‘विशेष होइन नियमित महाधिवेशन हुन्छ, फागुनको निर्वाचनपछि गर्नेगरी कार्यतालिका आउँछ’
काठमाडौं । नेपाली कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवाद छ । नियमित महाधिवेशन पनि मंसिरमै गर्ने कि ६ महिना वर्तमान कार्यसमितिको म्याद थपेर वैशाखमा गर्ने भन्नेमा पनि विवादै छ ।
पार्टीभित्रको डा. शेखर कोइराला नेतृत्वको इतर समूह मंसिरमा नियमित अधिवेशन गर्नुपर्छ भनिरहेको छ । संस्थापन आगामी फागुन २१ गतेको निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भनिरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गुरुराज घिमिरेको नेतृत्वमा महाधिवेशन प्रतिनिधिले ५० प्रतिशत बढी हस्तक्षर बुझाएर विशेष महाधिवेशन माग गरिरहेका छन् ।
यस परिस्थितिमा असोज २८ गतेबाट सुरु भएर बिहीबारदेखि फेरि निरन्तर चल्न लागेको केन्द्रीय कार्यसमिति बैठकले के निर्णय गर्ला ? यही विषयमा केन्द्रित भएर कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :
कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । महाधिवेशनको सन्दर्भमा के निर्णय होला ?
महाधिवेशन नियमित गर्नुपर्छ भन्ने धेरै साथीहरूको भनाइ छ । तर सरकारले आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । निर्वाचनमा भाग लिएपछि मात्रै नियमित महाधिवेशनमा जानुपर्छ । नेपाली कांग्रेसमा अहिलेसम्म जति महाधिवेशनहरू भएका छन्, नियमित चारवर्षे कार्यकालमा एक वर्ष थपेर भएका छन् । विषम परिस्थितिमा केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष कार्यकाल थप्न पाउने विधानमै व्यवस्था छ ।
सभापति शेरबहादुर देउवाले स्वेच्छाले नै कार्यवाहक सभापतिको जिम्मेवारी दिइसक्नुभएको छ । त्यसैले कार्यवाहक सभापति भइसकेको अवस्थामा विशेष महाधिवेशनको अब औचित्य छैन । अर्को कुरा, विशेष महाधिवेशन माग गर्दा जति महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पेस गरिएको छ, ती हस्ताक्षरको एक, एक गरी रूजु गर्नुपर्छ ।
नेपालमा अहिले विषम परिस्थिति चलिरहेकाले एक वर्ष त थप्न सकिन्छ । तर हामीले एक वर्ष होइन, ६ महिना केन्द्रीय कार्यसमितिको म्याद चालु केन्द्रीय समिति बैठकबाट थप्ने निर्णय गर्ने र फागुनमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि वैशाखमा पार्टीको १५ औँ महाधिवेशन गराएर जानुपर्छ भन्ने धेरै केन्द्रीय सदस्य साथीहरूको धारणा छ ।
मंसिरमा नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन गर्ने भनेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापतिलाई बुझाइएको छ । त्यो जानकारी उहाँले केन्द्रीय समितिमा गराइसक्नुभएको छ । यसबारे के निर्णय हुन्छ ?
विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइएको छ । त्यसमा किन विशेष महाधिवेशन माग गरिएको हो भन्नेमा एजेण्डा पनि क्लियर छैन । त्यो पनि केन्द्रीय समितिले विशेष महाधिवेशनमा के गर्ने ? नीतिगत कुरा गर्ने हो कि ? नेतृत्व फेर्ने हो कि ? भन्ने स्पष्ट छैन । विशेष महाधिवेशनले पार्टी सभापतिलाई विस्थापित गर्ने कुरा हुन्छ ।

जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले स्वेच्छाले नै कार्यवाहक सभापतिको जिम्मेवारी दिइसक्नुभएको छ । त्यसैले कार्यवाहक सभापति भइसकेको अवस्थामा विशेष महाधिवेशनको अब औचित्य छैन । अर्को कुरा, विशेष महाधिवेशन माग गर्दा जति महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पेस गरिएको छ, ती हस्ताक्षरको एक, एक गरी रूजु गर्नुपर्छ । हस्तक्षर गरेका सबैले नागरिकता, प्रमाणपत्रसहित पार्टी कार्यालयमा आएर ‘हो, मैले विशेष महाधिवेशनको माग गरेको छु’ भन्नुपर्छ ।
हस्तक्षर गरेका भनिएका कतिपयले अहिले फेसबुकलगायत सामाजिक सञ्जालमा र कतिपयले निवेदन दिएर हामीले विशेष महाधिवेशन भनेका थिएनौँ अनुमति नलिई नाम लेखिदिएको हो भनेर स्पष्टीकरण दिइरहेका छन् । अर्कोतर्फ विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने खतरा रहन्छ । एक पक्षले विशेष महाधिवेशन गर्ने, अर्को पक्षले ‘हामी विशेष महाधिवेशन मान्दैनौ’ भने के हुन्छ ? त्यसैले विशेष महाधिवेशन परिस्थिति अनुसार हुन्छ ।
अहिले विशेष महाधिवेशन गर्ने परिस्थिति छैन । नियमित महाधिवेशन गर्ने हो, फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनपछि । निर्वाचन नभएको भए मंसिरमै नियमित महाधिवेशन गर्न मिल्थ्यो । निर्वाचनका कारण ६ महिना कार्यकाल थपेर वैशाखमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याउने निर्णय केन्द्रीय समितिबाट गर्नुपर्छ ।
विशेष महाधिवेशन भन्ने नेताहरू नै अहिले नियमित महाधिवेशन गर्नुपर्छ भन्ने लाइनमा गइसकेका छन् । विशेष महाधिवेशनका लागि जसले हस्ताक्षर गर भनेका थिए ती नेताहरूले नै अहिले भनिसके ‘ल नियमित महाधिवेशन नै गरौँ, तर निर्वाचनभन्दा पहिला गरौँ ।‘
त्यसो भए तपाईंहरूले निर्वाचन अगाडि कांग्रेसको १५ औँ महाधिवेशन गर्नुहुन्न ?
निर्वाचन अगाडि महाधिवेशन गर्नु हुँदैन । पार्टी किन गठन हुन्छ ? पार्टीमा अधिवेशन, महाधिवेशन किन हुन्छ ? नेतृत्व किन चाहिन्छ ? पार्टी संगठन बलियो किन चाहिन्छ ? निर्वाचनमा जित्नका लागि होइन ? तसर्थ अधिवेशन पहिले गराएर, झगडा गराएर, त्यसपछि निर्वाचनमा गएर पाँच सिट जित्न सकिएन भने त्यो पार्टीको, त्यो नेतृत्वको के महत्व रहन्छ ? जतिसुकै ठूलो कुरा गरे पनि आखिरमा शेरबहादुर देउवाले जति निर्वाचन लडे, सबैमा आजसम्म जित्दै आए ।
शेरबहादुर, गिरिजाप्रसाद कोइराला वा कृष्णप्रसाद भट्टराईले आफू हारेर पनि पार्टीलाई जिताएका होइनन् । त्यसैले अहिले मूल कुरा निर्वाचनमा पार्टीको ‘टेस्ट’ हो । कांग्रेस पार्टीको संगठन कति बलियो छ, त्यो निर्वाचनमा टेस्ट हुन्छ । निर्वाचन अगाडि महाधिवेशन गरेर निर्वाचनमा अधिवेशनको झगडा लिएर जाँदाखेरि पार्टीको पक्षमा राम्रो नतिजा आउँदैन । यसबारे विगतमा कांग्रेसमा देखिएकै छ । आफ्नै पार्टीका मान्छेका कारण कांग्रेसका उम्मेदवारहरू गत निर्वाचनमा पनि १५ देखि २० जना हारेका छन् । त्यसैले पार्टीलाई एकताबद्ध गराएर सिंगो पार्टी अहिले निर्वाचनमा होमिनुपर्छ । अहिले विशेष वा नियमित महाधिवेशनको कुरा गर्यो भने दुनियाँले ‘कांग्रेस निर्वाचनबाट डरायो, निर्वाचनबाट भाग्न खोज्यो’ भन्छ ।
त्यसैले कांग्रेस निर्वाचनमा भाग लिएर, जितेर महाधिवेशनमा होमिनुपर्छ । कांग्रेसले निर्वाचनमा भाग मात्रै लिने होइन, जित्ने, अनि यो संविधानको पनि रक्षा गर्ने, व्यवस्थाको पनि रक्षा गर्ने भनेर जानुपर्छ भन्ने धेरै साथीहरूको धारणा छ ।
पहिला निर्वाचनमा होमिने, त्यसपछि महाधिवेशनको तयारी गर्ने रणनीति कांग्रेसले अवलम्बन गर्छ ?
हो । पहिला निर्वाचन, त्यसपछि पार्टीको अधिवेशन, महाधिवेशन ।
विशेष महाधिवेशन पक्षधरहरूले त हाम्रो माग बमोजिम जारी केन्द्रीय समितिबाट नियमित वा विशेष महाधिवेशनको मिति तय नभए विशेष भेला बोलाउँछौँ भन्नेसम्मका कुरा पनि गरिरहेका छन् नि ?
बोलाए भइहाल्यो नि । विशेष भेलामा महाधिवेशन र महासमिति सदस्य विधानअनुरुप उपस्थित हुनुपर्यो नि । अहिले टेलिफोनको भरमा हाम्रो हस्तक्षर आफैं गरेर राखियो भनेर बोल्ने क्रम सुरु भइरहेको छ । त्यो बेलामा त सशरीर उपस्थित हुनुपर्छ, रुजु गर्नुपर्छ । त्यसैले जसले विशेष भेला बोलाउँछु भन्छ, उसलाई पनि त पार्टी एक हुनुपर्छ भन्ने चाहना होला नि । पार्टी एकताप्रति यदि गम्भीर छ भने विशेष भेला बोलाउलान् भन्ने हामीलाई लाग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण