट रूपमा खोज्छ भन्ने मैले देखिरहेको छु । उहाँहरूले पनि आ–आफ्नो प्लेटफर्महरूमा, बैठकहरूमा यो चर्चा गर्नुभएको छ । मेरो पार्टी अध्यक्ष माधव कुमार नेपालले त बैठकमा ‘मलाई लामो समय बस्ने इच्छा पनि छैन, पहिले एकता प्रक्रिया सम्पन्न गरौँ, म पनि बिदा लिने पक्षमा छु’ भनेर पटक–पटक भनिसक्नुभएको छ । प्रचण्डले पनि यो कुरामा सहमति जनाउनुभएको छ । प्रचण्डले महाधिवेशनपछि नेतृत्व गर्नुहुन्न भनेर कमरेड वर्षमान पुनले भनेको पनि मैले सुनेको छु । यी सबै कुरा हेर्दा, ‘जेनजी’ विद्रोहले खोजेको परिवर्तनलाई आत्मसात् गर्नको निम्ति हाम्रा शीर्ष नेतृत्वहरूमा पनि केही न केही परिवर्तन नगरीकन हुँदैन भन्ने अनुभूति भइसकेको छ ।

  • एकीकृत पार्टीमा पनि प्रचण्ड र माधव नेपालको विकल्पमा प्रतिस्पर्धा गर्ने अनुहार खासै देखिँदैन । अहिलेसम्मका गतिविधि हेर्दा दुई नेता अझै नेतृत्वमा बसिरहने नै देखिन्छ । यस्तो अवस्थामा विकल्प खोज्नुपर्छ भन्ने नेता कार्यकर्ता पछुताउनुपर्ने अवस्था नआउला भन्न सकिन्छ ?

हामी त्यो अवस्थामा पुग्छौँ भन्ने मलाई लाग्दैन । हाम्रो समस्या व्यवहारमा हो । विगतमा हामीले तीन वर्ष सँगै बसेर व्यवहार गर्‍यौँ, सहकार्य गर्‍यौँ । तिता–मिठा अनुभव आ–आफ्ना छन्, कमजोरी दुवैतर्फ छन् । तर, हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ भनेर विश्वास गर्न सकिन्छ र अर्को अप्ठ्यारोमा पर्छौं भन्ने लाग्दैन ।

  • २०७४ सालमा दुई ठुला दल एमाले र माओवादी मिलेर बनेको नेकपा चार वर्ष पनि टिकेन । त्यो अनुभवबाट के पाठ सिक्नुभयो ? नेताहरूको सोचमा कुनै परिवर्तन नदेखेको अवस्थामा जनताले कसरी विश्वास गर्ने ?

तपाईंले सोधेको प्रश्न आजको अविश्वासमै केन्द्रित छ । यो सान्दर्भिक पनि छ । किनभने तपाईंले देखिरहनुभएको छ, तर जब समयको चेतना अगाडि बढ्छ, हामी राजनीतिक दलका नेताहरूले परिवर्तनलाई आत्मसात् गरेर हिँड्नुपर्छ । चेतना टिप्न सक्नुपर्छ । होइन भने हामी धेरै पछाडि पर्छौं । हामी त्यो चेतनालाई टिप्ने प्रयासमा छौँ । यसका लागि पहिलो काम गर्‍यौँ– एकतावद्ध बनाउने । दोस्रो काम गर्नेछौँ– अझ यसलाई विस्तारित गर्ने । तेस्रो काम– नेतृत्वलाई परिवर्तन गरेर भए पनि नयाँ एजेण्डाका साथ नयाँ पुस्तालाई ल्याउने र चौथो काम गर्नेछौँ– देशको सुशासन र समृद्धिका लागि सबै कार्यकर्ता परिचालन गर्ने ।

हाम्रा यी प्रतिबद्धता पूरा गर्न नेतृत्वले जति काम गर्न सक्छ, त्यति नै विश्वास आर्जन गर्दै जाने हो । नयाँ पुस्ताको आवाज भनेकै सुशासन र समृद्धिको आवाज हो । यसमा हामी प्रतिबद्ध छौँ । आजको नेतृत्वले गर्ने सकेन भन्दैमा अरुले गर्न सक्दैन भन्ने कुरा होइन । हामी पूरा गर्न सङ्कल्पित छौँ ।

  • एकताको मुखमा तपाईंहरूकै पार्टीभित्र तीन धार देखियो– एक धार एकताको पक्षमा, झलनाथ खनाल र घनश्याम भुसाल छुट्टै पार्टी बनाउने पक्षमा अनि रामकुमारी झाँक्री लगायतको अर्को समूह । यसले त ‘एकता हो कि विभाजन’ भन्ने प्रश्न उब्जियो नि ?

राजनीतिमा विचार, स्वार्थ र सम्भावनाको बहस हुन्छ । विचारको बहस गर्ने साथीहरू विचार मन नपर्दा अलग हुन सक्नुहुन्छ । स्वार्थको बहस गर्नेहरू अन्य पार्टीमा प्रवेश गर्न सक्नुहुन्छ । विचारकै बहसबाट आज गरेका काम ठिक छन् भन्नेहरू हामी एकताको पक्षमा लागिरहेका छौँ । यो पक्षमा लाग्ने अत्यधिक ठुलो संख्या छ । हामीले सफलता पनि प्राप्त गरेकै छौँ । केही साथी (१५–२० केन्द्रीय सदस्य) अलमलमा हुनुहुन्छ । उहाँहरू पनि भोलिसम्ममा यही कार्यक्रममा उपस्थित हुनुहुन्छ भन्ने आशा छ । अत्यन्तै सानो संख्यामात्रै यसबाट अलग होला ।

  • तपाईंहरूले बृहत् वाम एकताको कुरा गर्दै आउनुभएको थियो । नेकपा (एमाले) बिनाको एकतालाई बृहत् वाम एकता भन्न मिल्छ ? कि भविष्यमा एमालेसँग पनि एकताको तयारी हो ?

नेकपा एमालेको नेता केपी ओलीका कमजोरीहरूका कारणले यो पार्टी फुटेको हो । हिजो सर्वोच्च अदालतले हामीलाई छुट्ट्याइदिएको हो । त्यसमा षड्यन्त्र थियो । त्यसपछि पनि हामी एक हुन कोसिस गर्नुपर्थ्यो, तर त्यो भएन । आज म के देख्छु भने नेकपा एमाले छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । ऊ संगठित भइरहोस् । शक्तिको रुपमा बाचिरहोस् । हामीले पनि शक्तिलाई सुदृढीकरण गर्दै गइरहेका छौँ । हामीले बृहत्तर वाम एकताका लागि पहल कदमी सुरु गर्‍यौँ । यो एकताको पहल एमालेसम्म पुग्न सक्छ । एमालेले सकारात्मक सोच राखे भोलि सहकार्य पनि हुन सक्छ, कम्युनिस्ट एकता पनि हुन सक्छ । हामी त्यो कुरामा सधैँ खुला र उदार छौँ ।

  • तर केपी ओलीसँग त तपाईंहरूको व्यक्तिगत ईखजस्तो देखिन्छ । ओली रहेसम्म एकता हुँदैन भनेर प्रचण्डले पनि भनिरहनुभएको छ । केपी ओलीविनाको एकता सम्भव छ ?

केपी ओली एकताको बाधक तत्व नै हो, यसमा कुनै शंका छैन, तर समयले उहाँलाई पनि सिकाएको छ जस्तो मलाई लाग्छ । उहाँ पदमा हुँदा जसरी बाहिरिनुपर्‍यो, त्यसले सबै कम्युनिस्टहरूलाई चोट पुर्‍याएको छ । उहाँका अनुभवहरूले उहाँलाई पनि यो ठाउँमा आउन बाध्य बनाउँदैन भन्न सकिँदैन, तर आजको स्वभाव र प्रवृत्तिलाई हेर्दा उहाँ भएसम्म समग्र कम्युनिस्ट एकता सम्भव छैन जस्तो पनि देखिन्छ । निकट भविष्यमा, एक–आध वर्षमा कम्युनिस्टहरू एक भएर अगाडि बढ्न सक्छन् र हामी बृहत् कम्युनिस्ट एकता कायम गर्न सफल हुन्छौँ जस्तो लाग्छ । आजको आजै त भन्न सकिँदैन तर हामीले चालेका पाइला सकारात्मक छन् । यसले बृहत् कम्युनिस्ट एकताको आधार तयार गर्छ ।

  • यो एकतामा भारतको भूमिका पनि छ भन्ने चर्चा चलेको सुनिन्छ । अर्कोतिर पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पनि यो पार्टीमा समेट्ने प्रयास रहेको भनिएको छ, यी दुई विषयलाई कसरी हेर्नुहुन्छ ?

यो एकतामा भारतको के–कस्तो भूमिका छ भन्नेबारे मलाई जानकारी छैन । म यो कुरा स्वीकार पनि गर्दिनँ । हामीले आफ्नो पहलले समाजवादी मोर्चालाई नै कम्युनिस्ट पार्टी बनाउन खोजेका हौँ । त्यसका लागि चार वर्षदेखि सहकार्य पनि गर्दै आएका हौँ ।

जहाँसम्म विद्या भण्डारीको कुरा छ, उहाँले के नीति बनाउनुहुन्छ, त्यसमा भर पर्छ । उहाँ यसमा ‘एडजस्ट’ हुन सक्छु भन्नुभयो भने हामी सधैँ स्वागत गर्छौं, तर उहाँले एमालेसँगै संघर्ष गर्छु भन्नुहुन्छ कि ? यदि हामी र एमाले पनि कुनै दिन सहकार्य वा एकता हुने ठाउँ आयो भने त्यही ढंगले काम गर्न सक्छौँ । त्यसकारण विद्या भण्डारीसँगको सवालमा उहाँलाई सधैँभरि हाम्रो पार्टीमा स्वागत छ ।

  • अन्त्यमा, एकता प्रक्रियाबारे केही भन्नुछ कि ?

हामीले पाँचकुने तारा चुनाव चिह्न बनायौँ । यद्यपि नाममा माओवादीले समाजवादी केन्द्र नै राखौँ भनिरहेको छ । यद्यपि नेकपा समाजवादी राख्ने कुरामा अधिकांश सहमति जुटेको छ । यसमा प्रचण्डले थोरै छलफल गरौँ भनेकाले रोकिएको हो । यो एकता न माओवादी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको हो, न एकीकृत समाजवादी माओवादीमा प्रवेश गरेको हो ।

हामी दुई मिलेर नयाँ पार्टी बनाउने पहल गरेका हौँ । यसमा हामी र माओवादीमात्र नभएर अरु धेरै पार्टी संलग्न छौँ । आठ वटा पार्टीको गठबन्धनले नयाँ पार्टी निर्माण गरेको हुनाले यो न पुरानो माओवादी छ, न एकीकृत समाजवादी छ । यो बिल्कुल नेकपा (समाजवादी) मात्रै छ । त्यसकारण यहाँ कसैको हार र कसैको जित छैन, सबैको विजयमात्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप