लिगबिना फुटबल शून्य, डोमेस्टिक कपले दीर्घकालीन विकास हुँदैन : मेघराज केसी
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक मेघराज केसीले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले ए डिभिजन लिग नगर्ने एन्फाको निर्णयविरुद्ध खेलाडीहरूले चालेको कदमलाई ‘शतप्रतिशत जायज’ भन्दै यसले नेपाली फुटबलको भविष्यमै सङ्कट ल्याएको बताएका छन् ।
केसीका अनुसार खेलाडीहरूको मुख्य माग लिगको निरन्तरता हो । लिग फुटबल उनीहरूका लागि केवल खेल नभई पेसा, आयआर्जन र भविष्य सुनिश्चित गर्ने माध्यम हो । लिगको अभावमा खेलाडीहरूले आफ्नो खेल जीवनलाई निरन्तरता दिन नसक्ने र फुटबल छाडेर अन्य विकल्प खोज्न बाध्य हुने उनको भनाइ छ । विश्वस्तरमा पछाडि रहेको नेपाली फुटबललाई यस्तो अवस्थाले थप निरुत्साहित गर्दै खेलाडी पलायन गराइरहेको भन्दै केसीले चिन्ता व्यक्त गरे ।
प्रशिक्षक केसी लिगलाई वर्षभरि पढाएर परीक्षा लिने प्रक्रियासँग तुलना गर्छन्, जहाँ खेलाडीहरूले लामो समयसम्म प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी भई परिपक्व बन्ने अवसर पाउँछन् । देशका विभिन्न सहरमा हुने घरेलु नकआउट फुटबल कपहरुले खेलाडीको दीर्घकालीन विकासमा खासै योगदान नगर्ने उनको तर्क छ ।
विश्वका कुनै पनि देशमा फुटबलको विकासका लागि बलियो लिग अनिवार्य रहेको बताउँदै केसीले लिगबिना फुटबल ‘शून्य’ को अवस्थामा पुग्ने बताए । उनले एन्फाले फिफा र एएफसीजस्ता अन्तर्राष्ट्रिय निकायबाट प्राप्त आर्थिक सहयोगको व्यवस्थापन मात्रै गरिरहेको, तर नेपाली फुटबलको जग बलियो बनाउन काम नगरेको आरोप लगाए ।
‘यदि तीन वर्षमा तीनवटा लिग भएको भए, खेलाडीले नियमित रूपमा खेल्न पाउँथे र आत्मनिर्भर बन्न सक्थे,’ उनले भने । सानोतिनो डोमेस्टिक कप सञ्चालन गरेर फुटबल चलायमान छ भन्ने भ्रम सिर्जना गर्ने प्रयास भइरहेको र यसले नेपाली फुटबललाई ओरालोतिरको यात्रामा धकेलिरहेको उनको दाबी छ ।
लिगको अभावले राष्ट्रिय टोलीको प्रदर्शनमा समेत प्रत्यक्ष नकारात्मक असर परेको केसीको विश्लेषण छ । पर्याप्त लिग नहुँदा खेलाडीहरूले आफूलाई निखार्ने अवसर पाउँदैनन् । फलस्वरुप, राष्ट्रिय टोलीमा कि त खेल जीवनको अन्तिम अवस्थामा पुगेका अनुभवी खेलाडीहरू राखिन्छन्, कि त ए डिभिजन लिग समेत नखेलेका अपरिपक्व खेलाडीहरूलाई मौका दिनुपर्ने बाध्यता आइपर्छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा नेपालले प्रतिस्पर्धी प्रदर्शन गर्न नसक्नु र खराब नतिजा आउनु स्वाभाविक भएको उनले बताए ।
खेलाडीहरूले एन्फाको गेटमा मेडल झुण्ड्याएर गरेको विरोध प्रदर्शनलाई केसीले निकै भावनात्मक कदमका रूपमा हेरेका छन् । उनले यसलाई एकजना डाक्टरले एमबीबीएस र एमडी पास गरेर पनि बिरामीको उपचार गर्न नपाउँदा आफ्नो सर्टिफिकेटको कुनै अर्थ नभएजस्तै खेलाडीको मेडलको मूल्य पनि खेल्ने अवसर नपाएमा अर्थहीन हुने उदाहरण दिए ।
एन्फामा बसेर निर्णय लिने व्यक्तिहरूले खेलाडीका ‘सर्टिफिकेट’ अर्थात् मेडलको वास्तविक मूल्य र महत्त्व नबुझेकै कारण नेपाली फुटबलमा यस्तो दयनीय अवस्था सिर्जना भएको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण