बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अछामको साँफेबगरमा आगलागी, १ करोड ९२ लाख बढी क्षति

सातवटा पसल पूर्ण रूपमा जलेर खरानी
सोमबार, १७ कात्तिक २०८२, २० : ०४
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • अछामको साँफेबगर नगरपालिकामा शनिबार राति आगलागी हुँदा १ करोड ९२ लाखभन्दा बढीको क्षति भएको छ।
  • विद्युत् सर्ट भएर सुरु भएको आगोले एक घर र नौ पसलमा क्षति पुर्‍यायो, जसमध्ये सात पसल पूर्ण रूपमा जले।
  • दमकलको अभाव र पहाडी बाटोका कारण आगो नियन्त्रणमा ढिलाइ हुँदा १० परिवारको रोजीरोटीमा असर पुग्यो।

धनगढी । अछामको साँफेबगर नगरपालिकामा शनिबार राति भएको भिषण आगलागीमा एक करोड ९२ लाख ८० हजार ३५० रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीको प्रारम्भिक मुचुल्काअनुसार आगलागीबाट एक घर र नौ वटा पसलमा ठुलो क्षति पुगेको छ। जसमध्ये सातवटा पसल पूर्ण रूपमा जलेर खरानी भएका छन् । शनिबार राति करिब ९ बजे डोको, नाम्लो बेच्ने एउटा पसलमा विद्युत् सर्ट भएर सल्केको आगोले बजारलाई नै क्षति पुर्‍यायो । 

टिनको छाना भएका पसलहरूमा आगो चाँडै फैलिएपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आगो नियन्त्रणमा जुटेका थिए । आधुनिक उपकरणको अभावमा उनीहरूले खोलाबाट कुलो बनाएर पानी ल्याउने जुक्ति निकाले । बाल्टी र अन्य भाँडाकुँडाको सहायताले डेढ घण्टाको अथक प्रयासपछि मात्र आगो नियन्त्रणमा आयो । त्यतिन्जेलसम्म १० परिवारको रोजीरोटीमा ठुलो असर पुर्‍याइसकेको थियो । 

आगलागीले महेन्द्र कार्कीले सञ्चालन गरेको दिपसत्य जनरल स्टोरमा सबैभन्दा बढी ७० लाखको क्षति पुर्‍यायो भने पवन कुँवरको श्री शम्भु सु सेन्टरमा २९ लाख र तपेन्द्र ठकुल्ला र देवकी कार्कीको न्यु बैजनाथ फेन्सी स्टोरमा २६ लाख ५ हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भयो । 

यसैगरी कल्पना खड्का कुँवरको राजेश्वर कृषि तथा पशुपन्छी फर्ममा १९ लाख २० हजार, कर्ण बहादुर कुँवरको आकाश एग्रोमेन्ट सेन्टरमा १५ लाख, निर्मला गिरीको युनिसा फेन्सी पसलमा १२ लाख ९० हजार र बलवहादुर कुँवरको सन्देश किराना पसलमा १० लाख २० हजारको क्षति भएको छ । आगलागीले किशोर भाटको मदिरा पसल, धामी खुद्रा पसल र बजबहादुर कुँवरको घरमा समेत गरी कुल एक करोड ९२ लाखभन्दा बढीको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

अछाममा आगलागी र दमकल अभावको यो नियति नौलो होइन । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार १० वटा स्थानीय तह रहेको अछाममा सदरमुकाम मंगलसेन नगरपालिकामा मात्र एउटा दमकल छ, जुन पहाडी बाटोका कारण घटनास्थलमा समयमै पुग्न सक्दैन । यो आगलागी साँफेबगरमा भएको दोस्रो ठुलो घटना हो ।

स्थानीय दीपक खड्काका अनुसार गत वैशाखमा मात्रै साँफेबगरकै हाटबजारमा भएको आगलागीले १० पसल नष्ट हुँदा ३ करोड ८६ लाखभन्दा बढीको क्षति भएको थियो । त्यसअघि गत चैत्रमा जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीमा सात करोड ५४ लाख रुपैयाँ बराबरको धनमाल खरानी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप