जोहरान ममदानीको सन्देश : दौलतको दम्भ निष्काम हुन्छ, जनता ब्युँझी उठेपछि !
सारांश
- न्युयोर्क सहरको मेयरमा जोहरान ममदानीको जितले अमेरिकी राजनीतिमा परिवर्तन ल्यायो।
- ममदानीको जितले स्थापित शक्तिलाई विस्थापित गर्न सकिन्छ भन्ने देखाएको छ।
- जितले नवउदारवादी खेललाई चुनौती दिने ढोका खोलेको छ र जनताको जितको सम्भावना देखाएको छ।
जोहरान ममदानीले न्युयोर्क सहरको मेयरमा जित हासिल गरेका छन् । यो जितले केवल स्थानीयस्तरको असन्तुष्टि मात्रै देखाउँदैन, यो जितले अमेरिकी राजनीतिमा पुस्तौँदेखि जमेर बसेको वैचारिक पोखरीमा ठुलो धक्का दिएको छ ।
यो ऐतिहासिक जित हो । यसको ऐतिहासिकता केवल एउटा पदमा हाल स्थापित शक्तिलाई अचानक उथलपुथलकारी रूपमा विस्थापित गरेका कारणमात्रै भएको होइन । यो जितले त्यस्तो शक्तिलाई विस्थापित गर्न सम्भव छ भनेर देखाएका कारण ऐतिहासिक भएको हो ।
दशकौँदेखि अमेरिकाको राजनीतिक जीवन मिलेमतोको बजारजस्तै भएको थियो, जहाँ दुई पार्टीका फरक–फरक विज्ञापन बज्थे तर आखिर उस्तै सामान बेचिन्थे । निजी दौलतको पूजा हुन्थ्यो । सामाजिक लगानीमा दागा धरिन्थ्यो । आम मानिसलाई सरकारतर्फ आशा राखेर हेर्न मनाही थियो । सरकारले सजाय र निगरानीमात्रै गर्न सक्छ भनेजस्तै अवस्था थियो ।
त्यसरी ढुक्कले चलिरहेको नाटक गत मंगलबार स्वाहा भयो । ममदानीले जितेर देखाइदिए । जित्नका लागि उनी कुनै धनाढ्यको आगनमा भिख माग्न गएनन् । घरजग्गा कारोबारीको गुलामी गर्न लागेनन् । टेलिभिजनका गफाडीहरूलाई आनन्द दिने अभियान पनि चलाएनन् ।
उनी आफ्नो कुरा प्रस्ट राखेर लडे । उनले न्युयोर्क सहर अनुपस्थित जमिन्दारको नभएर जनताको हो भने । प्रत्येकले आफ्नै झुप्रोमा बस्न पाउनुपर्छ भने । यातायात, बालबालिकाको हेरचाह, खानेकुरा तथा आत्मसम्मान आधारभूत अधिकार हुन् भने । यो कसैको बपौती होइन, नागरिकको न्यूनतम अधिकार हो भने । बजेट कसैको मनमौजी फर्मान नभएर खाँचो परेका मान्छेको आवाज हुनुपर्छ भने । आफ्नो इतिहासमा पहिलो पटक न्युयोर्क जस्तो धनी सहरले खर्बपति तथा घरजग्गा साहुभन्दा माथि गरिखाने वर्गका मान्छेलाई राख्यो ।
अहिले हारेर लुरुक्क परेका दुवै पक्षका संस्थापनहरू यो क्षणको महत्त्वलाई पक्कै घटाउने प्रयास गर्नेछन् । पैसा खर्च गरेरै भए पनि आफ्नो शासनलाई चुनौती दिने मानिसहरूलाई तर्साउनका लागि उन्मादी हर्कत गराउने प्रयास पक्कै गर्नेछन्, तर यो जित अन्यत्र पनि फैलिन्छ भन्ने उनीहरूलाई ठुलो डर छ ।
यदि न्युयोर्क निवासीहरू शक्तिको केन्द्रीकरणलाई चुनौती दिन सक्छन् भने, धनाढ्यहरूलाई उनीहरूको हिस्सा तिर्न दबाब दिन सक्छन् भने, आर्थिक न्यायको भाषा हाकाहाकी बोल्छन् भने अब अरु सहरले पनि बोल्न सक्छन् । भोलि लस एन्जलस पनि बोल्न सक्छ । लेभल्यान्ड, मेनियापोलिस, एटलान्टा तथा कान्सास सहर पनि जाग्न सक्छन् ।
अहिलेको राजनीति अर्थतन्त्रको डाडुपन्यु हातमा लिएकाहरू जताततै ‘आम मानिस माग्न छाडेर आफ्नो हिस्सा दाबी गर्दै टेबलमा आइपुग्लान्’ भनेर तर्सिएका छन् ।
आफ्नै आशाविहीनतालाई सत्य ठानेका आम मानिसका कारण केही मानिस बलिया हुन पाएका हुन् । सम्भ्रान्तहरूको राजनीति आम मानिसलाई केही हुँदैन भनेर विश्वास दिलाएरै टिकेको छ । तिमीले जितेको कसैले मन पराउँदैन, त्यसैले बल नगर भनेर पत्याउन लगाउँथे । जब यो भ्रम टुट्यो, एउटै सहरले पूरा देशमा कम्पन्न ल्याइदिएको छ ।
आज अमेरिकाभर करोडौँ मानिस टेलिभिजनमा अमेरिकी राजनीतिको दुर्लभ दृश्य हेर्दैछन् । पुँजीमा टेकेर उभिएको निर्वाचन अभियानलाई ऐक्यबद्धतामा बाँधिएको अभियानले पछार्न सक्छ भनेर देखिरहेका छन् । आम जनता मुकदर्शक बनेर राजनीतिको रङ्गमञ्चमा टुलुटुलु हेर्नुपर्ने दिन सकिएको देखिरहेका छन् । उनीहरूले आफ्नै तागतमा विश्वास गर्नुपर्ने पनि बुझिरहेका छन् ।
उनीहरूले यसरी हेर्दा धेरैथोक देखेका छन् । फरक रङको टोपी लगाएर मञ्चमा नाच्ने धनाढ्य साहुका जोकर जस्ता उम्मेदवारको नाटक कसरी धुलोपिठो हुन्छ भन्ने पनि देखेका छन् ।
यस्तो सम्भावना मानिसहरूले बर्नी स्यान्डर्सको राष्ट्रपति निर्वाचन अभियानमा पनि देखेका थिए । स्यान्डर्सको अभियानलाई दुवै पक्षका संस्थापनको मिलेमतोले डुबाएको थियो । अहिलेको जितले भने अमेरिकामा सम्भ्रान्तहरूको अल्पतन्त्रसँग लड्न सकिन्छ भन्ने आश जिउँदै राखेको छ ।
ममदानीको जितले अमेरिकामा पुस्तौँदेखि चल्दै आएको नवउदारवादी खेललाई अर्थपूर्ण चुनौती दिनसक्ने ढोका खोलेको छ ।
यसै कारण यो जितको ठुलो महत्त्व छ । कुनै उम्मेदवारले जित्दैमा त्यसको महत्त्व हुने होइन, तर ठुलो अवरोध तोड्ने जितको महत्त्व हुन्छ । धनाढ्यहरूले धन थुपार्दै जाँदा हामीले भने अभाव र राज्यको खर्च कटौतीमा बाँच्नुपर्छ भन्ने विश्वास गर्न लगाइएको थियो । अब त्यो भ्रमको पर्दा उठेको छ ।
आमसञ्चार माध्यमहरूले वालस्ट्रिटले रोजेका उम्मेदवारलाई आफूखुसी जिताउन सक्छन् भन्ने दम्भी विचार पनि धुलोपिठो भएको छ यतिबेला । केही महिना यता ममदानीमाथि निरन्तर हमला भइरहेका थिए, तर उनीहरूका सबै प्रयास व्यर्थ भए । बहुमत मानिसले पत्याइदिएनन् ।
चुनावसम्म पुग्दा उनीहरूले व्यापारीहरूको कठपुतली उम्मेदवार एन्ड्र्यु कुमोलाई कुम्लो बोकेर घर फर्काइदिए । हाम्रो इतिहासको पछिल्लो कालखण्डको लामो समयमा पहिलो पटक जनताले सरल भाषामा ठुलो सन्देश दिएका छन्– जनताले जित्न सक्छन् ।
यदि न्युयोर्क जस्तो ठाउँमा जनताका प्रतिनिधिले जित्न सक्छन् भने उनीहरू जहाँ पनि जित्न सक्छन् ।
(कमनड्रिम्सबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण