शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

गगनलाई गण्डकीका संस्थापन पक्षको प्रश्न– कसैलाई छिटो चाहियो भन्दैमा महाधिवेशन गरिदिनुपर्ने ?

बिहीबार, २७ कात्तिक २०८२, १४ : ५५
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा दुई धार देखिएको छ, निर्वाचन अघि वा पछि गर्ने भन्नेमा विवाद छ।
  • गण्डकी प्रदेशमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगर्नेहरुले निर्वाचनपछि महाधिवेशन गर्न सुझाव दिएका छन्, अन्तर्घातको डर रहेको उनीहरुको भनाइ छ।
  • बागलुङ कांग्रेसका सभापतिले महामन्त्रीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न नसके पद छोड्न चेतावनी दिएका छन्, पार्टीमा आमूल परिवर्तनको आवश्यकता औंल्याए।

पोखरा । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर दुई धार तयार भएको छ । एकथरीले पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका छन् भने अर्काेथरी आम निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा छन् ।

खासगरी महाधिवेशन निर्वाचन अघि गर्ने कि पछि भन्नेमा दुई धार देखिएको छ । महामन्त्री गगनकुमार थापा पक्षधर आम निर्वाचन अघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने हालका संस्थापन पक्ष निर्वाचनपछि मात्रै महाधिवेशन हुनुपर्ने पक्षमा छन् । यही कित्ताकाट तल्लो तहसम्म छ ।

गण्डकी प्रदेशमा बुधबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगर्नेहरू भेला भएर वैशाखअघि महाधिवेशन सम्भव नहुने सन्देश काठमाडौँ पठाए । उनीहरूले महाधिवेशन गरेर निर्वाचनमा जाँदा पार्टीमा अन्तर्घात बढी हुने भन्दै निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन् ।

कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठ महाधिवेशनको पक्षमा सबै सहमत भए पनि समय सही छनोट गर्नुपर्ने बताउँछन् । ‘नियमित महाधिवेशन गर्ने समय भइसकेको छ । अहिले विशेष महाधिवेशन भनेर हिँड्नुपर्ने कारण छैन,’ उनले भने, ‘सरकारले चुनाव पनि घोषणा गरेको हुनाले नेपाली कांग्रेस चुनावमा जाने हो कि होइन ? केन्द्रीय कार्य समितिले पहिला नेपाली जनतालाई यो प्रस्ट पार्नुप¥यो । यदि चुनावमा जाने हो भने चुनावको तयारी गर्ने कि महाधिवेशनमा लाग्ने ?’

उनले पार्टी सञ्चालनको आफ्नै विधि भएकाले विधान अनुसार तालिकामा काम गर्न महामन्त्रीद्वयलाई सुझाए । ‘महाधिवेशन गर्नको लागि विधानमा निर्दिष्ट भएका विधिहरू छन् । दुई वर्षसम्म क्रियाशील सदस्य नवीकरण सकिएको छैन । त्यसको संयोजक महामन्त्रीज्यू आफैँ हुनुहुन्छ,’ उनले भने, ‘अहिले जेनजी आन्दोलनपछि हामीलाई पनि दबाब बढेको छ । नयाँ सदस्यहरू थपेर सबै तहमा युवालाई कार्यसमितिमा समेट्नुपर्छ ।’

यसलाई विशेष महाधिवेशनले समेट्न नसक्ने उपसभापति श्रेष्ठले बताए ।

कार्यक्रममा धारणा राख्ने अधिकांशले महाधिवेशन कुनै एक व्यक्तिलाई नेता बनाउनभन्दा पनि प्रणालीको विकास हुने गरी गर्नुपर्नेमा जोड दिए ।

बागलुङ कांग्रेसका सभापति तथा प्रदेश सांसद जीत शेरचनले महामन्त्रीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न नसके पद छोड्न चेतावनी दिए । ‘दबाबलाई नेतृत्वले सम्हाल्न सक्नुहुन्न भने वडादेखि केन्द्रसम्मको समिति भङ्ग गरौँ, आयोजक समिति बनाऔँ,’ उनले भने, ‘कोही पनि ब्रह्मा, विष्णु, महेश्वर छैन । नेतृत्वका लागि थुप्रै नौजवान तन्नेरीहरू छन् ।’

उनले कोही व्यक्तिलाई नेतृत्व दिन तत्कालै महाधिवेशन गर्न सक्ने अवस्था नरहेको बताए । ‘कसैलाई छिटो चाहियो भन्दैमा अहिले नै महाधिवेशन गरिदिनुपर्ने ? हामी दास हौँ ? हामी विवेकले चल्ने राजनीति गरेर आएका हौँ,’ उनले महामन्त्री थापा लक्षित भएर भने ।

शेरचनले पार्टीमा सुधारमात्रै नभई आमूल परिवर्तन जरुरी भएको बताए । केन्द्रको मात्रै नभई तल्लो तहसम्मै समिति परिवर्तन गर्नुपर्ने उनको तर्क छ । ‘केन्द्रीय प्रतिनिधि खटाएर गाउँमा फर्कनुुस् । फागुनमा निर्वाचन भयो भने वैशाखमा महाधिवेशन गरौँ । निर्वाचन भएन भने महामन्त्रीले पेस गरेको तालिकामा महाधिवेशन गर्न सकिएला,’ उनले थपे, ‘आज वडा तहको अधिवेशन चाहिएको छ । क्षेत्रको अधिवेशन चाहिएको छ । सबै तहको अधिवेशन चाहिएको छ ।’

प्रदेश सांसद सरस्वती गुरुङ पार्टी एकढिक्का हुने गरी महाधिवेशन हुनुपर्ने बताउँछिन् । ‘गलतलाई गलत र सहीलाई सही भन्न सक्ने वातावरण बनाउनुपर्छ । सबैलाई एकजुट बनाएर महाधिवेशन गर्दा उपयुक्त हुन्छ,’ उनले भनिन् ।

भीरकोट नगरपालिकाका मेयर गोविन्द्र कर्माचार्य पनि महाधिवेशनको हतारोले आम निर्वाचनलाई छायामा राख्न नहुने बताउँछन् । ‘महाधिवेशनको हतारो किन गर्ने ? पहिला चुनावमा जाऔँ, यसले अन्तरघात हुँदैन,’ उनले भने, ‘अहिले नगरी नहुने पनि छैन । क्रियाशील सदस्य वितरण गरेर युवालाई पार्टीमा राखौँ अनि वैशाखतिर महाधिवेशन गरौंला ।’

कांग्रेस गण्डकीका सदस्य आसिक गुरुङ युवालाई पार्टीमा जोड्ने गरी अभियान चलाउन सुझाव दिन्छन् । ‘संकटको बेला छ । हामी टुटफुटमा जान हुँदैन । परिवर्तन नै गर्ने हो भने कम्तीमा ५० प्रतिशत सिट युवालाई दिनुपर्छ,’ उनले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप