शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

कांग्रेस महाधिवेशन चुनावअघि नै गर्न सहमति प्रयास

बुधबार, २६ कात्तिक २०८२, १८ : २४
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनसम्बन्धी विवाद चर्किर्दै गएपछि मध्यमार्गी बाटो पहिल्याउन नेताहरू सक्रिय भएका छन् । एक पक्ष कुनै पनि हालतमा आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नैपर्ने र अर्को पक्ष कुनै पनि हालतमा गर्न नहुने अडानमा देखिएपछि नेताहरू मध्यमार्गी प्रस्ताव ल्याएर पार्टीभित्रको विवाद समाधान गर्न क्रियाशील भएका हुन् । 

गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । त्यसैदिन थापालाई काउन्टर दिँदै संस्थापन पक्षको वकालत गर्ने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्नुपर्ने प्रस्ताव पेस गरे । 

त्यसपछि नेताहरूले धारणा राख्नेक्रममा एउटाको कार्यतालिकालाई उपयुक्त भन्दै राख्न थालेपछि नेताहरू मध्यमार्गी बाटो खोजेर विवाद समाधानका लागि लागिरहेका हुन् । 
पार्टीभित्र इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सहितका कुनै पनि तालिकामा महाधिवेशन हुनैपर्छ भनेर नलागेका नेताहरू मध्यमार्गी बाटो खोजेर विवाद समाधानका लागि प्रयासरत् छन् । मिलाउने प्रयासमा लागेका एक नेताले पुस मसान्तको कार्यतालिका ल्याएर सकेजति काम गर्ने नभ्याइएमा त्यसैबेला सार्नेगरी सहमतिको बिन्दु खोज्ने प्रयास भइरहेको जानकारी दिए । 

त्यसमा मध्य पुसमा महाधिवेशन गर्नुपर्ने कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेस गरेका महामन्त्री थापा र वैशाखको अन्त्यमा महाधिवेशन गर्ने तालिका ल्याएको संस्थापन पनि सकारात्मक रहेका ती नेताले बताए । 

ती नेताका अनुसार महामन्त्री थापाले आफ्नै अगुवाइमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएकाले ती साथीहरूको माग सम्बोधन हुने भएमा आफू सहमतिमा जान तयार रहेको बताएका छन् । 

‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न नलगाएको भए धेरै साथीहरू पार्टी छोडेर जाने योजना बनाइरहेका थिए । उनीहरूलाई रोक्न मैले नै हस्ताक्षर सुरु गर म सहयोग गर्छु भनेको हो । गरेको पनि हो,’ महामन्त्री थापाको भनाइ उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने, ‘५४ प्रतिशत हस्ताक्षर संकलन भयो । विधानत: त्यो हस्ताक्षरको सम्बोधन गर्न बाध्यकारी छ । मैले उनीहरूलाई मनाउनुपर्ने छ । मान्ने अवस्था बन्यो भने सहमतिमा आउन तयार छुँ ।’

असोज २९ गते विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्तक्षर पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो । 

अर्कोतर्फ संस्थापन पक्षले भने निर्वाचन अगाडि प्रक्रिया सुरु गर्न आफूहरू तयार रहेको बताइरहेको छ । ‘हाम्रो मुख्य कन्सर्न निर्वाचन अगाडि महाधिवेशन भयो भने साथीहरू गुट-उपगुटमा बाडिँदा अपेक्षित परिणाम आउँदैन भन्ने हो । प्रक्रिया सुरु गर्न त हामी तयार नै छौँ,’ संस्थापनका नेताहरूको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘निर्वाचन सरेमा त्यही बेला गरौँला । भयो भने प्रक्रिया सुरु गरेर नभ्याइए पछि सारौँला ।’

इतर समूहका नेता डा. कोइरालाले सोमबार विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा यसबारे कार्यवाहक सभापति खड्कासँग कुरा गरेका थिए । दुई महामन्त्री थापा र विश्वप्रकाश शर्मासँग पनि कुरा गरिरहेका छन् । 

जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै नेता रमेश लेखकले महामन्त्री थापा र सहमहामन्त्री यादवले प्रस्तुत गरेका महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने बताएका थिए । विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने उनको भनाइ थियो । 

‘विशेष महाधिवशेनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । त्यसका लागि विकल्प निकालौँ,’ लेखकले बैठकमा भनेका थिए, ‘दुईवटा क्यालेन्डर आएको छ, दुईवटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जाऔं ।’

लेखकले सहमतिका लागि भइरहेको प्रयास र मिल्नसक्ने बिन्दुलाई दर्साउन यस्तो धारणा राखेका नेताहरू बताउँछन् । बुधबारको बैठकमा डा. शशांक कोइराला र बलबहादुर केसीले पनि सहमतिमा महाधिवशेनको नयाँ मिति तोकेर अगाडि बढ्नुपर्ने र विशेष महाधिवेशन गर्न नहुने बताएका थिए । 

डा. शशांकले विशेष महाधिवेशनको माग गर्ने पक्षलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपने बताएका थिए । ‘विशेष महाधिवेशनमा पार्टी जानुहुन्न । तर विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यावहारिक हुन्छ,’ डा.कोइरालाले भने, ‘पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउनुभन्दा माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्छ ।’

केसीले वर्तमान अवस्थामा पार्टीभित्र सहमतिबाट नियमित महाधिवेशन गर्नुपर्ने बताए । ‘पार्टीको संकट समाधानका लागि नियमित महाधिवेशन अन्तिम विकल्प हो । अबको महाधिवेशनलाई शक्ति प्रदर्शनको थलो नबनाएर पार्टीको भविष्यबारे गम्भीर चिन्तन गर्ने चौतारी बनाउनुपर्छ,’ केसीले बैठकमा भने । 

डा. शेखर कोइरालाले सोमबार रातोपाटीलाई दिएको अन्तर्वार्तामा आफू पार्टी जोगाउने सर्तमा कुनै पनि पद नलिन तयार भएको बताएका थिए । ‘पार्टी बच्ने हो भने म जे पनि गर्न तयार छु,’ डा. कोइराला भनेका थिए । 

आफ्नो मुख्य ध्यय कुनै पनि हालतमा पार्टी फुट्नुभएन । पार्टी टुक्रिनुभएन । पार्टी चोइटिनुभएन भन्ने रहेको उनको भनाइ थियो ।

धेरै नेताहरूले पार्टीलाई एकढिक्का बनाउन दुवै पक्ष लचक हुनुपर्ने बताइरहेका छन् । विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर बुझाइसकेकाले पुस मसान्तसम्म महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्ने विधानमा बाध्यकारी व्यवस्था छ । त्यसैले पुस मसान्तसम्म महाधिवेशनको प्रक्रिया सुरु गर्नेगरी सहमति खोज्ने प्रयासमा नेताहरू लागिरहेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप