तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
सारांश
- सगरमाथा चौधरी आँखा अस्पताल लहानले तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ।
- लहान नगरपालिकाका २४ वटै वडामा आँखा जाँच शिविर सञ्चालन गरी १८ हजारभन्दा बढीको आँखा जाँच गरिएको छ।
- मोतियाबिन्दु मुक्त नगर बनाउने अभियानअन्तर्गत दलित तथा विपन्न वर्गका नागरिक लाभान्वित भएका छन्।
सिरहा। नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत निःशुल्क उपचार गरेको छ ।
नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान गरिएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए ।
उनको अनुसार पहिचान भएका बिरामीमध्ये एक हजार ९७७ जनाको शल्यक्रिया भइसकेको छ भने पाँच सयभन्दा बढी बिरामीलाई खोजी गरी शीघ्र उपचार गर्ने तयारी भइरहेको छ । त्यस्तै, ५० वर्षभन्दा माथिका नागरिकमा मोतियाबिन्दुको समस्या धेरै देखिएको उनले बताए।
शिविर सञ्चालनका लागि लाग्ने प्रतिव्यक्ति पाँच हजार रुपैयाँ खर्चमध्ये आधा रकम लहान नगरपालिका र आधा अस्पतालले व्यहोर्दै आएका छन् । बिहीबार वडा नं २४ मा गरिएको शिविरमा ३३५ जनाको स्वास्थ्य परीक्षण हुँदा ९९ जनामा मोतियाबिन्दु फेला परेपछि तुरुन्तै अस्पताल ल्याई शल्यक्रिया गरिएको थियो ।
नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नगरलाई ‘मोतियाबिन्दु मुक्त’ बनाउन अभियान चलाइरहेको बताए । “दियोको मुनि अँध्यारो रहनु हुँदैन भन्ने भावनाले हामी नगरवासीको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिइरहेका छौँ,” उनले भने ।
अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले दलित तथा विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ पाइरहेको उल्लेख गर्दै लहान नगरपालिकाको सहकार्यले सिरहा–सप्तरीका अन्य पालिकासमेतमा आँखा रोग निवारण अभियान सशक्त बन्दै गएको बताए ।
शिविरमार्फत जाँच र शल्यक्रिया पाएका दलित तथा विपन्न समुदायका नागरिकले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर नयाँ जीवन दिएको जनाउँदै लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण