शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

डोटीमा शिक्षिका मृत्यु प्रकरण : पक्राउ परेका गणेश रावलको लिइयो बयान

सोमबार, १७ कात्तिक २०८२, १८ : २४
सोमबार, १७ कात्तिक २०८२

धनगढी । डोटीकी शिक्षिका जानकी खड्का मृत्यु प्रकरणमा प्रक्राउ परेका गणेश रावलको सरकारी वकिल कार्यालयमा बयान लिइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नजराज जोशीका अनुसार सोमबार सरकारी वकिलले घटना प्रतिवादी रावलको बयान लिएका हुन् ।  

यसअघि १५ गते प्रतिवादीको बयान लिने काम हुने बताएपनि सरकारी वकिल जिल्लामा नहुँदा त्यस दिन रोकिएको थियो । अनुसन्धानमा घटनाक्रमले माग गरेअनुसार प्रतिवादीको बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

उनका अनुसारपछि पीडित र साक्षीहरुको पनि बयान क्रमश: हुनेछ । घटनाको जाहेरी दर्ता भएपछि प्रहरी २४ दिनभित्र अनुसन्धान प्रतिवेदन पूरा गरी सरकारी वकिलकहाँ बुझाउनुपर्ने हुन्छ । सरकारी वकिलले दुई दिनको म्याद थप गरेर अदालतमा सबै प्रतिवेदन पेस गर्नुपर्नेछ । 

सोमबार घटना भएको ८ दिन र जाहेरी दर्ता भएको ७ दिन पूरा भएको छ । अब प्रहरी अनुसन्धान पूरा गरेर सरकारी वकिल कहाँ अनुसन्धान प्रतिवेदन बुझाउन १७ दिन बाँकी छन् । 

कात्तिक १० गते पूर्वीचौकी गाउँपालिका–१ निवासी २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाजुराको बूढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत जानकी कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत थिइन् ।

जानकीले मृत्युअघि लेखेको पत्रमा जिल्ला शिक्षा समन्वय एकाई डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी थिइन् । रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग मित्रता गाँसेर लगातार मानसिक तनाव दिएको जानकीले पत्रमा उल्लेख गरेकी थिइन् । 

विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीपलाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्की दिएको कुराले जानकी थप त्रसित बनेको पत्रबाट खुल्छ । घटनापछि मृतक परिवारको जाहेरीका आधारमा गणेश रावललाई प्रहरीले पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप