दीपक आचार्य : जसले स्टारडम होइन, कन्टेन्ट रोजे
सारांश
- नयाँ निर्देशक दीपक आचार्यको डेब्यु फिल्म 'परान' ले दर्शकको मन जित्यो, जसले स्टारडमको सट्टा कन्टेन्टलाई प्राथमिकता दियो।
- फिल्मले सुरुमा कमजोर व्यापार गरे पनि दर्शकको 'माउथ पब्लिसिटी'ले सफलता दिलायो, जसले गर्दा हलबाट निकाल्ने अवस्था टर्यो।
- 'परान' ले नेपाली समाजसँग मिल्दोजुल्दो कथा प्रस्तुत गरेको छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोडेको छ र समाजमा सकारात्मक परिवर्तन ल्याएको छ।
काठमाडौँ । फिल्म उद्योगमा जब कुनै नयाँ निर्देशकले पाइला टेक्छ, ऊसँग अनेक चुनौती र अपेक्षाका पहाडहरू हुन्छन् । सफल निर्देशक बन्न उसले ठुलो संघर्ष र परम्परागत समीकरण, व्यावसायिक रणनीति र स्टारडमको सहारा लिनुपर्छ ।
तर, कलाकार दीपक आचार्य ‘काकु’ले आफ्नो डेब्यु फिल्म ‘परान’ मार्फत यी सबै मान्यतालाई चुनौती दिँदै एउटा फरक बाटो रोजे । जुन बाटो अहिले सही साबित भयो । उनले रोजेको बाटो हो, स्टार कलाकारभन्दा ‘कन्टेन्ट’ । जसलाई उनले पुराना कलाकार नीर शाहमार्फत प्रस्तुत गरेका छन् । जुन सफल साबित भयो ।
‘परान’ले एउटा वृद्धले बुढेसकालमा पुर्ख्यौली थलोमा परिवारको साथ खोजेको कथा पस्किएको छ, जुन नेपाली समाजसँग मिल्दोजुल्दो छ । त्यसैले त फिल्मले यतिबेला दर्शकको मन जितिरहेको छ । नेपाली फिल्म उद्योगमा विरलै देखिने कथा उठाएका आचार्यले सुरुवाती दिनहरूमा असहज अवस्था नभोगेका भने होइन । फिल्म रिलिजको पहिलो दिनको आँकडाले त उनी विचलित नै भएका थिए । सम्झँदा अझै पनि एक किसिमको पीडा महसुस हुने आचार्य बताउँछन् ।
‘फिल्मले ओपनिङमा जम्मा ६ लाखको व्यवसाय गरेको हो । त्यो ओपनिङ सबैभन्दा झुर मात्र हैन, झुरेस्ट हो,’ आचार्यले भने, ‘सुरुवाती दिनमा यस्तो कमजोर ओपनिङले मेरो मनमा गहिरो चोट पुगेको थियो । दुई तीन दिन त्यस्तै हुँदा हलबाट फिल्म निकाल्ने अवस्था भइसक्या थियो ।’ फिल्म निकाल्न ‘अलर्ट’ बन्ने अवस्था जीवनको सबैभन्दा पीडाको क्षण हुने उनले सुनाए ।

चौथो दिनबाट भने फिल्मले एक किसिमको चमत्कार गर्यो । दर्शक ओइरिन थाले । ‘परान’ केवल एउटा फिल्म रहेन, यो अहिले दर्शकको दिलको धड्कन बनिसकेको छ । सुरुवातको व्यवसायमा ‘झुरेस्ट’ ट्याग पाएको फिल्मले राम्रो व्यवसाय गरेपछि उनी दङ्ग छन् । पछिल्लो समय बढेको फिल्मको व्यवसाय दर्शकको ‘माउथ पब्लिसिटी’ले सम्भव भएको उनको बुझाइ छ ।
‘परान’को सफलताको सबैभन्दा ठुलो सूचक यसले दर्शकबाट पाएको प्रतिक्रिया हो । यो अनुभव सबैको लागि सायद दुर्लभ हो,’ आचार्य थप्छन्, ‘यस्तो प्रतिक्रिया संसारमा एकदम विरलै मान्छेले पाउँछन् । आफ्नो कर्मबाट यो लेभलको प्रतिक्रिया पाउँछु भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।’
‘सामान्यतः हरेक फिल्मले मिश्रित प्रतिक्रिया पाउने गर्छ, तर परानको हकमा यो भिन्न देखियो । योचाहिँ एकदम रियल हो,’ आचार्य अगाडि थप्छन्, ‘दर्शक आफैं स्वस्फूर्त अभियान चलाएर फिल्म हेर्न प्रेरित भएको देख्दा गर्व लाग्छ ।’ वर्ड अफ माउथले अहिले गाडी नै रिजर्भ गरेर गाउँ–गाउँबाट फिल्म हेर्ने अभिनयन चलेको उनले बताए । कतिपय ठाउँमा त शो नपाउँदा दर्शक फर्केका समेत उनले सुनाए ।
‘दर्शकको साथ त्यसै मिलेको होइन, परानमा जीवन शक्ति छ,’ उनी भन्छन्, ‘फिल्मको व्यवसाय दिन–प्रतिदिन बढ्दो छ ।’
‘परान’को कथा, जुन अहिले दर्शकको मनमा गहिरोसँग बसेको छ, त्यो निर्देशक दीपक आचार्यको व्यक्तिगत भोगाइ र मानवीय संवेगहरूको गहिरो प्रस्तुति हो । कोभिड–१९को समयमा आफूले भोगेको जीवन र मृत्युको दोसाँध, बुवा गुमाएको पीडा र मनमा लागेका कुरा भोलि किन राख्ने, आजै भन्नुपर्छ भन्ने हिसाबले उनले फिल्म बनाएका हुन् । यस्तो नितान्त व्यक्तिगत र गहिरो भावनात्मक कथाका लागि उनलाई कुनै सुपरस्टार होइन, पात्रको आत्मालाई जीवन्त बनाउन सक्ने कलाकारको खाँचो थियो । त्यसका लागि उनले रोजे दिग्गज अभिनेता नीर शाह ।
उनका अनुसार त्यो काल्पनिक पात्र पनि थिएन । त्यो वास्तविक आफूले झलझली देखेको पात्र थियो । ‘त्यसमा शाह नै फिट हुनेमा म क्लियर थिएँ । फिल्मको मुख्य भूमिकामा उहाँको चयनमा कुनै व्यावसायिक हिसाबकिताबभन्दा पनि पात्रको प्राणका लागि भएको थियो,’ आचार्य भन्छन्, ‘आफ्नो चयनले पर्दामा जीवन्तता भर्ने सामथ्र्य राखेकोमा खुसी छु ।’
शाहलाई मुख्य भूमिकामा राख्ने भएपछि कतिपयले स्टारडम भएका कलाकार राख्न दबाबसमेत दिएका उनी बताउँछन् । ‘नाक खुम्च्याउनेहरू, गाली गर्नेहरू पनि थिए । पछिल्लो समय स्टारडमको पछि दौडिनेको भिडमा शाहको चयन बक्स अफिसका लागि जोखिमपूर्ण जो थियो,’ उनी भन्छन् । त्यो जोखिम मोलेका कारण नै उनी अहिले सही साबित भए ।
शाहलाई चयन गरेपछि सबैभन्दा ठुलो मार फिल्मका निर्माताहरूले खेप्नुपरेको उनी सुनाउँछन् । ‘मलाई जति प्रेसर आयो, त्यसको दुई गुणा तीन गुणाचाहिँ प्रोड्युसरहरूमा पुग्यो, निर्माताहरूलाई दोहोरो दबाब थियो, शाहलाई मुख्य भूमिकामा लिनु र एक सिरियलका परिचित अनुहार (दीपक आचार्य) लाई डेब्यु निर्देशकको रूपमा विश्वास गर्नु,’ उनले भने । दबाब थेग्न नसक्ने स्तरको भए पनि निर्माताले आफूमाथि विश्वास गरेकै कारण फिल्म बन्न सफल भएको आचार्य खुलाउँछन् ।
‘मेरो विश्वासको जग कन्टेन्ट नै हिरो थियो । नेपाली फिल्ममा अरू कुरामा धेरै मेहनत हुन्छ/गरिन्छ । तर कन्टेन्टमा मिहिनेत गरिँदैन भन्ने मलाई एकदम खट्किराथ्यो,’ आचार्य भन्छन्, ‘यो प्रश्नको जवाफ कामले दिने प्रेरणा जाग्यो ।’
‘परान’ प्रदर्शनमा आएपछि त्यसले उद्योगको अपेक्षा र आलोचनालाई एकैपटक चिर्दै दर्शक भावनात्मक रूपमा जोडिएका छन् । निर्देशक आचार्यका अनुसार फिल्म हेर्ने दर्शकले स्वस्फूर्त दर्शक बोलाइरहेका छन् । त्यो अभियानजस्तो भएको उनलाई लागेको छ । ‘यो कुनै योजनाबद्ध मार्केटिङ वा करोडौँको प्रचारको परिणाम थिएन, बरु माउथ पब्लिसिटीको शक्ति थियो, जहाँ एक दर्शकले फिल्म हेरेपछि अर्को लाई हेर्न प्रेरित गरे,’ फिल्मको तारिफ गर्दै उनले भने ।
फिल्मले दर्शकलाई हाँस्न वा रुनका लागि मात्रै बाध्य नपारेको बरु मानवीय संवेगका सबै पाटालाई भित्रैबाट छुन सफल भएको उनलाई लागेको छ ।
‘मान्छे रुन त्यत्तिकै रुँदैन । फिल्ममा दुःख दिएर रुवाइएको छैन । आफू फिल गरेर रोएका छन्,’ उनी भन्छन्, ‘तँ मेरो औषधि होस् कान्छा जस्ता संवादले दर्शकको मनमा यति गहिरो छाप छोड्यो कि उनीहरूले आफूलाई पात्रसँग एकाकार भएको महसुस गरे ।
‘परान’ले मनोरञ्जनको सीमा नाघेको बताउने उनी यसले नेपाली समाजमा एउटा सकारात्मक रूपान्तरणको भूमिका खेलेको ठान्छन् । यसलाई ‘रिभोलुसन’ भन्न पनि उनी हिचकिचाउँदैनन् ।

विदेश जाने सोच बनाएका युवाले फिल्म हेरेपछि आफ्नो आमाबुवालाई अँगालो मारेर रोएको, विदेश नजाने निर्णय गरेको जस्ता कुराले ‘परान’को प्रभावलाई अझ गहिरो बनाएको छ । एक शिक्षिकाले समेत फिल्म हेरेपछि आफ्नो मनस्थिति नै परिवर्तन भएको र विदेश जाने प्रयास त्यागेको बताएका निर्देशक आचार्य दाबी गर्छन् ।
यस्ता प्रतिक्रियाहरूबाट समाजका लागि केही महत्त्वपूर्ण काम गरेको उनलाई महसुस भएको छ । यो केवल एक फिल्मको सफलता मात्र नभई, सिर्जनामार्फत समाजको मानसिकता परिवर्तन गर्न सकिन्छ भन्ने एक ज्वलन्त भएको उनको ठम्याइ छ ।
अबको चुनौती
सानो पर्दाको कलाकारिताबाट उदाएका कलाकार हुन् दीपक । पछिल्लो समय ‘सक्किगो नि’ सिरियलमा ‘काकु’को भूमिकाबाट उनी धरैमाझ चिनिए । र ‘परान’बाट फिल्म निर्देशनमा डेब्यु पनि गरे । अभिनयको अलावा अब निर्देशकको रूपमा उनी चिनिनेछन् ।
पहिलो फिल्मको चर्चा र सफलताले उनीमाथि चुनौती थपिएको छ ।
‘अबको मेरो फिल्ममा दर्शकहरू परानको अपेक्षा राखेर जानुहोला, त्यसले गर्दाखेरि त्यो मिट गर्ने गरी काम गर्नुपर्छ भन्ने हिसाबले ठुलै चुनौती पो देखेको छु,’ आचार्य भन्छन्, ‘चुनौती कुनै बाहिरी प्रतिस्पर्धीहरूसँग नभई आफ्नै सफलताको मानक र अपेक्षासँग हुनेछ ।’
सगरमाथाको चुचुरोमा पुगेपछि अब कहाँ जाने भन्ने जस्तो अनुभव अहिले आफूले गरिएको उनलाई लागेको छ ।
‘कतिपयका लागि पहिला फिल्मले त्यसपछिको यात्रा सहज बनाउँछ,’ उनी थप्छन्, ‘मेरो लागि भने अबको यात्रा अझ कठिन र चुनौतीपूर्ण हुने निश्चित छ ।’
‘परान’ले स्टारको दौडभन्दा उठेर कन्टेन्टको दौड सफल हुने प्रमाणित गरेको पनि उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण