बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

कलङ्क पोतिएका अनुहारहरू लिएर कसरी मत माग्न जान्छ कांग्रेस ?

महाधिवेशनको गोलचक्करमा बिर्सिरहेको छ राष्ट्रिय जीवन

बुधबार, २६ कात्तिक २०८२, १३ : ३०
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेस गम्भीर अलमलमा फसेको, राष्ट्रिय मुद्दालाई बेवास्ता गरेको आरोप छ।
  • पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीले राष्ट्रलाई नै डुबाउने खतरा बढेको छ।
  • कांग्रेसले महाधिवेशनको मिति तय गर्न नसकेको र नेतृत्वमाथि प्रश्न उठेको छ।

देशको एउटा जिम्मेवार अनि ऐतिहासिक पार्टीका लागि उसका आन्तरिक मामलाहरू भन्दा धेरै माथि हुन्छ, राष्ट्रिय जिन्दगीको सवाल । तर देशको सबैभन्दा ठुलो मानिएको र राष्ट्रिय सङ्कटका बेला निर्णायक हुने ठानिएको नेपाली कांग्रेस अहिले इतिहासकै गहिरो अलमलमा फसेको छ । 

एकातिर सारा कार्यकर्ता, शुभेच्छुक अनि करोडौँ नागरिकले नेपाली कांग्रेसलाई पर्खिरहेको स्थिति छ भने अर्कोतिर सारा अन्तर्राष्ट्रिय समुदायले पनि नेपाली कांग्रेसका रणनीतिहरू पर्खिरहेको अवस्था छ । तर नेपाली कांग्रेस आफैभित्र फर्केर हेर्ने हो भने यो अलमल र गलफतीको भुमरीमा कांग्रेस आफै मात्रै होइन कांग्रेसले सिङ्गो राष्ट्रलाई डुबाउने खतरा बढिरहेको छ । 

एक महिना पुग्न लाग्यो, नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छैन । आज–भोलि भन्दा भन्दै आवश्यक रूपमा बैठक लम्ब्याइएको छ । जसका कारण नेपाली कांग्रेस मूल मुद्दाबाट टाढा–टाढा भागिरहेको भान भइरहेछ । एउटा पार्टीको आन्तरिक झगडा र त्यसभित्रका असहमति वा भनौँ उसका मुद्दाहरू राष्ट्रिय जीवनका मुद्दा भन्दा माथि हुनै सक्दैनन् । 

त्यसमा पनि नेपाली कांग्रेस आफैमा जिम्मेवार र ऐतिहासिक पार्टी हो । जोसँग मात्रै केही राजनीतिक अणुहरू छैनन्, बरु नेपाली काँग्रससँग नेपाली राजनीतिक इतिहासका जीवन्त अनि सग्ला अंशहरू छन् । जो गाँसिदै–गाँसिदै राष्ट्रको सिङ्गो इतिहास निर्माण भएको छ । 

तमाम प्रश्नहरूका पहाडमाथि जसरी नेपाली कांग्रेस आजको अवस्थामा पुगेको छ, राष्ट्रमाथि त्यो भन्दा भयङ्कर सङ्कट र चुनौतीका शिखरहरू छन् । त्यसलाई छिचोल्ने बाटाहरू खोज्ने कि नेपाली कांग्रेस भग्नावशेष भित्रै लुटपुटिई रहने ?

इतिहासका त्यस्ता कैयौँ मोडहरूमा नेपाली कांग्रेसका निर्णायक कदमहरू राष्ट्र अनि राष्ट्रिय राजनीतिका लागि कालजयी भएका छन् । ००७ सालको क्रान्ति होस् या ०४६ सालको जनआन्दोलन वा भनौँ ०६२/०६३ को नागरिक विद्रोह अनि त्यो भन्दा अघि माओवादी युद्धलाई शान्तिपूर्ण राजनीतिको मूलबाटोमा ल्याउनका त्यो बेला नेपाली कांग्रेसले उठाएको चुनौती । 

तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले आफ्नो सिङ्गो राजनीतिक जीवनलाई दाउमा लगाएर राष्ट्रका निम्ति त्यो चुनौतीपूर्ण कदम उठाउनुभएको थियो । जसका कारण देश १० वर्षको आन्तरिक सशस्त्र युद्धबाट मात्रै होइन, सकसपूर्ण शासकीय र राजनीतिक व्यवस्थालाई नै परिवर्तन गर्न सफल भयो । २४० वर्षको वंशीय शासनको त्यो खालको शान्तिपूर्ण बहिर्गमन इतिहासमा निकै कम मात्रै भएका छन् । 

इतिहासको त्यो अभिभारा निभाउने बेला हो यो । जेनजी आन्दोलनपछि देशमा राजनीतिक रिक्तता अझ गहिरो बन्दैछ । आन्दोलनले अस्वीकृत गरेका राजनीतिक दलहरू अस्तित्व नै सङ्कटमा परिरहेको अवस्था छ । ‘पुराना अनि थोत्रा’ भनेर नवपुस्ताबाट अस्वीकृत राजनीतिक दलहरूको सट्टा दिनहुँ निर्वाचन आयोगमा नयाँ–नयाँ राजनीतिक दलहरूको न्वारान भइरहेको छ । 

यस्तो अवस्थामा नेपाली कांग्रेसले धुलो लागेको ऐना मात्रै पुछिरहने कि कलङ्कले छोपिएका अनुहारहरू नै फेर्ने ? महाधिवेशन मङ्सिर, पुस वा वैशाख जेठमा गर्ने, निर्वाचन अघि गर्ने कि पछि गर्ने ? भन्दा पनि फागुन २१ को निर्वाचनलाई कसरी सफल बनाउने भन्ने नेपाली कांग्रेसको मूल मुद्दा हो ? 

जलेको पार्टी कार्यालयमा असरल्ल बीपीका तस्बिरहरूले आजको कांग्रेसको नेतृत्वलाई गिज्याइरहेका छैनन् बरु बीपीका ती तमाम आदर्श र सपनाहरूलाई कांग्रेस आफैले खरानी बनाइरहेको छ, भग्नावशेषलाई पनि चुरचुर पारेर ।

निकासको ताजा अनि जनअनुमोदित बाटोलाई बन्द गर्दै फगत महाधिवेशनको चक्कर काटिरहेको नेपाली कांग्रेसले भोलिको पुस्तालाई के जवाफ दिने ? यी तमाम प्रश्नहरूका पहाडमाथि जसरी नेपाली कांग्रेस आजको अवस्थामा पुगेको छ, राष्ट्रमाथि त्योभन्दा पनि भयङ्कर सङ्कट, समस्या र चुनौतीका शिखरहरू छन् । त्यसलाई छिचोल्ने बाटाहरू खोज्ने कि नेपाली कांग्रेस भग्नावशेष भित्रै लुटपुटिई रहने ? 

जलेको पार्टी कार्यालयमा असरल्ल बीपीका तस्बिरहरूले आजको नेपाली कांग्रेसको नेतृत्वलाई गिज्याइरहेका छैनन् बरु बीपीका ती तमाम आदर्श र सपनाहरूलाई नेपाली कांग्रेस आफैले खरानी बनाइरहेको छ, भग्नावशेषलाई पनि चुरचुर पारेर । 

यो हदसम्मको राष्ट्रिय बेपरवाह, अलमल र अनाहकको गलफती नेपाली कांग्रेसबाट यो राष्ट्रलाई कहिल्यै अपेक्षा थिएन र हुन पनि सक्दैन । नेपाली कांग्रेस आफैमा एउटा लोकतान्त्रिक पार्टी हो । मासबाटै जन्मिएको पार्टी हो । छलफल, विवाद र बहसहरूबाटै निकासको बाटो निस्किन्छ । लोकतन्त्रको मर्म पनि त्यही नै हो । तर पुग्नुपर्ने कता छ, गोरेटाहरू कता अर्कैतिर पहिल्याउने जुन प्रकारको आत्मघाती भुमरी नेतृत्वले रचना गर्दैछ, त्यसले उनीहरूलाई मात्रै होइन सिङ्गो राष्ट्रलाई नै डुबाउनेछ । 

यसर्थ यो समय भनेको महाधिवेशन वा नेतृत्वको अभीष्टमा अल्झिने होइन । व्यक्ति, गुट र समूहको स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्छ । पार्टीलाई उठाउन सक्नुपर्छ । र, यो राष्ट्रमाथि मडारिइरहेका सङ्कटहरूबाट निकासको बाटो पहिल्याउनुपर्छ । राष्ट्र रहेन न राजनीति रहला, पार्टी रहलान् अनि नागरिक रहलान् अनि मात्र नेपाली कांग्रेस रहला ।

सकिँदैन भने हात उठाउँदा हुन्छ, नेतृत्वका लागि तम्तयार जिउँदा जाग्दाहरूको कांग्रेसभित्र कमी छैन । होइन भने सीमित स्वार्थ र गुटगत अभीष्टका लागि पार्टी अनि सिङ्गो राष्ट्रलाई नै बन्धक बनाउने छुट नेतृत्व वा पदाधिकारी कसैलाई पनि छैन ।

राजनीतिक दार्शनिक जर्ज अर्वेलले भनेका छन्, ‘मानिसलाई नष्ट गर्ने सबै भन्दा प्रभावकारी उपाय भनेको उनीहरूको इतिहासको आफ्नै बुझाइलाई इन्कार गर्नु र नष्ट गर्नु हो ।’ नेतृत्वको एउटा सानो नचाहिँदो हठ, इगो र मसिनो अविवेकले सिङ्गो देशलाई नै कसरी खरानी बनाउन सक्छ भन्ने त हामीले गत भदौ २३ र २४ गते नवपुस्ताको विद्रोहको ज्वालाबाट देखिसकेका छौँ । 

र, फेरि पनि राष्ट्रिय समस्यालाई अनदेखा गर्दै मात्रै व्यक्ति, गुट अनि समूहको अभीष्टलाई मात्रै सर्वश्व ठान्यौँ भने हामीले आफ्नो इतिहास आफै मेटाउनेछौँ । अनि हामी पनि मेटिनेछौँ । 

यो आत्मघाती अलमल तत्काल चिर्नैपर्छ । त्यसका लागि अब नेपाली कांग्रेस भित्रको नयाँ पुस्ताले विद्रोहको चिराग सल्काउनै पर्छ । त्यसको अर्थ पार्टी फुटाउने वा नयाँ पार्टीको जन्म होइन । बरु यो नेतृत्वमाथि नियन्त्रणका लागि अब नेपाली कांग्रेसका नवपुस्ताले आफ्नो शक्ति देखाउनै पर्ने भएको छ ।

यति बेला महामन्त्रीहरूले भन्नै पर्छ, के–कति काम भयो ? जिम्मेवारी उहाँहरूकै हो । महाधिवेशनका लागि के–कति काम बाँकी छ र अब के–के गर्ने भनेर कार्यकर्तालाई बुझाउनै पर्छ । कार्यवाहक सभापति भनेको अहिलेको अवस्थामा सभापति नै हो । कांग्रेस परम्परा अनि विधान पनि प्रस्ट छ, कार्यबाहकका जिम्मेवारीहरू प्रस्ट छन् । 

पूर्णबहादुर खड्काजी मात्रै नेपाली कांग्रेसको पहिलो कार्यवाहक होइन । उहाँले आफ्नो राजनीतिक गुरुका रूपमा आदर गर्ने किशुनजी पनि कुनै बेला बीपीका कार्यवाहक नै हुनुहुन्थ्यो । केही गुण सिक्नुपर्छ, केही आदर्श पछ्याउनु पर्छ । तर आफू सकिँदै गर्दा सबैलाई सिध्याउँछु भन्ने मूर्खतापूर्ण ध्येय एउटा लोकतान्त्रिक पार्टीका लागि कहिल्यै क्षम्य हुँदैन । अहिलेको अवस्थामा त झन् हुँदै हुँदैन । 

प्रस्ट कुरा के हो भने कार्यवाहक सभापति भइसकेपछि अब उहाँ कुनै गुट वा समूहको होइन । उहाँ दशौँ लाख कार्यकर्ताका लागि नेपाली कांग्रेसको सभापति हो । नेतृत्व हो । अनि राष्ट्रका निकासका लागि बाटो पहिल्याउने व्यक्ति पनि उहाँ नै हो । सकिँदैन भने हात उठाउँदा हुन्छ, नेतृत्वका लागि तम्तयार जिउँदा जाग्दाहरूको नेपाली कांग्रेस भित्र कमी छैन । होइन भने सीमित स्वार्थ र गुटगत अभीष्टका लागि पार्टी अनि सिङ्गो राष्ट्रलाई नै बन्धक बनाउने छुट नेपाली कांग्रेसको नेतृत्व वा पदाधिकारी कसैलाई छैन । 

पार्टी जीवन भनेको राष्ट्रको जीवन भन्दा माथि हुनै सक्दैन । 

गत असोज २८ गते सुरु भएको बैठक सुरुवातदेखि नै १५औँ महाधिवेशनको गोलचक्करमा फसिरहेको छ । यो महाधिवेशनको मितिलाई यसरी गोलमटोल र अलमलमा पारिएको छ कि नेपाली कांग्रेसका पदाधिकारीहरू पनि त्यसबाट बाहिर निस्किन सकिरहेका छैनन् । 

यसबाट मात्रै पदाधिकारीहरूको केही तुष मेटिन सक्ला तर लाखौँ कार्यकर्ता र नेपाली कांग्रेसका करोडौँ शुभेच्छुकहरूलाई के जवाफ दिने ? उनीहरूको आशा, भरोस र आकाङ्क्षाहरू पार्टीका लागि केही होइनन् ? यसको जवाफ कसले दिने ? अहिलेको अवस्था, समय, काल परिस्थिति सबैले भनेको छ, महाधिवेशन तत्कालै आवश्यक छ । चाहे त्यो नियमित होस् वा विशेष । 

महाधिवेशन तत्कालै आवश्यक छ । चुनावभन्दा अघि नै आवश्यक छ । किनकि पार्टीभित्रै मात्र होइन, भदौ २३ र २४ को जेनजी विद्रोहले समेत अस्वीकृत अनि अपदस्त गरिसकेको राजनीतिक नेतृत्व हो यो । फेरि त्यही कलङ्क पोतिएका अनुहारहरू लिएर कसरी ताजा जनमत माग्न जानू ? 

राजनीतिभित्र मात्रै गुट, उपगुट अनि समूहका अभीष्टहरू मात्रै हुँदैनन्, त्यो भन्दा माथि अलिकति नैतिकता, केही आदर्श अनि सत्य स्विकार्न सक्ने क्षमता पनि हुन्छ । नेपाली कांग्रेसको नेतृत्व त्यो भन्दा माथि उठ्न सकोस् अनि यो राष्ट्रलाई निकासको एउटा बाटोसम्म डोर्‍याउन सकोस् । इतिहासले नेपाली कांग्रेसलाई सुम्पिन खोजेको अभिभारा पनि यही नै हो । 

यसबाट दायाँबायाँ गर्ने र लुकीछिपी गर्ने छुट हाल कसैलाई पनि छैन । यो नेतृत्वलाई त झन् छँदै छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शोभाकर पराजुली
डा. शोभाकर पराजुली
लेखकबाट थप