‘प्रधानमन्त्री र मन्त्रीहरुको भागाभाग हुन्छ भन्ने मलाई लागेकै थियो’
काठमाडौँ । नेपाली कांग्रेसमा अहिले महाधिवेशन कहिले गर्ने भन्नेमा बहस चलिरहेको छ । फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । कांग्रेसमा एउटा पक्ष चुनावअघि नै महाधिवेशन गर्नुपर्छ भनिरहेको छ भने अर्को पक्ष चुनावपछि ।
चुनावको मिति तोकिएको र माहोल समेत विस्तारै बन्न लागेको अवस्थामा संसद् पुनर्स्थापनाको कुरा पनि उठिरहेको छ । नेकपा एमाले यस मुद्दलाई लिएर अगाडि जाने मुडमा देखिन्छ । कांग्रेस निर्वाचनको पक्षमा देखिएको छ, तर केन्द्रीय समिति बैठक चलिरहेकाले औपचारिक निर्णय भने आउन सकेको छैन ।
कांग्रेस नेता डा. शेखर कोइराला स्पष्ट वक्ता मानिन्छन् । उनी मनमा लागेका कुरा नघुमाई सोझो तरिकाले व्यक्त गर्छन् । रातोपाटीले डा. कोइरालासँग पछिल्लो समय कांग्रेसमा देखिएको महाधिवेशन विवाद, चुनावी वातावरण, निर्वाचन कि संसद् पुनर्स्थापना, केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुका कारण लगायत अन्य समसामियक विषयमा केन्द्रित रहेर विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, नेता डा. कोइरालासँग गरिएको कुराकानी :
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दलहरूभित्र पुनर्गठन होला, पुनर्संरचना होला, नेतृत्व हस्तान्तरण होला भन्ने जुन आशा गरिएको थियो, त्यो आशामा तुषारापात भयो भन्यो भने सही हुन्छ ?
म त्यसरी चाहिँ हेर्दिनँ । अलिअलि अरू पार्टीहरूको हेर्यो भने केही राम्रा हुन् या नराम्रा चेन्जेज भइरहेका छन् । नेपाली कांग्रेसमा मैले त करिब–करिब तीन वर्षदेखि नै नयाँ नेतृत्वले अब आउने चुनाव हाँक्नुपर्छ भनिरहेको हो । तीन वर्षदेखि बसेका प्रत्येक केन्द्रीय समिति बैठकमा २०८२ को मंसिरभित्र १५ औँ महाधिवेशन अधिवेशन गर्नैपर्छ भनेर भन्दै आएको हुँ ।
तर अहिले आएर केन्द्रीय समिति बैठक सुरु भएको एक महिना जति भइसक्यो महाधविशनको मिति टुंग्याउन सकिएको छैन । कहिले दसैँ–तिहार, कहिले के भनेर अल्झिरहेका छौँ ।
सबैभन्दा लामो केन्द्रीय समिति बैठक हुन्छ कि जस्तो छ ?
यसपटकको बैठक वास्तवमा लामै हुँदैछ ।

दलहरूभित्र जेनजी आन्दोलनले जरा हल्लायो भन्ने खालका बहस चलिरहेका छन् तर तात्विक रूपमा जुन परिवर्तन देखिनुपर्थ्यो, त्यो देखिएको छैन नि ?
अब यसलाई कसरी हेर्ने । माओवादी र समाजवादी पार्टी एक ठाउँमा उभिए । भनौँ न उनीहरू मेलमिलाप गरेर सात–आठवटा कम्युनिस्टहरू एक ठाउँमा आए ।
टाउको त उही छ, परिवर्तन भएन ?
उनीहरूको टाउको उही छ । कांग्रेसको टाउको मात्रै हैन, पूरा परिवर्तन गर्नुपर्छ भनेका छौँ हामीले । केही साथीहरूको टाउको मात्रै परिवर्तन गरौँ भन्ने पनि होला । मेरो त्यो होइन । मैले नयाँ नेतृत्वसहितको टिम लिएर अगाडि जानुपर्छ भन्छु । त्यसैले मैले नियमित अधिवेशन गरौँ र निर्वाचनभन्दा पहिले गरौँ भनिरहेको छु ।
तपार्ईं राष्ट्रिय नेताको हैसियतले सबै पार्टीहरूको बारेमा अलिकति विश्लेषण गर्दिनुहुन्थ्यो कि भन्न खोजेको । तपाईंले घुमाएर कांग्रेसभित्रै लिएर आउनुभयो ?
आन्दोलनपछि हरेक पार्टीमा हलचल भएको छ । इभन रास्वपामा पनि हलचल भएको छ । नयाँ–नयाँ पार्टीहरू खुल्दैछन् । को कता जान्छ, अहिले भन्न गाह्रो छ । जेनजीले पनि पार्टी खोल्दै हुनुहुन्छ । जेनजी समूह उमेरका साथीहरूले पनि पार्टी खोल्दै हुनुहुन्छ । यो बीचमा १८ वटा त नयाँ दलले दर्ताका लागि निवेदन दिइसके । निर्वाचनको मुखमा जहिले पनि हुने यही हो । अब १८ दलमा कतिवटा पार्टीले निर्वाचनमा भाग लिन्छन् । कतिवटा पार्टीले भाग लिँदैनन् ।
तर जेनजीको मुभमेन्टले कांग्रेस, एमाले र माओवादीमा मात्रै होइन, सबै पार्टीमा एउटा हलचल चाहिँ ल्याएको छ । आन्दोलनपछि परिवर्तन ल्याउनुपर्छ, तिमीहरू भित्र पनि परिवर्तन गर्नुपर्छ भन्ने छ ।
तपाईंले डेढ वर्षअघि विराटनगरमा कांग्रेस र एमालेको सरकार भनेर बोल्नुभएको थियो । त्यही अनुसार सरकार पनि गठन भयो । तपाईंको त्यही भनाइ पनि जेनजी आन्दोलन आउनमा केही कारक छ भन्यो भने सही हुन्छ ?
कहाँ तपाईं त्यसमा लाग्नुभयो ।
एमाले पनि बोल्न नसकेको बेलामा सबैभन्दा पहिला तपाईंले कांग्रेसमा बोल्नुभयो । प्रतिनिधिसभाको पहिलो र दोस्रो ठुला दलका सरकार बनेपछि संसद् प्रतिपक्षविहीन भयो । सडक खाली भयो, अनि भदौ २३–२४ आयो ?
होइन अवस्था फरक छ । मैले सोचेको, मैले भनेको । मैले केपी शर्मा ओलीजीसँग गरेको कुरै बताइदिन्छु तपाईंहरूलाई ।
बालकोटमै गएर गरेको कुरा ?
बालकोटमै गएर कुरा गरेको हो । नेपाली कांग्रेस एउटा डेमोक्रेटिक पार्टी हो । जसरी सरकारहरू बन्ने, गिर्ने भइरहेका थिए, फङ्सनिङ भइरहेका थिएनन् । यसले नागरिकहरु आजित भएको मैले देखेको थिएँ । अनि मलाई के लाग्यो भने कांग्रेस र एमाले एक ठाउँमा उभिए भने राम्रो होला । धेरै प्रगति अरू बेला पनि गरेका छन् भनेर भेटेर कुरा गरेको हुँ ।
कांग्रेस र एमाले मिलेर काम त होइन, आन्दोलन चाहिँ गरेका छन् ?
हैन, हैन । प्रगति कसरी गर्यौँ भने म बताउँछु । २०४६ सालको आन्दोलनमा कांग्रेस–एमाले एक ठाउँमा उभियौँ, बहुदलीय व्यवस्था ल्यायौँ । त्यसपछि सरकार बन्यो, त्यसपछि फेरि हामी अलग भयौँ । चुनाव लड्यौँ । २०५६ सालको निर्वाचनभन्दा पहिले कांग्रेसको मालेसँग सरकार बन्यो । एमाले फुटेर माले बन्यो । कांग्रेससँग माले आयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । त्योभन्दा पहिला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यसपछि गिरिजाप्रसाद कोइराला २०५६ सालमा हुनुभयो । अनि एमालेसँग मिलेर निर्वाचन गरायौँ । त्यसपछि अलग–अलग निर्वाचन लड्यौँ ।
सरकारमा सँगै भएपनि २०५६ सालमा निर्वाचन अलग–अलग लड्यौँ । २०६२–६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइराला एमालेको पनि समर्थनमा प्रधानमन्त्री हुनुभयो । २०६४ सालमा हामी एक्ला–एक्लै निर्वाचन लड्यौँ । त्यसपछि सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि डेढ वर्ष एमालेसँगै सरकार बन्यो । संविधान आयो । एउटा कमन फ्याक्टर के छ भने हरेकमा नेपाली कांग्रेसको नेतृत्व थियो । द्याट इज, मैले चाहिँ त्यो दिमागमा राखेको थिएँ । त्यसअनुसार मैले ओलीजीसँग कुरा गरेको थिएँ ।
‘टावरिङ पर्सनालिटी’ शेरबहादुर देउवा र केपी शर्मा ओली हेर्नुभयो । के तपाईं झुक्किनुभयो ?
मैले चाहिँ कांग्रेसको नेतृत्व चारैतिर देखेँ, त्यो चारवटा मैले जुन तपाईंलाई भनेँ । त्यसरी मैले हेरेँ । त्यसरी हेर्नुभयो भने अब ठीकै हो तपाईंले भनेको । त्यो पनि म अझै भन्छु, शेरबहादुरजी बनेको भए सायद यो अवस्था हुँदैनथ्यो होला भनेर मलाई अहिले पनि लाग्छ ।
ए, कांग्रेसको नेतृत्व भएको भए...
भएको भए अलि फरक हुन्थ्यो । किनकि जतिसुकै भनेर पनि कांग्रेस अलिकति लिबरल, सबैसँग कुरा गर्ने, बुझ्ने, यो गलत हुँदैछ है, गर्नुहुँदैन भन्ने धारबाट अघि बढ्थ्यो ।
डाक्टरसाबले बारम्बार कांग्रेसलाई ‘मध्यममार्गी पार्टी हो’ भन्नुहुन्छ । कतिपयले त्यसलाई आलोचना गरेर ‘कुनै अडान नभएको पार्टी’ भन्दिन्छन् । बीचमा कसरी बिग्रियो त कुरा ?
हैन, दुई–तीनवटा कुरा छन् । यो मैले त कल्पना गरिसकेको थिएँ, सोचिसकेको थिएँ । मैले इन्फर्मेसन पनि पास अन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीजी हुनुहुन्थ्यो । उहाँलाई पनि गएर भनेँ परिस्थिति राम्रो छैन, सोच्नुस्, विचार गर्नुस् । यो उहाँ (ओली) चाइना जानुभन्दा पहिलेको कुरा हो ।
ओलीले मान्नुभएन ?
उहाँको जुन सोच्ने, सुन्ने बानी छ, सुन्न त सुन्नुहुन्छ तर गर्ने त एकदमै आफ्नो गर्नुहुन्छ ।
यो आउने निश्चित छ भन्ने थियो तपाईंलाई ?
मैले हाम्रो सभापतिजीलाई पनि गएर यस्तो अवस्था आउँदैछ भनेको हो । एकदम, म त निश्चिन्त थिएँ ।
तपाईं यो अवस्था आउनेमा निश्चित हुनुहुन्थ्यो ?
यही स्केलमा होला भन्ने म भन्न सक्दिनँ थिएँ । तर मेरो सूचनाअनुसार तिहारपछि हुन्छ भन्ने थियो । त्यो ट्रिगर केले गर्यो भन्ने कुरा छ । भ्रष्टाचार त पहिलेदेखि भइरहेको हो । ब्याड गभर्नेन्सको कुरै भएन, गभर्नेन्स छँदै थिएन भने पनि हुन्छ । तर सामाजिक सञ्जाल बन्द भएपछि आन्दोलन अलि चाँडै भयो ।
बारुदखाना पहिलेदेखि बनाइदिएकै थियो, त्यसमा जेनजीहरूले सलाई कोरेर लाइदिए भन्याजस्तै भयो कि क्या हो ?
कांग्रेस, एमालेले मात्रै बनाएको होइन । त्यो सबै राजनीतिक पार्टी जो छन्, तिनीहरू सबैले बनाएका थिए । त्यसलाई म त्यो पनि भन्दिनँ । जेनजीहरूले ट्रिगरको काम गरे । उनीहरूले सामाजिक सञ्जाल ब्यान्ड भएपछि आक्रोसित भए । अहिलेको युवाहरू सामाजिक सञ्जालबिना बस्नै सक्दैनन् होला जस्तो लाग्छ ।
युवाहरू सामाजिक सञ्जाललाई अक्सिजन नै भन्छन् ?
त्यो अब त्यो राम्रो हो, नराम्रो हो, त्यसमा डिबेट नगरौँ । तर त्यसले गर्दाखेरि यो स्थिति आयो । आउने नै थियो । यो हुन्थ्यो नै ।
तपाईंलाई मुलुकको प्रधानमन्त्री हेलिकप्टरै चढेर भाग्नुपर्ने स्थिति आउँछ भन्ने लागेको थिएन होला ?
अलमोस्ट थियो ।

थियो है ?
मन्त्री, प्रधानमन्त्रीको भागाभाग हुन्छ भन्ने लागेको थियो । यो स्केलमा हताहत हुन्छन् भन्ने चाहिँ लागेको थिएन ।
भदौ २४ गतेको घटना अनुमान गर्नुभएको थिएन होला ?
यो स्केलको अनुमान गरेको थिएन ।
भदौ २३ गतेको अनुमान गर्नुभएको थियो ?
मैले आफ्नो घर जल्छ भन्ने कसरी सोच्नु, कल्पना गर्नु ? विराटनगरको १२५ वर्ष पुरानो कोइराला निवास जल्छ भन्ने कसरी परिकल्पना गर्नु ? कोइराला निवास मेरो घर मात्रै होइन । इतिहास जल्यो । मलाई चिन्ता लागेको सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार, कृष्णप्रसाद भट्टराईको आश्रम जले । कोइराला निवास, किसुनजीको आश्रम, गणेशमानजीको चाक्सीबारी डेमोक्रेसीका प्रतीक थिए । यो त संस्थाहरू नै खत्तम गर्न खोजेको जस्तो देखियो । त्यसले अलिकति अप्ठ्यारो लाग्यो ।
केही प्रसंग बदलौँ, अब महाधिवेशनको अलिकति कुरा गरौँ । विशेष महाधिवेशन कि नियमित, तपाईं केमा ?
म नियमित महाधिवेशनको पक्षमा हो । निर्वाचनभन्दा पहिला नियमित महाधिवेशन गर्नुपर्छ भन्दै आएको छु ।
फागुन २१ गतेका लागि घोषित निर्वाचनभन्दा अगाडि महाधिवेशन हुनुपर्छ भन्ने हो ?
मेरो त अहिले होइन । म त सुरुदेखि नै भन्दैछु यो कुरा । तीन वर्षदेखि म एउटै कुरा दोहोर्याइरहेको छु ।
विशेष महाधिवेशन गर्न किन मन लागेन ?
हैन, मलाई मन लाग्ने, नलाग्ने कुरा होइन ।
सभापति बन्न पाइँदैन कि भन्ने तपाईंको हिसाबकिताब त होइन नि ?
हैन । सभापति बन्ने, नबन्ने सेकेन्डरी कुरा हो । सभापति विशेष अधिवेशनले बनुँला या नियमित अधिवेशनले बनुँला । त्यो आफ्नो कुरा हो । नियमित भयो भने तलैदेखि सबै परिवर्तन भएर आउँछ । हामीहरूसँग चार वर्ष समय थियो । अधिवेशन चार वर्षपछि मंसिरमा हुन्छ भन्ने त १४ औँ महाधिवेशन सकिने बेलामा नै थाहा थियो ।
तपाईंले पार्टीको नयाँ नेतृत्वले निर्वाचन गरोस् भन्नुभएको छ । त्यो त विशेष महाधिवेशनले पनि फेरिएला नि ?
विशेष महाधिवेशनका सन्दर्भमा दुई-तीनवटा विषय छन् । अलिकति साथीहरूलाई कन्फ्युजन पनि लाग्छ । शेखरै कन्फ्युजनमा छ कि भन्ने पनि छ । जसरी अन्य दलहरू टुटफुट भइरहेका छन्, त्यो कांग्रेसमा पनि आउँला भन्ने चिन्ता छ । प्राय: दलमा टुटफुट भएको देख्छु म ।

कांग्रेसमा फुट आइसक्यो भन्छन् त ?
फुट आएको छैन तर फुट्छ कि भन्ने चिन्ता हुन्छ । अदृश्य शक्तिहरू जहाँ पनि भइरहेका हुन्छन् । यो स्वाभाविक हो । विशेष अधिवेशन भन्दैछौँ र बाध्यात्मक छ । फेरि बडा इन्ट्रेस्टिङ छ । कांग्रेसका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष अधिवेशनको माग गरेपछि त्यो गर्नैपर्छ । त्यसमा कुनै इफ्स एन्ड बट्सको कुरै छैन ।
त्यो त अवैधानिक हो रे नि त ?
के अवैधानिक ?
महाधिवेशन प्रतिनिधिहरू ?
किन ?
विमलेन्द्र निधिले त सार्वजनिक रूपमै त्यही भनिरहनुभएको छ ?
त्यसरी हेर्नुभयो भने हामी पनि अवैधानिक भइसक्यौँ । म चाहिँ लिगल कुराहरूमा जान्न । कोही कोर्टमा गयो भने त्यो कोर्टले डिसिजन गर्ला । यहाँ राजनीतिको कुरा गर्नुपर्यो । यो कानुनको कुरा होइन । कानुनको कुरालाई एकातिर पन्छाऊँ । राजनीति हेर्दाखेरि विशेष अधिवेशनमा ४० प्रतिशत हस्ताक्षरले गरेपछि हुन्छ, ५४ प्रतिशतले हस्ताक्षर गरेका छन् । अब उहाँहरूले मागेको अनुसार गर्नैपर्ने हुन्छ । तीन महिनाभित्र गर्नुपर्छ । म विशेष अधिवेशनको एगेन्स्टमा होइन । म केन्द्रीय समितिले विशेष अधिवेशन डिक्लेयर गरोस् भन्न चाहन्छु ।
त्यसको कारण छ । ५४ प्रतिशतको मागलाई एक्सेप्ट गरेमा भेरिफिकेसन गर्नुपर्छ । त्यो पुष्टि गर्नुपर्यो । हस्ताक्षर गराउन जिल्लाबाट बोलाउनुपर्यो । त्यो गर्नुभन्दा केन्द्रीय समितिले नै निर्णय गर्नुपर्छ भन्ने मेरो भनाइ हो । किन गर्ने भन्दाखेरि हाम्रो कार्यकाल चार वर्षको थियो, सकियो । अब जस–जसको गर्न बाँकी छ सभापति, उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यहरूको पनि निर्वाचन गर्नुपर्छ । त्यसले एउटा ड्रब्याक कहाँ हुन्छ भने नयाँ कोही पनि आउँदैन तलबाट ।
अहिले भएकै महाधिवेशन प्रतिनिधिहरूबाट अधिवेशन हुन्छ । इट्स नट ब्याड । त्यसको एउटा टर्म लिमिट गर्दिउँ, एक वर्ष, डेढ वर्ष कति गर्ने हो । नट मोर द्यान वान एन्ड हाफ इयर । त्यसको कारण छ । एक वर्ष विधानअनुसार थप्न पाइन्छ । छ महिना संविधानअनुसार थप्न पाइन्छ । होइन, एक वर्ष गर्ने भए एक वर्ष गरौँ ।
विशेष महाधिवेशनबारे पार्टीको विधान स्पष्ट छैन ?
त्यही त, एक वर्षका लागि गरौँ भनिरहेको छु ।
त्यो पनि विधानमा छैन ?
केन्द्रीय समितिले निर्णय गरेर एक वर्ष या बढीमा डेढ वर्षका लागि गर्ने हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेपछि बाध्यात्मक छैन भन्दिनँ म, बाध्यात्मक छँदैछ । तर सबै राजनीतिक दलमा टुटफुट, जोडघटाउ भइरहेको छ । कांग्रेसमा त्यो नहोस् भन्नका लागि मैले विशेष महाधिवेशन केन्द्रीय समितिले निर्णय गरेर निश्चित समयका लागि गरौँ भनेको हुँ ।
केन्द्रीय समितिलाई त्यो निर्णय गर्ने अधिकार छ । एक वर्ष भनेर पनि गर्न सक्ने अधिकार छ । ५४ प्रतिशत साथीहरूले हस्ताक्षर गरेर बुझाएको पत्रलाई इग्नोर गर्न खोजेको होइन मैले । त्यसमा भेरिफिकेसन गर्यो भने टुटफुट हुन्छ कि भन्ने चिन्ता हो ।
विशेष महापधिवेशनका पक्षमा हस्ताक्षर गर नगर भनेर तपाईंले भन्नुभएको छ कि छैन ?
मैले गर्ने, गराउने, नगराउने भन्ने महत्वपूर्ण भएन । कसले गरायो, गराएन भन्ने महत्वपूर्ण होइन । पार्टी नफुटोस्, पार्टी विग्रहमा नजाओस् भन्ने मात्रै हो । पार्टी एकढिक्का बनाएर जानका लागि पनि विशेष महाधिवेशन गरे हुन्छ, तर केन्द्रीय समितिले निर्णय गर्नुपर्यो ।
विशेष महाधिवेशन त दुई महाधिवेशनबीचको अवधिमा भएको भए ठिक हुन्थ्यो होला ? अहिले त नियमित महाधिवेशनको बेला आइसक्यो ?
म त पहिलेदेखि भन्दैछु त, नियमित महाधिवेशन निर्वाचनभन्दा पहिले गरौँ । केन्द्रीय समिति बैठकमा निर्वाचनपछि या निर्वाचनअघि भन्ने विवाद चल्दैछ । नियमित त नियमितै भन्दै हुनुहुन्छ साथीहरू । नियमितमा कसैको फरक मत छ जस्तो लाग्दैन ।
विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर नक्कली छ कि भन्ने डर छ ?
होइन, नक्कली पनि होइन । साथीहरूलाई त्यति अविश्वास गर्नुहुँदैन । यस्ता कुराहरूमा हामी जानु हुँदैन ।
भोलि शेरबहादुर देउवा, डा. शेखर कोइराला अगाडि बसेर ‘ल, हस्ताक्षर गर साथी हो’ भन्यो भने त ३० प्रतिशत पनि पुग्दैन भन्छन् नि ? त्यो डर होला के तपाईंलाई ?
होइन, साथीहरू रिसाउलान् नि । किन त्यसो गर्ने ? एउटा कुरा तपाईंले बुझ्नुस्, मेरो भनाइ कुनै पनि हालतमा पार्टी फुट्नुभएन । म विशेष महाअधिवेशनको विरुद्धमा होइन । तर अहिलेको परिस्थितिमा निर्वाचनभन्दा अगाडि नियमित अधिवेशन गरौँ भन्ने हो । त्यो नगर्ने भनिसके । त्यसो भए निर्वाचनपछि गर्दा त अप्ठ्यारो हुन्छ । किनभने म त सुरुदेखि नै भन्दैछु, नयाँ नेतृत्वले निर्वाचन हाँकोस् भनेर ।
संस्थापनको तर्क त फागुन २१ गते निर्वाचन भयो भने त्यसयता महाधिवेशन गर्दाखेरि विभाजन हुन्छ । कांग्रेसमा नौवटा, दशवटा चरण पार गर्दै आउनुपर्छ महाधिवेशन प्रतिनिधि । त्यसले गर्दा तलैदेखि विभाजनको रेखा कोरिन्छ र निर्वाचनमा पार्टी हार्छ भन्ने छ, त्यो त राम्रै हो नि होइन ?
त्यो छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले विशेष अधिवेशन डिक्लेयर गर्दियोस् न ।
तपाईंसँगको भेटमा कार्यवाहक सभापतिले यस विषयमा के भन्नुहुन्छ ?
कुरा हुँदैछ । छलफल हुँदैछ । उहाँ नेगेटिभ हुनुहुन्न केही कुरामा । किनभने त्यो बाध्यात्मक छ क्या, विशेष अधिवेशन । समस्या त्यहाँ परेको छ ।
संस्थापनले त सनाखत गर्दा ४० प्रतिशत पुग्दैन भनिरहेको छ नि ?
पुग्छ ।
पुगेन भने ?
पुगेन भने विशेष महाअधिवेशन हुँदैन ।
अनि नियमित महाधिवेशन फागुनपछि ?
फागुनपछि हुने भयो तर विग्रह त निम्तियो कांग्रेसमा । म त्यो विग्रह ननिम्तियोस् भन्ने पक्षमा छु । अहिले म देशभरि अरु पार्टीको देखिरहेको छु । त्यसकारण कांग्रेसको केन्द्रीय समितिले निर्णय गरिदियोस् भनेको हो ।
केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशनमा जाँदा राम्रो हुन्छ भन्ने तपाईंको भनाइ हो ?
होइन । संस्थापनका साथीहरू समय भएन भन्दै हुनुहुन्छ । गर्न खोज्यो भने त समय निस्किन्छ । मलाई अहिले पनि लाग्छ, सकिन्छ । पुसको अन्तिमसम्म सकिन्छ जस्तो लाग्छ । बीचमा समानुपातिकको लिस्ट बुझाउनुपर्ने छ, दुई–चार दिन त्यसमा लागौँला । हामी काम चाहिँ नगर्ने, अनि सकिँदैन भनेर त भएन नि ।
महामन्त्रीले क्रियाशील सदस्यताको काम नसक्दा नियमित महाधिवेशन तत्काल हुन नसक्ने अवस्था आयो भन्दैछन् त केही नेताहरू ?
क्रियाशील सदस्यता छान्ने संयोजक महामन्त्री नै हुनुहुन्छ । चार वर्षमा यो दिन निर्वाचन, महाधिवेशन हुन्छ भन्ने कुरा त्यतिखेरै थाहा हुन्छ । तर काम नगरी बस्ने, अहिले चाहिँ महाधिवेशन गर कि गर भन्ने पनि उपयुक्त काम होइन । यो कमजोरी भने पार्टीको कमजोरी हो । महामन्त्रीलाई क्रियाशील सदस्यताको जिम्मेवारी दिएको थियो । उहाँबाट कमजोरी भयो । नभएको भए के गर्ने ? उहाँले पनि केन्द्रीय समिति बैठकमा राखिरहनुभएको छ । कार्यसम्पादनमा पनि नराखेको होइन । तर पार्टी गेयर अप नै भएन कहिले पनि ।

तपाईंलाई एउटा व्यक्तिगत प्रश्न, अघि एकदम महत्त्वपूर्ण कुरा भन्नुभयो पार्टी जोगाउनु छ भने केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन गर्ने । तपाईंले भोलि सभापतिको उम्मेदवारबाट पछि हटेपछि पार्टी एक रहने भयो भने छोड्नुहुन्छ ?
पार्टी बच्ने हो भने म जे पनि गर्न तयार छु ।
तपाईं संसद् पुनर्स्थापना कि निर्वाचनको पक्षमा ?
म पहिलो दिनदेखि अहिले भएको असंवैधानिक कदम भनिरहेको छु । तर अहिलेको सरकार बनाउनेभन्दा अर्को उपाय थिएन । अरु केही उपाय नभएर यो सरकार बनेको हो । संविधानका धेरै कुराहरू त, इन्ट्याक्टै छन् । त्यसकारण अहिले हामीहरू निर्वाचनबाहेक अर्को कुरा सोच्नु हुँदैन । निर्वाचनमै जानुपर्छ । सरकारले शान्तिसुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ ।
अनि सांसदहरूको हस्ताक्षर किन गराउनुभएको त ?
त्यो मैले गराएको होइन । मलाई पनि सरप्राइज नै भएको हो । हामीसँग निर्वाचनबाहेक अर्को विकल्प छैन । निर्वाचनका लागि शान्तिसुरक्षाको वातावरण बनाउने त सरकारको काम हो ।
तपाईं हस्ताक्षर संकलनको विरोधमा हो ?
सांसदहरूको पनि आफ्नो अधिकार त होला । त्यो आफ्नो ठाउँमा छ । तर नेपाली कांग्रेसले यसबारे निर्णय गरेको छैन । म त के चाहन्छु भने छिटोभन्दा, छिटो कांग्रेसले निर्वाचनमा जाने निर्णय गर्नुपर्छ । कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठकमै भनेको छु- नेपाली कांग्रेसले निर्वाचनको निर्णय गर्नुपर्यो छिटो ।

वातावरण बनाउने, भागेका कैदीहरूलाई फेरि फर्काउने, प्रहरीका लुटिएका हतियार फर्काउने र प्रहरीहरूको मनोबल बढाउने काम सरकारले गर्ने हो । हामीहरू निर्वाचनमा होमिनुपर्छ ।
मधेस प्रदेशमा हालै भएको राजनीतिक घटनाबारे तपाईंको धारणा के छ ?
यस्तै कारणले जनतामा राजनीतिज्ञहरू, राजनीतिक दलहरूप्रति वितृष्णा जन्मेको हो । यो पनि ‘दिस इज वान अफ द रिजन’ । यो त कोर्टमा जाला । कोर्टले आफ्नो निर्णय गर्ला । एउटा सिस्टमबाट हिँड्नुस् । संविधानको जुन धाराबाट नियुक्त गरेको भएपनि जुन ठाँउमा नियुक्त गरियो र जस्तो अवस्थामा नियुक्त गरियो, यसले राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा पैदा गर्छ ।
यो गम्भीर कुरा हो । प्रदेश प्रमुखले गर्नै नहुने काम गर्नुभएको छ, गलत काम भएको छ ।
तपाईंको त पारिवारिक मानिस नै हो क्यारे अन्तरिम सरकारकी प्रधानमन्त्री । भेटमा निर्वाचन गराउँछु भन्नुहुन्छ कि के भन्नुहुन्छ ?
चुनाव गराउँछु भन्नुहुन्छ । तर तयारी म देखिरहेको छैन । निर्वाचनका लागि आवश्यक पर्ने साम्रगी खरिदको प्रक्रिया सुरु भएको छैन । त्यो भन्दा ठुलो कुरा म अनेस्ट्ली भन्छु, आजको दिन म मेरो क्षेत्रमा गएर चुनावको प्रचार गर्न जान सक्छु कि सक्दिनँ ? त्यो वातावरण चाहिँ बनिरहेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले म निर्वाचनमा जान्न भनिरहनु भएको छ, उहाँलाई केही सुझाव ?
चुनावबाहेक अर्को उपाय म देख्दिनँ । त्यसैमा लागौँ भन्ने मेरो रिक्वेस्ट हो ।
भिडियो अन्तर्वार्ता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण