एकता घोषणासँगै विभाजनतर्फ माओवादी र एकीकृत समाजवादी
सारांश
- नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विभाजनको संघारमा पुगेका छन्, पार्टी एकतामा असन्तुष्टि जनाउँदै नेताहरूले पुनर्गठनको माग गरेका छन्।
- जनार्दन शर्मा र घनश्याम भुसाल पक्षधरले पार्टी पुनर्गठनको माग राख्दा प्रचण्डले भने पहिले एकता र पछि पुनर्गठनको कुरा गरेका छन्।
- पार्टी एकता घोषणा कात्तिक १९ गते काठमाडौँमा हुँदैछ, तर नेताहरूबीचको असहमति र विवादका कारण यसको भविष्य अनिश्चित छ।
काठमाडौँ । पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिले विभाजनको डिलमा पुगेका छन्। जेनजी विद्रोहपछिको विषम राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै माओवादी, एकीकृत समाजवादीसहित ८ दलबीच आइतबार सहमति पत्रमा हस्ताक्षर भएको थियो।
तर माओवादी र समाजवादीभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको माग राखी अन्तरसंघर्ष चलाइरहेका जनार्दन शर्मा र घनश्याम भुसाल पक्षधर अल्पमतमा रहेका छन्। शर्मा माओवादीका नेता हुन् भने भुसाल समाजवादीका महासचिव हुन् ।
शुक्रबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा माओवादीसँग एकता गर्ने निर्णयप्रति भुसाल, पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल, नेताहरू घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, रामकुमारी झाँक्रीलगायतका नेताहरू असन्तुष्ट बनेका छन्। उनीहरू पार्टी एकता घोषणासँगै पुनर्गठनको तयारीमा जुटिरहेका छन्। भुसालले सोमबार बिहान माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर 'पहिले पार्टी पुनर्गठन गरेर त्यसपछि एकता गर्नुपर्छ' भन्ने प्रस्ताव राखेका थिए। तर प्रचण्डले 'पहिले एकता गरौँ, त्यसपछि पुनर्गठनको प्रक्रिया अगाडि बढाउँला' भन्ने जवाफ दिएपछि भुसाल निराश हुँदै फर्किएका थिए।
‘पार्टी पुनर्गठनको विषयमा छलफल गर्न म बिहान उहाँलाई भेट्न गएको थिएँ। भेटका क्रममा मैले पहिला पार्टी पुनर्गठनको ढोका खोलौँ, त्यसपछि एकता गरौँ भन्ने प्रस्ताव राखेँ। तर उहाँ तयार हुनुभएन। पहिले एकता गरौँ, त्यसपछि पुनर्गठन गर्दै जाउँला भन्नुभयो। कुरा नमिलेपछि पार्टी पुनर्गठन गर्छु भनेर निस्किएँ। अब साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्छु,’ रातोपाटीसँग भुसालले भने।
अध्यक्ष माधव नेपालसहित बहुमत सदस्यहरू एकताको पक्षमा उभिएपछि शनिबार काठमाडौँको सुकेधारामा असन्तुष्ट पक्षको भेला बसेको थियो। ‘भेलामा पार्टी पुनर्गठन गर्ने कि एमालेमा विलय हुने’ भन्ने विषयमा कुरा नमिल्दा खनाल–भुसाल समूह पनि विभाजित भएको छ। खनाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू एमाले फर्किने पक्षमा छन्।
यता, माओवादीभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका लागि लगातार पार्टीभित्र र बाहिर आवाज उठाइरहेका जनार्दन शर्मा पनि पुनर्गठनको तयारीमा जुटिरहेका छन्। शनिबारदेखि नै उनी ललितपुरको एक स्थानमा आफ्ना निकटस्थसँग सघन छलफलमा व्यस्त रहेको बुझिएको छ। ‘पार्टी पुनर्गठन कसरी गर्ने, वामपन्थीबीच ध्रुवीकरण र एकता कसरी अगाडि बढाउने’ भन्ने विषयमा गम्भीर छलफल भइरहेको शर्मा पक्षका नेताहरूले बताएका छन्।
‘लगभग सम्बन्धविच्छेदको अवस्था छ। मंगलबार बस्ने महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठकमा उहाँले आफ्ना धारणा राख्नुहुनेछ होला। पार्टी पुनर्गठन कसरी गर्ने, आगामी दिनमा वामपन्थीबीच एकता र ध्रुवीकरण कसरी अगाडि बढाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ। एकता घोषणाको दिनसम्म हामी ‘पर्ख र हेर’को अवस्थामै छौँ। त्यसपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ शर्मा पक्षका एक नेताले भने।
२०७५ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तीन वर्ष नपुग्दै विघटन भएको थियो। त्यतिबेला अध्यक्ष रहेका केपी ओली र प्रचण्डबीच सत्ता र शक्ति स्वार्थका कारण एकता असफल भएको आरोप–प्रत्यारोप चलेको थियो।
नेता शर्माले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने अडान राख्दै आएका छन्। उनका अनुसार हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ त पूरा हुन सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ।
तर माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने आठ दलबीच भएको एकता पर्याप्त सुझबुझ, छलफल र बहसबाट भएको बताउँदै यो दिगो हुने विश्वास व्यक्त गरे।
सापकोटाले भने, ‘विगतका धेरै अनुभव र शिक्षालाई ध्यानमा राखेर हामीले एकता गरेका हौँ। यो आकस्मिक होइन, निकै लामो गृहकार्य र विस्तृत छलफलपछि गरिएको निर्णय हो। विगतका तीता अनुभवहरूबाट पनि शिक्षा लिइएको छ, त्यसैले यो एकता दिगो हुन्छ।’
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी एकता महाधिवेशनपछि नेतृत्व हस्तान्तरणको ढोका खुल्ने बताएका छन्। उनका अनुसार प्रचण्ड र माधव दुवैले पनि नेतृत्वमा लामो समय नबस्ने प्रतिबद्धता जनाइसकेका छन्।
‘हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा मलाई लामो समय बस्ने इच्छा छैन, पहिले एकता प्रक्रिया सम्पन्न गरौँ, म पनि बिदा लिने पक्षमा छु भन्नुभयो। प्रचण्डले पनि यो कुरामा सहमति जनाउनुभएको छ,’ उनले भने, ‘प्रचण्डले महाधिवेशनपछि नेतृत्व गर्नुहुन्न भनेर कमरेड वर्षमान पुनले भनेको पनि मैले सुनेको छु। यी सबै कुरा हेर्दा, जेनजी विद्रोहले खोजेको परिवर्तनलाई आत्मसात गर्न शीर्ष नेताहरू पनि तयार भइरहेका छन् भन्ने अनुभूति हुन्छ।’
एकता प्रक्रियामा सहभागी आठ दलको एकता घोषणा कात्तिक १९ गते काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ। १८ बुँदे सहमति पत्रमा माओवादी, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट छुट्टिएका दुई समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीले हस्ताक्षर गरेका छन्।
कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने दबाबका कारण हतारमा एकता घोषणा गर्न लागिएको हो। नयाँ पार्टीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। चुनाव चिन्ह ‘पाँचकुने तार’ तय भइसकेको छ। पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ भने कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण