बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘राइज नेपाल अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स च्याम्पियनसिप-२०२५’ हुने

बुधबार, १९ कात्तिक २०८२, २३ : ३५
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • राइज क्यालिस्थेनिक्स ललितपुरले पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता आयोजना गर्दैछ।
  • प्रतियोगितामा भारत र नेपालका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ, जसमा विभिन्न विधामा पुरस्कारहरू राखिएका छन्।
  • अध्यक्ष जगदीशचन्द्र जोशीले क्यालिस्थेनिक्स खेललाई राष्ट्रिय खेलकुद परिषद्मा समावेश गराउन पहल गरिरहेका छन्।

काठमाडौँ । राइज क्यालिस्थेनिक्स ललितपुरले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता आयोजना गरेको छ। 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी शनिबार (कात्तिक २२ गते) ललितपुरको गोदावरी–६ स्थित कोटडाँडा एग्रो रिसोर्टमा ‘राइज नेपाल क्यालिस्थेनिक्स च्याम्पियनसिप–२०२५’ प्रतियोगिता आयोजना गरिएको जानकारी गराइएको हो ।

राइज क्यालिस्थेनिक्स ललितपुरका अध्यक्ष जगदीशचन्द्र जोशीले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा प्रतियोगिता हुन लागेको बताए । उनले उक्त प्रतियोगितामा ७ जना भारतीय खेलाडी र नेपालका ४० जना भन्दा बढी खेलाडीले चार वटा विधामा प्रतिस्पर्धा गर्ने बताए ।

अध्यक्ष जोशीका अनुसार क्यालिस्थेनिक्सका चार विधामध्ये इन्डारेन्स तर्फ ३५ हजार, स्ट्याटिकतर्फ ८० हजार, फ्रिस्ट्यलतर्फ ३५ हजार र फिमेल स्ट्याटिकतर्फ ५० हजार पुरस्कार राखिएको छ । साथै, दुई लाख ५० हजार बराबरको गिफ्ट ह्याम्पर पनि राखिएको छ ।

विशेषगरी आफ्नो शरीरको तौललाई प्रयोग गरेर देखाइने शारीरिक व्यायाम कलालाई क्यालिस्थेनिक्स भनिन्छ । यो खेलमा जिम्न्यास्टिक खेलका केहि विशेषता मिश्रित हुने र अहिले साहसिक खेलका रूपमा चिनिन थालेको आयोजक जगदीशचन्द्र जोशीले बताए । जोशी आफ्नै पनि क्यालिस्थेनिक्सका गोल्ड मेडलिस्ट हुन् ।  उनले ६ पटक नेपालको प्रतिनिधित्व गर्दै  विभिन्न देशमा गएर क्यालिस्थेनिक्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भैसकेका छन्।   

यो खेललाई राष्ट्रिय खेलकुद परिषद्मा समावेश गराउने पहल भइरहेको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप