लुटपाटमा संलग्नहरुको नाम र ठेगाना उपलब्ध गराउन कास्की प्रहरीको आग्रह
सारांश
- कास्की प्रहरीले पोखरामा भएको जेनजी प्रदर्शनमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिको पहिचान गर्न भिडियो सार्वजनिक गरेको छ।
- प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिको सूचना दिनेको गोपनीयता कायम राख्ने बताएको छ, र ३८ जना पक्राउ परेका छन्।
- जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशमा सरकारी र निजी क्षेत्रमा करिब पाँच अर्बको क्षति भएको छ, जसमा तीन जनाको मृत्यु भएको थियो।
पोखरा । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ ।
प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ ।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनीयता कायम राखिने कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ ।
जेनजी प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेको र उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले बताए ।
‘आन्दोलनमा भएका लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ’, उनले भने, ‘किटानी जाहेरी र उजुरीका आधारमा अहिलेसम्म ३८ जना पक्राउ परिसकेका छन्, उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ ।’
प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।
आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झन्डै रु पाँच अर्ब बराबरको क्षति पुगेको जनाइएको छ । कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको जनाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशभित्र तीन सय ६१ वटा दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सात वटा तोडफोड गरिएको र तीन वटा हराएका छन् ।
एक सय ६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएका छन् । प्रदर्शनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण