विपद्को असर: बागमती प्रदेशमा धान उत्पादन घट्ने अनुमान
सारांश
- बागमती प्रदेशमा आगामी आर्थिक वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ, जसले गर्दा धान खेतीको क्षेत्रफल र उत्पादकत्वमा कमी आउने देखिएको छ।
- विपद्का कारण बागमती प्रदेशका १० जिल्लामा २२ करोड २४ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ, जसमा नुवाकोटमा सबैभन्दा बढी क्षति भएको छ।
- मोन्था चक्रवातको प्रभाव र वर्षाले गर्दा प्रदेशका ५ हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ भने १२ हजार २१४.२६ मेट्रिक टन धान नष्ट भएको छ।
मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन घट्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष धान खेती गरिएको क्षेत्रफल र उत्पादकत्व दुवैमा कमी आउने देखिएको हो ।
प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ लाख १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा कुल ४ लाख ४८ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त अवधिमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.९ मेट्रिक टन रहेको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताए ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि गरिएको अनुमानित तथ्याङ्कले भने धान उत्पादनमा गिरावट आउने देखाएको छ ।
यस वर्ष धान खेतीको क्षेत्रफल घटेर १ लाख १२ हजार ४६० हेक्टरमा सीमित हुने अनुमान छ । जसअनुसार कुल उत्पादन ४ लाख ३ हजार ६५० मेट्रिक टनमा झर्ने छ ।
उत्पादकत्वमा पनि प्रतिहेक्टर ०.३ मेट्रिक टनले कमी आई ३.६ मात्र रहने अनुमान प्रवक्ता कँडेलको भनाइ छ । खेती गरिने क्षेत्रफल र उत्पादकत्व दुवै घट्दा समग्र उत्पादनमा ठुलो अन्तर देखिने उनले बताए । गत वर्षको तुलनामा यस वर्ष करिब ४४ हजार ८५० मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको उनले बताए ।
विपद्ले २२ करोड २४ लाखको धानबालीमा क्षति
बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा लगाइएको धानबालीमा विपद्ले ठुलो क्षति पुर्याएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को विपद्का कारण प्रदेशका १० जिल्लामा २२ करोड २४ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको अनुमान छ ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा मोन्था चक्रवातको प्रभावका कारण भएको वर्षा र गत असोज १८ देखि २० गतेसम्मको वर्षाले प्रदेशका १० जिल्लामा धानखेती चपेटामा परेको हो ।
मन्त्रालयका अनुसार प्रदेशका ५ हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ भने १२ हजार २१४.२६ मेट्रिक टन धान नष्ट भएको छ ।
मन्त्रालय मातहतको कृषि विकास कार्यालयहरूको तथ्यांकअनुसार नुवाकोट, रामेछाप, सिन्धुली, दोलखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रे र चितवनमा लगाइएको धानखेती नष्ट भएको हो ।
मन्त्रालयका अनुसार प्रदेशका ५ हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ भने १२ हजार २१४.२६ मेट्रिक टन धान नष्ट भएको छ ।
सबैभन्दा बढी क्षति नुवाकोटमा भएको मन्त्रालयका प्रवक्ता कँडेलले बताए । नुवाकोटमा मात्रै ३ हजार १२८.५८ हेक्टरको धानबाली प्रभावित हुँदा ५ हजार ८७.२१ मेट्रिक टन धान नष्ट भएको छ । क्षतिबाट कृषकहरूको एक करोड ८३ लाख १३ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
त्यसैगरी रामेछापमा पनि विपद्ले धानखेतीमा ठुलो असर पुर्यो । यहाँ १३३.१० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित भयो । जसले ५१४.१० मेट्रिकटन धानबाली क्षति भएको छ, जसबाट १ करोड ६८ लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
सिन्धुलीमा पनि १ हजार ९८ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेती विपद्बाट प्रभावित हुँदा ३ हजार ५८०.२० मेट्रिक टन धान नष्ट भएको छ । जसबाट किसानहरूले एक करोड १७ लाख १८ हजार रुपैयाँको क्षति बेहोरेका छन् ।
दोलखामा ८३२.१७ हेक्टरमा लगाइएको धानबाली विपद्बाट प्रभावित भएको छ भने २ हजार ३२४.५१ मेट्रिक टन धानबाली क्षति भएको छ । जसबाट ५४ लाख ४२ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ ।
धादिङमा ७९ हेक्टरको धानबाली विपद्बाट प्रभावित हुँदा २६९.५० मेट्रिक टन बानबाली नष्ट भएको छ । उक्त क्षतिबाट ८६ लाख २४ हजार रुपैयाँको नोक्सान भएको छ । सिन्धुपाल्चोकमा समेत १७ हेक्टरमा लगाइएको धानखेती विपद्का कारण प्रभावित हुँदा ४२.१२ मेट्रिक टन धान नष्ट भएको छ । यसबाट १३ लाख ८६ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
रसुवा, मकवानपुर काभ्रे र चितवनमा क्रमशः १५६.३०, १६, १४.५ र २० हेक्टरको धानबाली विपद् प्रभावित भएको छ भने २५७.५२, ५१.२०, १२.५ र ७५.४० मेट्रिक टन धान नष्ट भएको छ, जसबाट ९ लाख २७ हजार रुपैयाँ, १८ लाख १५ हजार रुपैयाँ, ४ लाख १२ हजार रुपैयाँ र २६ लाख ७३ हजार रुपैयाँको नोक्सानी किसानहरूले बेहोरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण