शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लन्डनमा ‘इन्फा अवार्ड २०२५’ को तयारी पूरा : दुई दर्जनभन्दा बढी कलाकारको उपस्थिति रहने

सोमबार, २४ कात्तिक २०८२, ०७ : ५६
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • लन्डनमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५ को तयारी पूरा भएको छ।
  • अवार्डमा दुई दर्जनभन्दा बढी नेपाली कलाकारहरूको उपस्थिति रहनेछ र विभिन्न प्रस्तुतिहरू हुनेछन्।
  • इन्फा अवार्डको मुख्य उद्देश्य नेपाली चलचित्र क्षेत्रको योगदानलाई सम्मान गर्नु हो।

लन्डन । लन्डनस्थित ग्रीनफोर्ड हलमा यही शनिबार आयोजना हुन लागेको  'इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५' को तयारी लगभग पूरा भएको छ। 

इन्फा इभेन्ट्स यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको अवार्डलाई नेपाली चलचित्र उद्योगका कलाकारहरूको महाउत्सवका रूपमा मनाइने आयोजकले जनाएका छन्। यसअघि नेपालमा भएको जेनजी आन्दोलनका कारण यो कार्यक्रम १३ सेप्टेम्बरमा स्थगित गरिएको थियो।

आयोजकका अनुसार, 'इन्फा अवार्ड २०२५' मा दुई दर्जनभन्दा बढी नेपाली कलाकारहरूको उपस्थिति रहनेछ। समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासना सिंह ठकुरी, गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दिया मास्के र फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बा लगायत थुप्रै चर्चित कलाकारहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा जीतु नेपाल 'मुन्द्रे', केदार घिमिरे 'माग्ने बुढा' र सिता देवी तिमिल्सेनाले कमेडी प्रस्तुति दिनेछन्। त्यसैगरी, कविता नेपाली, तेरिया मगर, समर्पण लामा, एलिशा शर्मा र ऊषा उप्रेतीलगायतले आकर्षक नृत्य प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

इन्फा अवार्डको मुख्य उद्देश्य नेपाली चलचित्र क्षेत्रको योगदान र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्दै चलचित्रको विकास, प्रवर्द्धन र विश्वव्यापी पहिचानमा योगदान पुर्‍याउनु रहेको आयोजकको भनाइ छ। आयोजकहरूले यस कार्यक्रमलाई "नेपालकै सबैभन्दा प्रतिष्ठित, गर्विलो र उत्कृष्ट अवार्ड शो" का रूपमा प्रस्तुत गरिने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप