अख्तियारको उपसचिव भन्दै धम्क्याउने राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी पक्राउ
काठमाडौँ । काठमाडौँको तारकेश्वर क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई ‘म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ’ भन्दै किर्ते कागज प्रयोग गरी धम्क्याउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला डोटीको शिखर नगरपालिका-४ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङ बस्ने ३७ वर्षीय ऐभान बहादुर महरा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार धम्की दिने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले खोजतलास गरी ती व्यक्तिलाई पक्राउ गरेको हो। उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका ९, टुसाल चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोधपुछका क्रममा महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्व-कर्मचारी भएको खुलेको छ।
प्रहरीले उनको साथबाट राज्यमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत लेखिएका विभिन्न लेटरप्याडहरू, विभिन्न बैंकका स्टेटमेन्ट, एटिएम, चेकबुक, हिसाबको रेकर्ड राखिएको डायरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको डेपुटी म्यानेजर पदको परिचय पत्रलगायतका दसीका सामानहरू बरामद गरेको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण