शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नेतृत्व हस्तान्तरण होइन, पार्टी विघटनमा रमाउँदै प्रचण्ड

बुधबार, २६ कात्तिक २०८२, १६ : ००
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको ध्यान पार्टी पुनर्गठन वा नेतृत्व हस्तान्तरण भन्दा पार्टी एकतामा छ । साविक नेकपा माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको पक्षमा व्यापक बहस तथा छलफल भइरहेका बेला उनले नेकपा एकीकृत समाजवादी लगायत अन्य स–साना वामपन्थी दलसँग मिलेर नेकपा गठन गरे । कात्तिक १९ गते भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनबाट प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बनेका छन् । अहिले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया चलिरहेको छ ।

२०७८ पुस १८ गते काठमाडौँमा सम्पन्न तत्कालीन नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा ६ महिनाभित्र प्रचण्डले विशेष महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रथम राष्ट्रिय सम्मेलनलाई रुपान्तरण गरी महाधिवेशन आयोजना गरेको थियो । प्रचण्डको उक्त निर्णयलाई त्यतिबेला पार्टीभित्रै विरोध भएको थियो । हरेक पाँच वर्षमा राजनीतिक दलले महाधिवेशन गर्नुपर्ने संवैधानिक प्रावधान छल्न उनले राष्ट्रिय सम्मेलनलाई अन्तिम दिनमा आएर महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव सचिवालय बैठकबाट अनुमोदन भएको थियो ।  

तर चार वर्षसम्म विशेष महाधिवेशन नगरी प्रचण्डले पार्टी एकतालाई नै निरन्तरता दिए । भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले राज्यसत्ता तथा राजनीतिक दलहरूको संरचनामै उथलपुथल ल्याइदियो । जेनजी विद्रोहका कारण पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणमा थप दबाब झेलेका प्रचण्डले असोज ९ र १० गते केन्द्रीय समितिको विशेष बैठक बोलाए । बैठकले मौजुदा केन्द्रीय समिति विघटन गरी मंसिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय गर्‍यो । 

कामचलाउ केन्द्रीय समितिका संयोजक रहेका उनले महाधिवेशन नगरी पार्टी एकता घोषणा गरे ।  प्रचण्डको निर्णयका कारण पार्टी एकढिक्का हुन सकेन । पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा पार्टीभित्र एक्लै लड्दै आएका जनार्दन शर्मा, सचिवालय सदस्य राम कार्की, सुदन किराती लगायत नेताहरू एकता प्रक्रियाबाट अलग भएका छन् । उमेर र स्वास्थ्यको कारण देखाउँदै अर्का सचिवालय सदस्य गणेश साहले पहिल्यै राजीनामा दिइसकेका छन् । यद्यपि पार्टी एकता अहिलेको वस्तुनिष्ट आवश्यकता भएको नेता हरिबोल गजुरेल जिकिर गर्छन् । विषम परिस्थितिमा नेतृत्वलाई साथ दिनुपर्नेमा जनार्दनले गलत कदम उठाएको उनको आरोप छ ।  

‘विषम परिस्थितिमा विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्नु अहिलेको वस्तुगत आवश्यकता हो । समाजवादी क्रान्तिको आधार तयार पार्न विभिन्न वामपन्थी शक्तिहरू एक ठाउँमा उभिएका छन्’, उनले भने, ‘यस्तो बेला नेतृत्वलाई एकढिक्का भएर साथ दिनुपर्ने हो । तर जनार्दनजीले गलत कदम उठाउनुभयो । नेतृत्वको गलत कामको आलोचना र सही कामको समर्थन गर्नुपर्छ । यो बेला टुटफुट र विभाजन होइन, एकता आजको आवश्यकता हो ।’

अर्का नेता जगन्नाथ खतिवडाले समान विचार र सिद्धान्त मिल्नेसँग एकता र ध्रुवीकरण हुनु सामान्य भएको जिकिर गर्छन् । दुई ठुला कम्युनिस्ट पार्टीबिच एकता भएकाले नेकपामा समाहित हुन चाहने संख्या ठुलो रहेको उनले बताए । तर पार्टी निर्माण भएपछि नेताहरूको व्यवस्थापन, संगठनलाई चुस्तदुरुस्त बनाएर दीर्घकालीन रुपमा लैजान निकै चुनौती रहेको खतिवडाको भनाइ छ ।

‘दुई ठुला पार्टीबिच एकता भएकाले सबैतिर नेपाली कम्युनिस्ट पार्टीप्रति आकर्षण छ । धेरै दल एकता प्रक्रियामा समाहित हुन चाहिररहेका छन् । प्रचण्डजीले माओवाद त्यागेकोमा साविक पार्टी विभाजन भयो । एकीकृत समाजवादी पनि एक ढिक्का हुन सकेन’, उनले भने, ‘यो पार्टीको शक्ति कति छ भन्ने कुरा निर्वाचनबाट परिक्षण हुन बाँकी नै छ । आ–आफ्ना पार्टीका स्वार्थलाई मिलाएर केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण छ ।’

प्रचण्डको प्रवृत्ति हेर्दा विचारका भन्दा पनि संगठकजस्तो देखिएको खतिवडा बताउँछन् । ‘उहाँले माओवाद नै त्याग्नुभयो । अहिले हाम्रो लाइनमा आइपुग्नुभएको छ । माधवजी विचारक र प्रचण्डजी संगठकजस्तो देखिएका छन्,’ उनी भन्छन् । 

विशेष महाधिवेशन प्रचण्डको आश्वासनमै सीमित

माओवादीको आठौं महाधिवेशन समापन समारोहमा प्रचण्डले २०७९ साल वैशाखमा स्थानीय तह निर्वाचन परेको, मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएकाले निर्वाचनपछि मात्र महाधिवेशन गर्ने नेताहरूलाई आश्वासन दिए । नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरी निर्वाचनमा होमिएको माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ सिट गरी जम्मा ३२ सिट जित्यो । अघिल्ला निर्वाचनमा जस्तै पार्टीको जनमत खस्किएर ११ लाख ७५ हजारमा खुम्चियो । 

चुनावी अन्तिम परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र नेताहरूले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा व्यापक आवाज उठेपछि उनी निकै दबाबमा थिए । पार्टीभित्र सत्तामा जान नहुने निर्णय विपरीत प्रचण्डले संसद्मा पहिलो र दोस्रो दललाई उछिनेर एमालेको समर्थनमा आफैं प्रधानमन्त्री बने । १८ महिना प्रधानमन्त्री बनेका उनी कहिले एमाले कहिले कांग्रेससँग मिलेर तीन पटक सत्ता समीकरण बदले । यद्यपि प्रचण्डको शासनकालमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा केही सुधारको प्रयास गरेपनि आफ्नै कारणले सत्ता ढल्यो ।

२०८० साउन तेस्रो साता प्रज्ञा भवन कमलादीमा सम्पन्न केन्द्रीय समिति बैठकमा उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा लगायत अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टीमा व्यापक पुनर्गठन तथा नेतृत्व हस्तान्तरणका लागि तत्काल विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । केन्द्रीय समिति बैठकले पार्टी रुपान्तरणका लागि भदौदेखि मंसिरसम्म रुपान्तरण अभियान चलाउने, मंसिरमा विधान महाधिवेशन गर्ने र फागुनको अन्त्यतिर विशेष महाविधेशन गर्ने नेताहरूलाई आश्वासन दिए । बैठकको निर्णय अनुसार फागुन १ देखि ३ गतेसम्म प्रज्ञाभवन कमलादीमा प्रथम विधान महाविधेशन भयो । महाधिवेशनले केन्द्रीय समिति चयन प्रत्यक्ष निर्वाचनमार्फत गर्ने निर्णय गर्‍यो । चैत-वैशाखमा हिमाल, पहाड, तराई जागरण अभियान चलाउने निर्णय गरेको भएपनि पछि स्थगित भयो । 

तर विधान महाधिवेशनको निर्णय अनुसार नेतृत्व अगाडि नबढेपछि २०८१ साल साउनको अन्त्यमा सम्पन्न पार्टीको स्थायी समिति बैठकमा नेता जनार्दनले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे फरक प्रस्ताव पेस गरे । उक्त प्रस्तावलाई पार्टी सुधारको पक्षमा आएको पूरक प्रस्तावको रुपमा व्याख्या गर्नुभन्दा पनि नेतृत्वले पार्टी विभाजनका लागि ल्याइएको प्रस्तावका रुपमा अपव्याख्या गरेको संस्थापन इतरपक्षले गुनासो थियो ।

पुस २० देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले फरक प्रस्तावलाई सम्बोधन गर्दै फागुनदेखि जेठसम्म पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय गर्‍यो । २०८२ असारमा केन्द्रीय समिति बैठक बसेर मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गर्‍यो । बैठकको निर्णय अनुसार पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न भयो । मध्यपहाडी राजमार्ग अन्तर्गत सुदूरपश्चिमको बैतडीबाट सुरु भएको अभियान गोरखामा आइपुगेको थियो, तर जेनजी विद्रोहले नेपालको राजनीति नै उथलपुथल भयो ।

पार्टी पुनर्गठन होइन, एकतामा रमाउँदै प्रचण्ड

विगत ३७ वर्षदेखि अविच्छिन्न रुपमा पार्टी नेतृत्वमा रहेका प्रचण्डको स्वभाव सधैं अस्थिर देखिन्छ । निरन्तरतामा क्रमभंग, अग्रगामी छलाङ, उथलपुलजस्ता शब्द उनका पर्यायवाची बन्दै आएका छन् । तत्कालीन नेकपा मसालले सञ्चालन गरेको सेक्टर काण्ड असफल भएपछि २०४५ सालमा उनी महामन्त्री भए । त्यसयता प्रचण्ड एउटै विचार र पार्टी रुपान्तरण वा पुनर्गठन गर्नतिर नभई विघटन तथा ध्वंसतिर लागेको घटनाक्रमले पुष्टि गरेको छ । 

उनी आफैं पनि सञ्चारमाध्यम, आन्तरिक बैठक, सार्वजनिक मञ्चबाट यथास्थितिमा रमाएर बस्ने व्यक्ति नभएको अभिव्यक्ति दिँदै आएका छन् । समय-समयमा पार्टी निर्माण र विघटन हुनु विज्ञानसम्मत नै भएको प्रचण्डले तर्क गर्दै आएका छन् । त्यही मान्यतामा अगाडि बढ्दै आएका प्रचण्डले २०४८ सालमा नेकपा मशाल विघटन गरी नेकपा चौम, सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल समूहसँग एकता गरी नेकपा एकता केन्द्र बनाए । पार्टी एकता भएको तीन वर्षमै दीर्घकालीन जनयुद्धमा जाने विषयमा आन्तरिक मतभेद हुँदा पार्टी विभाजन भयो ।

पार्टी विभाजनपछि २०५१ सालमा चितवनमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको नाम नेकपा माओवादी राख्ने निर्णय गर्‍यो । २०५२ फागुन १ गते माओवादीले तत्कालीन शाही सत्ता विरुद्ध १० वर्ष सशस्त्र विद्रोह गर्‍यो । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनसम्म उनी माओवादीका महामन्त्री थिए । सम्मेलनबाट नेतृत्वलाई केन्द्रीकृत गरी अध्यक्षात्मक प्रणाली अबलम्बन गर्‍यो । युद्धको दौरानमा पनि माओवादीले मसाल लगायत विभिन्न वामपन्थी शक्तिसँग एकता गरेको थियो । 

२०६२ सालमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबिच १२ बुँदे सम्झौता भएपछि प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बन्न सफल भयो । २०६५ सालमा गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड भए । २०६५ पुसमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मशालसँग एकता गरी पार्टीको नाम एकीकृत नेकपा माओवादी गठन गरे ।

पार्टीभित्र वैचारिक र राजनीतिक मतभेदका कारण २०७९ साल असारमा मोहन वैद्य किरण नेतृत्वको ठुलो हिस्सा पार्टीबाट अलग भएपछि माओवादी राष्ट्रिय राजनीतिमा कमजोर हुँदै गयो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले सर्वनाक हार व्यहोर्‍यो । प्रत्यक्ष र समानुपातिक गरी माओवादीले जम्मा ८३ सिट जित्यो ।

२०७४ को आम निर्वाचनको पूर्वसन्ध्यामा गणेश साह नेतृत्वको नेकपा संयुक्तसँग पार्टी एकता गरी नेकपा माओवादी केन्द्र बनाए । वैद्यको पार्टीसँग विद्रोह गरी आएका रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङ लगायत समूहलाई पार्टीमा भित्र्याए । निर्वाचनको मुखमै एमालेसँग चुनावी तालमेल र एकता गर्ने निर्णयमा प्रचण्ड पुगे । उनको प्रस्तावलाई सहर्ष स्वीकार गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले २०७५ साल जेठ ३ गते पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी बनाए ।

विश्वमा कतै अभ्यास नभएको दुई अध्यक्षत्मक प्रणाली अपनाए । ओली र प्रचण्डको सत्ता स्वार्थ तथा शक्ति संघर्षका कारण तीन वर्ष पूरा नहुँदै नेकपा विघटन भयो । सर्वोच्च अदालतले २०७७ पुस २३ गते नेकपा विघटन गरेपछि उनी फेरि साविक माओवादी केन्द्रका अध्यक्ष भए । नेकपा विघटन भएको ५ वर्षपछि प्रचण्ड र माधव नेपाल फेरि एकै ठाउँमा आइपुगेका छन् । विगतको टुटफुट र विभाजनको  अनुभवबाट पाठ सिकेर नेपाली कम्युनिस्ट आन्दोलनमा फेरि इतिहास दोहोरिएको नेता हरिबोल गजुरेलको जिकिर छ ।  

‘२०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टी (मशाल, चौ. म., सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल) बीचको ऐतिहासिक एकताले जनयुद्धका वैचारिक र संगठनात्मक आधार तयार गर्‍यो, जसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गरायो । अब २०८२ सालको जेनजी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दैछ ।

‘इतिहास फेरि दोहोरिँदैछ, तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो । अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एकमात्र सम्भावित बाटो देखिन्छ’, गजुरेलले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप