शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी दुई–तीन जना नेताको बन्धक बनेको कांग्रेस संस्थापन पक्षीय नेताहरूको आरोप

सोमबार, १७ कात्तिक २०८२, १५ : २१
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेताहरू छलफलमा जुटेका छन्।
  • इतर पक्षले मङ्सिरभित्रै महाधिवेशनको माग राखेको छ भने संस्थापन पक्ष निर्वाचनपछि मात्रै गर्न चाहन्छ।
  • छलफलमा सहभागी सदस्यहरूले महाधिवेशनको मिति तोक्नुपर्नेमा जोड दिएका छन्, र नेता बरालले पार्टी नेताको बन्धक भएको आरोप लगाए।

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा छुट्टै छलफलमा जुटेका छन्।

पार्टीको इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष आगामी निर्वाचनपछि मात्र महाधिवेशन धकेल्ने पक्षमा देखिएको छ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनका लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। पार्टी केन्द्रीय सदस्य गुरु बरालले छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श भइरहेको बताए।

बरालले भने, ‘पार्टीको आन्तरिक जीवनलाई नै बलियो बनाउने गरी हामीले महाधिवेशनको तिथिमिति तोकेर जानुपर्छ। यस कुरामा हामी प्रष्ट छौँ। हामी निर्वाचनलाई नकार्न सक्दैनौँ, हामी निर्वाचनमा भाग लिन्छौँ। निर्वाचन र महाधिवेशनको तयारी सँगसँगै कसरी हुनसक्छ? यो पनि अहम् प्रश्न छ।’

  • ‘पार्टी एक-दुई नेताको बन्धक’

नेता बरालले पछिल्लो समय पार्टी एक-दुई जना नेताको बन्धक बनेको भन्दै आक्रोश व्यक्त गरे। उनले आजको छलफलबाट केन्द्रीय समितिमा नयाँ प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी दिए।

महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन। अब अर्को केन्द्रीय समितिको बैठक मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप