बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल–भारत सीमा नाका ३ दिन बन्द हुने

शुक्रबार, २१ कात्तिक २०८२, १७ : ०४
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • महोत्तरी जिल्ला प्रशासनले भारतको बिहारमा हुने निर्वाचनलाई ध्यानमा राख्दै सीमा नाका बन्द गर्ने सूचना जारी गर्‍यो।
  • शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म सीमा नाका बन्द रहनेछ, जसले मानवीय र आकस्मिक सेवा बाहेक सबै आवागमन रोक्नेछ।
  • धनुषा, सर्लाही, रौतहट जिल्लाका प्रशासनले पनि यस्तै सूचना जारी गर्दै जनकपुरधाम-जयनगर रेल सेवा अस्थायी रूपमा रोकिएको जनाएका छन्।

महोत्तरी । भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत बिचका सीमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

जारी सूचनाअनुसार शनिबार कात्तिक २२ गते साँझ ६ बजेदेखि मङ्गलवार कात्तिक २५ गते साँझ ६ बजेसम्म सीमा नाका बन्द रहने छ । बिहारमा दोस्रो चरणको मतदान मङ्गलवार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि ३ दिनका लागि सीमा नाका बन्द गर्न लागिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सीमा नाका बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवा बाहेक आवागमन पूर्ण रूपमा रोकिनेछ ।

त्यस्तै, धनुषा, सर्लाही तथा रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमा नाका बन्द हुने जनाएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द गर्नुपर्ने बताएका छन् ।

सीमा बन्द भएसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमा बन्द भएका कारण भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा सुचारु गरिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप