बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

शुक्रबार, २८ कात्तिक २०८२, १४ : ०४
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानको रुपमा महायज्ञ सुरु भएको छ, जुन बालाचतुर्दशीमा समापन हुनेछ।
  • महायज्ञको उद्घाटन धार्मिक गुरु १००८ केशवानन्द स्वामीले गरेका थिए, र उनले नयाँ पुस्तालाई संस्कार सिकाउनुपर्ने बताए।
  • यो धाम नेपाल सरकारले १०१ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ, जहाँ पशुपतिनाथकै शैलीमा शिव मन्दिर रहेको छ।

झापा । पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३ औँ वार्षिक अनुष्ठानका रुपमा महायज्ञ सुरु भएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको जलेश्वरधाममा सुरु भएको महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुने अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।

महायज्ञको उद्घाटन धार्मिक गुरु १००८ केशवानन्द स्वामीले गरेका छन् । उनले नयाँ पुस्तालाई संस्कार–संस्कृतिको पाठ सिकाउनुपर्ने बताए । ‘व्यक्तिमा जब संस्कार हुँदैन, उसको विवेक शून्य हुन्छ’, उनी भन्छन्, ‘त्यसैले सरकारले भौतिक संरचनामात्र विकास होइन, धर्म, संस्कृति र संस्कार जोगाउन पनि पहल गर्नुपर्छ ।’ 

महायज्ञमा धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी प्रमुख कथा वाचक र पण्डित हेमन्त भण्डारी उपवाचक रहेका छन् । वि.सं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।  सरकारले नेपालका १०१ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्वीरलाई नेपाल सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ । 

विराट राजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाई फर्काएर ल्याएका थिए । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषबाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप