माओवादी मधेसमा चर्कियो विवाद, दलीय ह्वीप नमान्नेलाई कारबाही गर्ने चेतावनी
सारांश
- मधेस प्रदेशमा माओवादी केन्द्रभित्रको विवादका कारण मुख्यमन्त्री सोनलको सरकार २५ दिनमै ढल्यो।
- मुख्यमन्त्री सोनलले राजीनामा दिएपछि पार्टीभित्रको विवाद अझै साम्य भएको छैन, नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ।
- पार्टीका केन्द्रीय संयोजक प्रचण्ड र प्रदेश इन्चार्ज मातृका यादवको कार्यशैलीलाई सांसदहरूले दोष दिएका छन्।
काठमाडौँ । मधेसको सत्ता गठबन्धनमा सहभागी तत्कालीन नेकपा माओवादी केन्द्रभित्रको अन्तरविरोधका कारण मधेस सरकारका मुख्यमन्त्री जितेन्द्रले सोनल नेतृत्वको सरकार २५ दिनमै ढल्यो ।
माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी)का प्रदेश सभा सांसद मालाकुमारी कर्ण र रहबर अनसारीले विद्रोह गरी विश्वासको मत नदिने घोषणा गरेकाले मुख्यमन्त्री सोनलले शनिबार पदबाट राजीनामा दिए । अन्सारीले त प्रदेशसभामा बोल्ने क्रममा आफ्नै अनुहारमा मोसो दलेर विरोध जनाएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता सोनल असोज २९ गते माओवादी, लोसपा, जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए । सोनलले राजीनामा दिए पनि माओवादीभित्रको विवाद अझै साम्य भएको छैन । मधेसमा पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुग्नुमा पार्टीका केन्द्रीय संयोजक (हाल नेकपा संयोजक) पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रदेश इन्चार्ज रहेका मातृका यादवको हस्तक्षेपकारी कार्यशैली मुख्य जिम्मेवार रहेको सांसद मालाकुमारी कर्णको आरोप छ ।
‘प्रादेशिक अधिकारमाथि केन्द्रीय नेतृत्वबाटै पटक पटक हस्तक्षेप भएको छ । संसदीय दलको नेता भरत साहलाई हटाउन ६ जना सदस्यले हस्ताक्षर गरेर संसदीय दलमा विश्वासको मत दर्ता गराएका थियौँ । अर्थमन्त्री हुँदा उहाँले पदीय दुरुपयोग गरी अनियमितता गरेको उजुरी पार्टीको केन्द्रीय कार्यालयमा पनि बुझाएका थियौँ,’ रातोपाटीसँग कर्णले भनिन्, ‘उजुरीपश्चात् अध्यक्ष प्रचण्डले दुई महिनाभित्र राजीनामा दिनुहुन्छ भन्नुभयो । तर प्रदेश इन्चार्ज मात्रिका यादवको योजनामा साहलाई नै दलको नेता बनाइयो ।’

यद्यपि पार्टीभित्रको पछिल्लो विद्रोह प्रचण्ड र जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका कारण भएको उनले स्पष्ट पारिन् ।
उनले भनिन्, ‘केन्द्रको हस्तक्षेपविरुद्ध हाम्रो विद्रोह हो । कुनै गुटमा पनि लागेका छैनौँ । प्रचण्ड र जनार्दनबिच देखिएको अन्तसंघर्षका कारण विद्रोह भएको होइन । बहुसंख्यक सांसदको भावनाविपरीत हस्तक्षेप भएकाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका हौँ ।’
पूर्वमन्त्रीसमेत रहेका साहविरुद्ध २०८१ असार २५ गते ६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव पेस गर्नेमा प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनीता यादव, मालाकुमारी कर्ण र रहबर अनसारी थिए ।
भदौ ८ गते अध्यक्ष प्रचण्डलाई काठमाडौँमा भेटेर कारबाहीका लागि उजुरी दिएका थिए । त्यतिबेला प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, सचिव लीलामणि पोखरेल सहभागी थिए ।

प्रदेशको अर्थमन्त्री भएको बेला साहले मनमौजीमा आफू खुसी योजना बाँडेको, संसदीय दलका सदस्यहरूलाई समेट्न नसकेको, केन्द्रको निर्णयविपरीत सरकार ढाल्न चलखेल गरेको, अनियमितता गरेको लगायत आरोप लगाएका थिए । बहुसंख्यक सांसदहरूको कुरा सुनेपछि प्रचण्डले दुई महिनाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । पार्टीको निर्देशन पटक-पटक उल्लंघन गरेका साहले २०८२ जेठ २० गते राजीनामा दिएका थिए
।
तर कात्तिक १७ गते प्रचण्डकै ठाडो निर्देशनमा साह संसदीय दलको नेतामा पुनः नियुक्त भए ।
प्रचण्डले पठाएको पत्रमा भनिएको छ, ‘उपरोक्त सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउनु हुन अनुरोध छ ।’
प्रदेश इन्चार्ज यादवनिकट मानिने साहलाई उनकै जोडबलमा संसदीय दलको नेता बनाइएको तत्कालीन माओवादीका एक उच्च नेताले आरोप लगाए ।
‘गल्ती म प्रचण्डजीमै देख्छु । सबै कुरा केन्द्रबाट हस्तक्षेप गरेर हुँदैन । भरतजीमाथि सांस्कृतिक विचलन, महोत्तरीको गौशाला जग्गा हिनामिना गरेको, अर्थमन्त्री हुँदा २० लाख कमिसन खाएर चार करोड निकासा गरेको आरोप छ । पार्टीको केन्द्रीय अनुशासन आयोगमा पनि उजुरी परेको छ,’ उनले भने, ‘संसदीय दलका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । ती सबै चिजलाई नजअन्दाज गरेर अध्यक्षको ठाडो निर्देशनमा दलको नेता बनाइएको छ । प्रदेश इन्चार्ज मातृकाजी आफै गुटबन्दीमा लाग्नुभएको छ । यही कारणले मधेसमा ठुलो आक्रोश छ ।’
तर आफूमाथि लगाइएको आरोपको साहले खण्डन गरेका छन् । उजुरीउपर छानबिन गरी अनुशासन आयोगले सफाइ दिएको अवस्थामा फेरि पुरानै आरोप लगाउनु उचित नभएको उनले बताए ।
‘पार्टीको अनुशासन आयोगले उजुरीउपर छानबिन गरी आयोगले मलाई सफाइ दिइसकेको छ । जुन कुरामा मैले सफाइ पाइसकेपछि फेरि त्यही कुरा गर्नुले टर्चर हुन्छ कि हुँदैन ?,’ उनले भने, ‘यिनीहरूको नियोजित रूपमा यसो गर्यो, उसो गर्यो भनिरहेका छन् । मैले सफाइ पाएर न मलाई पार्टीले पुनर्स्थापित गरेको हो । टीका लगाएको होइन । पहिले पूर्ववत् अवस्थामा दलको नेता थिएँ । दलको नेतामा मलाई आरोप लाग्यो । आरोपलाई सहन गर्नका निमित्त मैले केन्द्रीय सदस्य र दलको नेताबाट म आफैं खुसी राजीले राजीनामा दिएको हो ।’
साहले विपक्षीसँग बहुमत सदस्य भए संसदीय दलमा प्रतिस्पर्धा गर्न चेतावनी दिएका छन् । रहबर अन्सारी आर्थिक प्रलोभनमा कुनै शक्तिबाट परिचालित भएको आरोपसमेत उनले लगाए ।
‘उहाँहरूले दलीय ह्वीप उलंघन गरी सरकार ढाल्ने काममा लाग्नुभयो । ठुलो मात्रामा आर्थिक चलखेल भएको आशंका छ । दुई जनामाथि पार्टी अनुशासनविपरीत काम गरेको आरोपमा कारबाही हुन्छ,’ साहले भने ।
अन्सारी सहितको समर्थनमा आफूले संसदीय दलको नेता जितेको उनको दाबी छ । भ्रष्टाचार गरेको, अनियमिता गरेको आरोप लगाउनेले मत किन दिएको भनेर साहले प्रतिप्रश्न गरेका छन् ।
उनले भने, ‘उहाँले पनि मलाई मत हालेको हो । त्यो बेला मसँग हुनुहुन्थ्यो । हिजो अस्तिसम्म उहाँ मसँगै थिए । राज्यमन्त्री बन्नुभयो । मैले उहाँलाई क्याबिनेट मन्त्री बनाइदिन । सुनिता यादवलाई क्याबिनेट मन्त्री बनाएँ । त्यसपछि भरत खराब भयो । अनि उहाँलाई क्याबिनेट मन्त्री बनाइदिएको भए भरत इमानदार हुन्थ्यो । भ्रष्टाचारी नहुने थियो । यस्ता कुराहरूको पछाडि लागेर हुन्छ ? सबै चोर लागेको भए राजीनामा दिएर घर बस्दा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण